
इ.पू. २६९ तिर अशोक सम्राट्ले भगवान् बुद्धको अस्थिधातु राखी बनाइएका स्तूपहरू मध्ये ७ वटा स्तूपबाट भगवान्को अस्थिधातु निकाली चौरासी हजार टुक्रा पारी जम्बुद्वीपको चौरासी हजार शहरमा चौरासी हजारै चैत्य र विहार बनाए । त्यसपछि भारतमा मात्र होइन; नेपालमा पनि चैत्यप्रतिको आस्था अत्यन्त वृद्धि भयो । किराँती राजा थुङकोको समयमा सम्राट् अशोक आफ्नी छोरी चारुमती सहित नेपालमा आई ललितपुर जिल्लामा पाँचवटा स्थूर (स्थूदो) र अरु काठमाडौं भक्तपुर आदि जिल्लामा पनि अशोक चैत्यका नामले प्रसिद्ध धेरै चैत्यहरू निर्माण गरे भन्ने कुरा माथि उल्लेख गरिसकेको छ । महायानी सूत्र ग्रन्थ नव व्याकरणका साथसाथै चैत्य भजनानुशंसावदान एवं अशोक चैत्यका प्रभावले गर्दा शायद नेपालमा ढुङ्गा, ईंटा मात्र नभई अन्य वस्तुको पनि स्थूल वा सूक्ष्म चैत्यहरू बनाउने प्रचलन चलेको हुनुपर्छ । जस्तै:-
१. लक्ष चैत्य
२. सुवर्ण बालुका चैत्य
३. दुर्गति परिशोधन चैत्य ४. भष्म चैत्य
५. काष्ठ चैत्य (स्थावर चैत्य )
१. लक्ष चैत्यः (लुचिद्यः )
चैत्य भजनानुशंसावदान अनुसार एकदिन सम्राट् अशोक आफ्नो परिवार तथा मन्त्रीगणहरू सहित कुक्कुटाराम महाविहारमा जानुभई आफ्नो श्रद्धेय गुरु उपगुप्त भिक्षुलाई वन्दना गरी सत्कारपूर्वक चैत्य स्थापना गर्दा लाभ हुने पुण्य तथा चैत्य पूजा गर्दा लाभ हुने पुण्यको बारे प्रश्न गर्नुभयो ।
यस्तो प्रश्न सुनी उपगुप्त भिक्षुले आज्ञा भयो- हे महाराज ! परापूर्वकालमा पद्मपुरी नामको एउटा समृद्धशाली नगर थिए । सो नगरमा महामति विश्वभद्रनामको व्यक्ति हुनुहुन्थ्यो वहाँको चम्पक नामको रमणीय उद्यान थियो । त्यहाँ ।पोखरीको छेउमा एउटा फराकिलो सम्म ढुङ्गा थियो । सोही शिलामा राज भईभगवान् बुद्धले सकल देव मनुष्यलाई संबोधन गरी धर्मदेशना गर्नुभयो । साथै सुचेतन भिक्षुलाई सम्बोधन गरी चैत्य स्थापना गर्दा लाभ हुने पुण्यका बारे पनि चर्चा गर्नुभएको थियो । सोही कुरा अहिले मैले भन्न लागिरहेको छु भनी उपगुप्त भिक्षुले अशोक महाराजालाई यस्तो आज्ञा भयो- हे महाराज ! चैत्य स्थापना गर्ने उत्साह तथा श्रद्धा हुने व्यक्तिले पर्वतहरूको शिखरमा चैत्य स्थापना गर्नु अति उत्तम हुन्छ । किनभने सो ठाउँमा स्थापना गर्दा तल फेदीमा बस्ने जनताहरूले पनि सजिलैसँग चैत्यको दर्शन गर्न पाउने हुन्छ । साथै चैत्यको दर्शन पाएपछि उनीहरूको मनमा बुद्ध एवं धर्म उपर ठूलो श्रद्धाभक्ति बहुजन हित सुख उत्पन्न हुने हुन्छ । यसकारण पर्वत शिखरमा चैत्य बनाउँदाहुने कुरामा दुईमत छैन ।
यही महत्त्वपूर्ण परम्परालाई अनुसरण गरी नेपाली बौद्धहरूले नागार्जुनको शिखर (जामाचो)मा, स्वयंम्भूको डाँडामा चैत्य बनाएको देखिन्छ । त्यस्तै हामी कहाँ मात्र होइन भारतमा पनि प्रायः सबैले देखिने अग्लो ठाउँमा चैत्य स्थापना गरेको पाइन्छ । हाम्रो नेपालमा चैत्य बनाउँदा अष्ट धातु तथा काठ, माटो, पीठो र बालुवाको पनि चैत्य बनाउने प्रचलन छ । केवल श्रद्धायुक्त चित्तको भने अत्यन्त आवश्यक छ । यसरी चैत्यप्रति श्रद्धा गरेर बालुवा माटोको भए पनि जीवनभर लक्ष चैत्य मात्र बनाई चैत्य व्रत गर्न सकेमा पनि ठूलो पुण्य लाभ हुन्छ भन्ने विचार गरेरै लक्ष चैत्यको प्रचलन चलेको मान्न सकिन्छ । विशेष रेर श्रावण महिना र कार्तिक महिनामा लक्ष चैत्य व्रत गर्नु अत्यन्त महा फलदायी हुन्छ भन्ने वज्रयानी बौद्धहरूको विचार छ ।
लक्ष (लाखवटा) चैत्य बनाउँदा शुचि, पवित्र ठाउँ तथा विहार, नदी, दहहरूको किनारमा बनाउनु पर्छ । चैत्य बनाउने ठाउँमा पंचगव्य सेचन गरी चैत्य बनाएर राख्ने ठाउँको माथि चंदुवा राखी वरिपरि ध्वजा, पताकाले सिंगारी सुगन्ध धूप बाली भक्तिपूर्वक लक्ष चैत्य स्थापना गर्नुपर्छ । लक्ष चैत्य बनाउन सुरु गर्नु अगाडि स्नान गरी, पवित्र वस्त्र धारण गरी माटोको चैत्यबनाउने भए माटो लिने ठाउँमा गई पृथ्वीमातालाई कलशमा आव्हान गरी विधिवत् पूजा गर्नुपर्छ । अनि त्यहाँबाट माटो ल्याई पवित्र ठाउँमा राख्नुपर्छ । त्यसपछि सो माटोलाई २१ पल्ट वैरोचन धारणी पढी शोधन गर्नुपर्छ । अनि दिनभरमा जति माटोको चैत्य बनाउन सकिन्छ त्यति माटो राम्ररी मुछि स सानो माटोको टुक्रा लिई तेलमा चोपी हातमा बेली चैत्य बनाउने साँचो (थासा) मा राखी चैत्य बनाउनु पर्छ । यसरी बनाउँदा सो चैत्य मित्र गर्भमा पञ्चरत्न अक्षता (आखे) राख्नुपर्छ । अनि सो चैत्यलाई पुष्प, धूप, दीप, नैवेद्य, फलफूल, श्रीखण्ड चन्दनद्वारा पूजा गरी अष्टात प्रणाम गरी स्तोत्र पाठ गर्ने चलन छ । साथै शरणगमन, पापदेशना, पुण्यानुमोदना पनि गर्नु उचित छ । यसरी बनाइएका चैत्यहरू लक्ष (लाखवटा) पुगेपछि सो चैत्यहरूलाई नदीको किनारामा राखी संक्षिप्त प्रतिष्ठा गरी नदीमा विसर्जन गरिन्छ । यसरी लक्ष चैत्य बनाई चैत्य व्रत बसेको पुण्यले जगत सत्व हित गर्न बुद्ध बन्न सके भनी बोधिचित्त उत्पन्न गर्नुपर्छ ।
समुद्रमा एक थोपा पानी राख्दा त्यो एक थोपा पानी अपार समुद्रमा मिली अक्षय बन्न पुग्छ । त्यस्तै लक्ष्य चैत्य बनाई यो पुण्यले अनन्त प्राणीको हित गर्न सकूं भनी प्रणिधान गर्दा अक्षय पुण्य लाभ हुन्छ भन्ने भावले नेपालका बौद्धहरू लक्ष्य चैत्यको निर्माणका साथसाथै “बुद्धोभवेयं जगतो हिताय” भनी प्रणिधान गर्छन् । हे अशोक महाराज ! लक्ष चैत्य बनाउँदा पञ्च गव्य, पञ्चरत्न र पञ्च सुगन्ध मिलाई माटो मुछ्नु पर्छ । यसरी मुछ्दा समन्त भद्रको धारणी मन्त्र सात पटक पाठ गर्नुपर्छ । यसो गर्दा लक्ष चैत्य व्रत गर्ने व्यक्ति निरोगी तथा आयुष्मान् हुने हुन्छ । चित्त शुद्ध भई अन्त्यमा निर्वाण लाभ गर्ने हुन्छ । सो मुछेको माटो सांचोमा राख्दा बुद्धलाई भूमिदान गरेको पुण्य मिल्ने हुन्छ । तेलमा डुबाई बेल्दा शरीर सुन्दर भई राग द्वेष शान्त भएर जाने हुन्छ । यसरी चैत्य बनाउँदा त्याग चित्त उत्पन्न भई तृष्णा क्षय हुँदै जाने हुन्छ । अक्षता (आखे) चैत्यको गर्भमा राखेको पुण्यले बुद्धत्वको बीज रोपे समान पुण्य लाभ हुनेहुन्छ । चैत्यको मूर्ति साँचोबाट झिकी चैत्यलाई दर्शन गर्दा प्रत्यक्ष बुद्धको दर्शन गरेको पुण्य लाभ हुन्छ । प्रत्यक्ष बुद्धलाई पूजागर्दा जे जति पुण्य लाभ हुन्छ, चैत्य पूजा गर्दा पनि समान रूपले पुण्य लाभ हुन्छ भन्ने भावना गरी यो स्तोत्र पनि पढ्नु पर्छ ।
सर्व बुद्धालये चैत्ये जिन धातुकरण्डके ।
पञ्चस्कन्धात्मकं शान्तं तस्मै स्तूपात्मने नमः ॥
परापूर्व कालमा धूलोको चैत्य बनाई खेल्ने बालकहरू पनि ठूला भएपछि ज्ञानी गुणी बोधिसत्व भएका थिए । त्यसकारण बालुवा, माटो, इंट, काठ, फलाम, राङ्, तामा, चाँदी, सुन, रत्न आदिबाट पनि चैत्य बनाउँदा उत्तरोत्तर पुण्य वृद्धि हुने कुरा स्पष्ट हुन्छ । किनभने जति जति धेरै मूल्यवान् वस्तुबाट चैत्य बनाइन्छ त्यति धेरै त्यागको भावना बढ्ने हुन्छ । त्यागले नै तृष्णा हट्ने हुँदा पुण्य वृद्धि हुन्छ । २०
“महायानी वज्रयानी परम्पराका विद्वान्हरूले दीक्षा प्राप्त आचार्य एवं सद्गुरुहरूको मृत्यु हुँदा मृतकका अस्थिधातुहरू ल्याई घरमा सुरक्षित गरी राखिन्छ । अनि क्रमश द्वादश तीर्थ गई श्राद्ध गर्दा यिनै माटाका चैत्य भित्र ती आचार्यहरूको अस्थिधातु घुसाई पाँचवटा चैत्य बनाई बोधिवृक्षका प्रतीक पिपलको पातमा राखी पूजा गरिन्छ । श्राद्ध सकेपछि नदीमा विर्सजन गरिन्छ । यसरी वर्ष भरीमा द्वादश तीर्थमा माटाका चैत्यमा अस्थिधातु राखी पूजा गरेर बाँकी हुन आएको अस्थिको धुलो काठमाडौं उपत्यकाको सबभन्दा अग्लो शिखर कहलिने जातमात्रचो (जामाचो) र सिफूचो भन्ने पर्वत शिखर गई अबीरसँग मिलाई हावामा उडाउने प्रचलन छ । फेरि कुनै दीक्षा प्राप्त आचार्यहरूको मृत्यु हुँदा सम्पूर्ण परिवारजनहरू मिली लक्ष चैत्य व्रत गरी साङ्ङ्घे गर्दा ती लक्ष्य चैत्य मध्ये एउटा चैत्यमा मृतकको अस्थि धातु राखी चैत्य बनाइन्छ र ती चैत्यको थुप्रो माथि राखी पूजा गरिन्छ र नदीमा सेलाइन्छ । हाल मृतकको अस्थिधातु ल्याई पूजा गर्ने, चैत्य बनाउने प्रचलन महायानी वज्रयानीहरूमा लोप भइसकेका छन् । हाल केवल अक्षतामात्र राखी माटाका पाँचवटा चैत्य र पिपलको पातमा राखी पूजा गरिन्छ । अस्थिधातु लिएपनि पैंतिलायकेगु भनी गृहशुद्धि भन्दा अघि नै ती अस्थिधातुहरू विभिन्न पाँचवटा नदीहरूमा गई बनाइन्छ सेलाउने प्रचलन छ । वज्राचार्य, शाक्य, उदास एवं मानन्धर र तण्डुकारहरूमा पनि अद्यापि यो प्रचलन रहिआएको सुनिन्छ ।
यति मात्र होइन, कपडामा तथा भित्तामा चैत्य लेखी पूजा गर्दा पनि त्यत्तिकै पुण्य लाभ हुने हुन्छ भन्ने पनि महायानीहरूको विश्वास छ । २१
२०. सद्धर्मराज वज्राचार्य अ.- सद्धर्मपुण्डरीक वैपुल्य सूत्रम्-प्रकाशक लोटस रिसर्च सेन्टर पृ. ६२ २१. पूर्ववत – पृ ६२
बौद्धधर्मावलम्वीहरू चैत्य सेवा गर्दा ज्वरादि रोग शान्त हुने तथा चित्त शुद्ध हुने हुँदा इहलोक तथा परलोक दुवै लोकमा हित सुख हुन्छ भनी विश्वास गर्छन ।
उपर्युक्त चैत्य भजनानुशंसाका कुराहरू अशोकावदानमा उल्लेख भएको छ । हाल नेपालमा श्रावण महिनाभर लक्ष चैत्य व्रत गर्ने चलन अद्यापि चलिनै आइरहेको छ । सो व्रत गर्दा प्राय: सामूहिक रूपले गरिन्छ ।
यो लक्ष्य चैत्य निम्न अनुसार क्रमश: विधिपूर्वक निर्माण गर्ने प्रचलन अद्यापि चलिआइरहेको छ ।
सर्वप्रथम माटो लिंदा “नम समन्त बुद्धानां ॐ वज्रपुष्पे स्वाहा, वसुधे स्वाहा” भनी पढिन्छ । यो मन्त्रलाई मृत्तिका ग्रहण मन्त्र भनिन्छ ।
ॐ रजे विरजे स्वाहा भनी तेलमा माटो चोपिन्छ । यो मन्त्रलाई तैलम्रक्षणमन्त्र भनिन्छ ।
औ वज्रधातु गर्भे स्वाहा भनी साँचो (थासा) मा माटो राखिन्छ । यो मन्त्रलाई मुद्राक्षेपन मन्त्र भनिन्छ ।
ॐ वज्रमुद्गराकोटने स्वाहा भनी माटो साँचोमा थिचिन्छ । यो मन्त्रलाई आकोटन मन्त्र भनिन्छ ।
ॐ आ: वज्रकर्त्रिके च्छेदय च्छेदय हुँ फट् स्वाहा भनी साँचोबाट बढी भएको माटो काटिन्छ । यो मन्त्रलाई च्छेदन मन्त्र भनिन्छ ।
ॐ धर्म धातु गर्भे स्वाहा भनी चैत्यको माटो भित्र अक्षता (आखे) राखिन्छ । अनि ॐ धर्मरते स्वाहा भनी साँचोबाट चैत्य झिकिन्छ ।
ॐ सुप्रतिष्ठित वज्रे स्वाहा भनी चैत्यलाई आसनमा राखिन्छ । यो मन्त्रलाई प्रतिष्ठा मन्त्र भनिन्छ । यस्तै गरी लक्ष चैत्य बनाइन्छ । सवा लाख चैत्य बनेपछि पूजा गरी नदीमा विर्सजन गरिन्छ ।
वज्रयान परम्परा अनुसार विहारहरूमा प्रायः सबै चैत्य भित्र लक्ष चैत्य राखी बनाएका हुन्छन् । अत: एउटा ढुङ्गाको चैत्य एक परिक्रमा मात्र गरे पनि सवालाख चैत्य परिक्रमा गरेको पुण्य प्राप्त हुनेहुन्छ ।
नेपालमा चैत्यको ठूलो महत्त्व छ । कार्तिकावदान आदि विभिन्न ग्रन्थहरूमा पनि लक्ष चैत्य बनाई पूजा गर्दा हुने पुण्यको धेरै प्रशंसा गरेको पाइन्छ । समस्त अरु चैत्यभन्दा लक्ष चैत्यलाई वज्रयान सम्प्रदायले बढी महत्त्व दिएको ज्वलन्त प्रमाण यसरी केलाउन सकिन्छ-
अद्रय वज्रसंग्रहमा महामण्डलव्यूह तन्त्रको उद्धरण गर्दै यस्तो लेखेको “ॐ नमो भगवते वैरोचनप्रभ केतु राजाय तथागतायार्हते सम्यक्संबुद्धाय तद्यथा ॐ सूक्ष्मे सूक्ष्मे समे समये शान्ते दान्ते समारोपे अनालम्बे तलम्बे यशोवति महातेजे निराकुले निरालम्बे निर्वाणे सर्व बुद्धाधिष्ठानाधिष्ठिते स्वाहा ” भनी माटो छोएर यो धारणी २१ पटक पढी माटो शुद्ध गरी लक्ष चैत्य बनाउँदा त्यो बनाएका चैत्यहरूमा जति परमाणुहरू छन्, त्यति नै धेरै चैत्य बनाएको पुण्य लाभ हुनेहुन्छ । साथै क्रमश: चित्तशुद्ध भई मुदिता आदि दश भूमिहरूको ईश्वर बन्ने हुन्छ । चाँडै बुद्धत्व लाभ हुन्छ भनी श्री वैरोचन तथागतले आज्ञा भएको छ ।”
“साथै ॐ नमो भगवते रत्नकेतु राजाय तथागतायार्हते सम्यक सर्वबुद्धाय तद्यथा ॐ रत्ने रत्ने महारत्ने रत्न विजये स्वाहा ” । यो धारणी पढी चैत्य बन्दना गर्दा कोटि चैत्य वन्दना गरेको पुण्य लाभ हुनेहुन्छ आदि प्रशंसा यत्र तत्र भएकोले लक्ष चैत्य बनाउने संस्कृतिको परम्परा हाम्रो नेपालमा व्यापक रूपले चलेको पाइन्छ । यो परम्परा, संस्कृति, प्रचलन ल्याउनुमा वज्र महायानीहरूको ठूलो भूमिका रहिआएको छ । वज्रयान दर्शनले यो लक्ष्य चैत्य बनाई जुनसुकै चैत्य निर्माण गर्दा पनि चैत्य भित्र राख्नु पर्ने प्रचलन चलाएर एउटा चैत्य परि क्रमा गर्दा लाखौं चैत्य परिक्रमा गरेको पुण्य प्राप्त हुने जुक्ति निकालेर लक्ष्य चैत्यप्रतिको श्रद्धालाई अझ बढाएको देखिन्छ । यति मात्र होइन जुम्लाको लामथाडा गुफामा पनि उत्तर लिच्छविलिपिमा अभिलेख कुँदेको माटोको चैत्य प्राप्त हुनुबाट लिच्छवीकालमा पनि माटाका चैत्यहरू काफी प्रचारमा आइसकेको तथ्य अवगत हुन आउँछ ।
सुवर्ण बालुका चैत्यः
महायान बौद्ध धर्मको पवित्र ग्रन्थ सद्धर्म पुण्डरिकाको उपाय कौशल परिवर्तमा भगवान् बुद्धले आज्ञा भयो- “बुद्धको स्तूप, बुद्धको मूर्ति बनाउने कुनै पनि व्यक्तिले भविष्यमा बुद्धत्व लाभ गर्नेछ । यी बुद्ध स्तूप एवं चैत्यहरू चाहे माटाका होस् वा धातु एवं बालुवाकै किन नहोस् यस्तो चैत्य बनाउने व्यक्तिले बुद्धत्व लाभ गर्नेछ । यति मात्र होइन, अनजान अवोध बालबालिकाहरूले यदि खेल्ने उद्देश्यले नदी, समुद्रको तीरमा बसी बालुवा वा धुलोको चैत्य बनाउँछ भने उनीहरूले पनि भविष्यमा बुद्धत्व लाभ गर्ने छन् । एकचोटि मात्र स्तूप वा चैत्यको अगाडि ” नमो बुद्धाय ” भन्ने व्यक्तिले पनि बुद्धत्व लाभ गर्ने हुन्छ ।” सद्धर्मपुण्डरिकामा यसरी बुद्ध वचन वर्णन गरिएकोले हाम्रो देश नेपालका बौद्धहरूमा चैत्य स्थापना गर्ने ठूलो श्रद्धा जागेको छ । अत: यो सुवर्ण बालुका चैत्य भनी तीर्थमा गई सोही ठाउँको बालुवाबाट चैत्य बनाई पुजा बन्दना गर्ने प्रचलन अद्यापि चलेको देखिन्छ । मृत व्यक्तिको नाममा तीर्थमा गई मासिक श्राद्ध गर्दा अनिवार्य रूपले पाँचवटा सुवर्ण बालुका चैत्य बनाई पूजा गरी अर्घ दिने प्रचलन छ । नवरात्री मेलामा पनि तीर्थ तीर्थमा गई नुहाई यस्तै सुवर्ण बालुका चैत्य बनाई पूजा गर्ने प्रचलन छ ।
३. दुर्गति परिशोधन चैत्य
यो चैत्य मासिक एवं वार्षिक जुनसुकै श्राद्धको दिनमा पनि जौको पीठो मुछेर अनिवार्यरूपले बनाइन्छ । यस प्रकारको चैत्यको गर्भमा कुनै अस्थिधातु आदि राखिदैन, केवल पाँच वटा अक्षता, पाँचवटा कुण्द पुष्प, पाँचवटा लावा राखी पिण्ड भन्दा माथिल्लो पंक्तिमा स्थापना गरी पूजा गरिन्छ । यस्तो चैत्यलाई वज्रयानीहरू दुर्गति परिशोधन चैत्य भन्दछन् । यो प्रचलन कहिलेदेखि चले खासै थाहा हुन सकेको देखिदैन ।
४. भष्म चैत्य ( श्मशान पीठ चैत्य )
मृतकको भष्म खरानी राखी बनाइने चैत्यलाई ” भष्म चैत्य” भनिन्छ । हरेक बौद्धमार्गी मर्दा दाहसंस्कार गरी बाँकीरहेको भस्म खरानीलाई मनुष्य आकार दिई रिठ्ठाको आँखा बनाई पंचोपचार पूजा गरी नदीमा विसर्जन गर्ने प्रचलन चलिआइरहेको छ । तर दीक्षा प्राप्त महापुरुषहरूको मृत शरीर उल्कान्ति योग गरेर दाहसंस्कार गरेमा भने बाँकी भएको खरानी चार दिनसम्म श्मशान मै राखी चौथौं दिनमा भष्म चैत्य बनाई पूजा गरिन्छ । अनि गृहशुद्धिका दिनमानदीको तीरमा बालुवाको ठूलो चैत्य बनाई उक्त चैत्य भित्र ती भष्म रामी पू गरी नदीमा सेलाउने प्रचलन छ । हुनत यो चलन अद्यापि छ तर अभिषेक दीक्षा प्राप्त वज्राचार्य, शाक्य आदि जातमा मात्र यदाकदा प्रयोग भएको देखिन्छ । थी उपर्युक्त चारै प्रकारको चैत्य निर्माण गर्दा वास्तुकलाको आवश्यक छैन । यी हुन् अस्थायी स्तूपहरू जसले बुद्ध वचनलाई अक्षरस प्रतिकात्मकरूपमाअनुसरण गर्दै आइरहेको तथ्यको प्रत्याभूति दिन्छ ।
५. स्थावर चैत्य (काष्ठ चैत्य ) २३
बौद्ध दर्शनले मात्र होइन अरु दर्शनले पनि समस्त जीवित वस्तुलाई स्थावर र जंगम गरी दुई वर्गमा वर्गीकरण गरेको पाइन्छ । हिंडडुल गर्ने जीवित प्राणीलाई जंगम भनिन्छ त हिंड्न नसक्ने रूख झारपातलाई स्थावर भनिन्छ । यसैको आधारमा स्थावरको अर्थ रुख भनी बुझ्नु आवश्यक छ । पंचरक्षा सूत्रमा उल्लिखित रत्न सूत्रबाट पनि यो कुरा स्पष्ट हुन आउँछ जस्तै: “ये जङ्गमा श्चात्र तथैव स्थावरास्ते सर्वसत्वाः सुखिनो भवन्तुः। ” अर्थात् हिंड्डुल गर्न सक्ने कीटपटङ्ग मनुष्य र समस्त स्थावर (रुख, झारपाट आदि वनस्पति) जस्ता सम्पूर्ण जीवित वस्तुहरू सुखी होउन् भन्ने यस्तो उक्ति पाइएकोले स्थावर चैत्य (चि.नं. ५) भन्नाले काठको चैत्य वा काठबाट बनाइएको चैत्य भन्ने अर्थ स्पष्ट हुन्छ । मानवको श्रद्धा अपार छ । यही अपार त्याग, श्रद्धा, अनासक्ति, सम्यक् आजीव, सम्यक् कमार्न्त एवं ब्रम्हर्चय नै बौद्ध धर्मका सच्चा आधारशिला हुन् । यस धर्ममा ठूलो, सानो, उँच नीच आदिको भावरहित अनासक्त भावले श्रद्धायुक्त चित्तद्वारा गरिने पूजा, सद्भावलाई नै धर्म भनिन्छ । यही सत्यनिष्ठामा रही श्रद्धायुक्त भावले माटाका होस्, बालुवाका होस् वा जौको पीठो कै किन नहोस् चैत्य बनाई पूजा गर्ने प्रचलन जसरी हाम्रो देशमा आए त्यस्तै नै स्थावर चैत्य (काष्ठ चैत्य) बनाउने प्रचलन पनि नेपालमा चलेको पाइन्छ । स्थावर चैत्य प्रति हाम्रा वज्राचार्यहरूले आजसम्म कतै चर्चा परिचर्चा गरेको सुनिदैन । स्वयम्भू महाचैत्यको महत्त्वपूर्ण ग्रन्थ सम्पादन गर्ने बौद्ध विद्वान् एवं अनुसन्धाता हेमराज शाक्यज्यूले पनि स्थावर चैत्यको विषयमा स्पष्टरूपले प्रस्तुत गरेको पाइन्दैन । वहाँले “चैत्यया आत्मकथा” भन्ने आफ्नो ग्रन्थमा स्थावर चैत्यको अर्थ “त:ग्वगु चीबहाः” अर्थात् ठूलो चैत्यलाई स्थावर चैत्य भनिन्छ भनी उल्लेख गरेको छ । सहस्र अश्वमेघ यज्ञ गर्नुभन्दा एउटा लक्ष चैत्य (माटोको
२३. हरि प्रसाद शास्त्री – वृहत् स्वयम्भू पुराण पृ. १२६२४. सद्धर्मराज वज्राचार्य अ. –सद्धर्मपुण्डरीका वैफुल्य सूत्र- पृ. ६१ (प्र. – लो.रि. सेन्टर)

चैत्य) बनाउदा धेरै पुण्य हुन्छ, हजारवटा लक्ष चैत्य भन्दा एउटा स्थावर चैत्य बनाएको पुण्य ठूलो हुन्छ, त्यस्तै स्थावर चैत्य हजारवटा बनाउनु भन्दा एउटा स्तूप (थूदो) बनाउनुको पुण्य ठूलो छ, त्यस्तै स्तूप हजारवटा बनाउनु भन्दा धातु स्तूप (बुद्ध भगवान्को अस्थिधातु सहितको) स्तूप बनाउनु अप्रमेय छ भनी उल्लेख गरेको पाइन्छ । सद्धर्मपुण्डरिका सूत्रमा आधारित यी स्थावर चैत्यको निर्माण हाम्रो अठाहवटा महाविहारमा कहाँ कहाँ छन् अन्वेषण गर्नुनितान्त आवश्यक छ ।
सांखुको गुंविहारमा प्रतिष्ठित धवल चैत्यका नामले प्रसिद्ध चैत्य पनि काठद्वारा नै निर्मित छ भनिन्छ । बुढापाका र वंशावली, ठ्यासफु आदिमा यस सम्बन्धी वर्णन होला । तर हालसम्म कसैले यसको अन्वेषण गरेको पाइएको छैन । गुंविहारको एउटा विशेषता चैत्य जात्रा हो । यस्तो चैत्य जात्रा काठमाडौं उपत्यकाको कुनै शहरमा पनि प्रचलनमा आएको छैन । यसरी जात्रा गरिने साँखुको चैत्य काठबाटै निर्मित चैत्य हो । जात्रा सकेपछि यो चैत्यलाई साँख वज्रजोगिनी (म्हासु ख्वाः अजिमा) कहाँ जाने भन्यासँगैको छिडिमा राखिएको हुन्छ ।
काठमाडौं उपत्यकाका अठारह महाविहार एवं वहालहरूका धेरै जसो वज्राचार्यहरू साँखुबाट आएका वज्राचार्यहरू हुन् । यिनीहरूले नै काठमाडौं उपत्यकामा विविध विहारहरू स्थापना गरे भन्ने जनश्रुति पाइन्छ । इतुंवहाल, झ्वावहाल, हेनाकर महाविहार ( ढोका : वहाल) र हेमवर्ण महाविहार (गंबहाल), सिकंमुवहाल आदिका वज्राचार्यहरू साँखुबाट आएको हुनाले हेनाकर महाविहार का वज्राचार्यहरूले साँखुको धवल चैत्यको प्रतिकृति बनाई अमृत साइन्स कलेज भन्दा अलिपर पकनाजोलको पीचबाटोको बायाँ ल: म वहालनामले प्रसिद्ध सानो वहाल स्थापना गरेको छ । सो वहालको चैत्यलाई प्रतिवर्ष देगुली मनाई पूजा गरिन्छ । तर झ्वावहालका वज्राचार्यहरूले र इतुंबहालका वज्राचार्यहरूले चाहीं लम: वहालको चैत्यलाई होइन, त्यो भन्दा अलिक माथि रुखमुनि प्रतिस्थापित स-सानो ढुङ्गालाई वज्रजोगिनीको प्रतिकृति मानी देवाली मनाउँदै आएको देखिन्छ । रत्नकाजी वज्राचार्यको शोधपूर्ण लेख अनुसार साँखुमा गुंविहार बाहेक हेनाकर, गुणाकर आदि धेरै बिहारहरू अवस्थित थिए भन्ने कुरा व्यक्त हुन उँछ । तथा भिन्नाभिन्नै वज्राचार्यहरू भिन्नाभिन्नै वंशज भएको नाताले कुलदेवता (दिगु:द्य) पनि फरक भएको अनुमान हुन्छ ।
वस्तुतःविभिन्न विहारका वज्राचार्यहरूले आ-आफ्नो कुलदेवता ( दिगु: द्य) विहारको लक्ष्य अनुरूप भिन्नाभिन्नै मानेर आएकोले नै यहाँ काठमाडौं उपत्यकामा बसाई सर्दा पनि सोही अनुरूप आफ्नो कुल धर्म परम्परा एवं संस्कृति अपनाउँदै आउनु नैसर्गिक नै देखिन्छ । यही नैसर्गिक विशेषताले गर्दा साँखुको उक्त हेनाकर, गुणाकर महाविहारबाट आउने वज्राचार्यहरूले धवल चैत्यलाई नै आफ्नो दिग्य (कुलदेवता ) मान्दै आए । उनीहरूले चैत्य प्रतिको पुरातन परम्परालाई सम्हाली आएकाले यहाँ काठमाडौं अवस्थित आफ्नो हेनाकर, गुणाकर महाविहारको कोष्ठपाल (क्वापाःय) को भित्र पनि घामपानीबाट सुरक्षित हुने तरिकाले सुन्दर स्थावर चैत्य स्थापना गरिराखेका छन् । हाल सम्म यी नाकर महाविहारमा अवस्थित स्थावर चैत्यको चर्चा परिचर्चा गरेको गुणाकर, नपाइनु स्थावर चैत्यप्रतिको अज्ञानता र अनभिज्ञताका द्योतक हो । साधारण रितले पूजा गर्ने जुन प्रचलन छ त्यो यथावत् चलाई आएता पनि उक्त हेनाकर, गुणाकर महाविहारका सर्वसंघले पनि आफ्ना पुर्खाहरूले यसरी स्थावर चैत्य स्थापना गरी महत्त्वपूर्ण कला संस्कृति एवं परम्परालाई अक्षुण्ण राख्दै आएका कुरालाई पहिचान गर्न नसक्नुमा यदाकदा ग्लानि महसुस हुन्छ । हुनत हाल हेनाकर महाविहारको जीर्णोद्वार पछि उक्त काष्ठ चैत्य (स्थावर चैत्य) सो कोष्ठपाल देवता (क्वापाः द्यः) भित्र यथावत राखिएको छ । अनभिज्ञता वश यस्तो अमूल्य निधि लोप भयो वा यताउति परे यसको जवाफदेही कसलाई मान्ने ? विचारणीय छ । तर खुशीको कुरा यस पुस्तकका लेखिकाले आफ्नो निवास स्थान सँगै रहेको आफ्नो कुलको बिहार हेनाकर र गुणाकर महाविहार (छुस्याबही) को कोष्ठ पाल (क्वापाद्य 🙂 भित्र अवस्थित स्थावर चैत्यलाई उक्त विहार जिर्णोद्वार हुनु अगाडि नै यसको महत्व बारे सचेत गराएकीले सो विहारको स्थावर (काष्ठ) चैत्यको गजुर र गर्भगृह आदि टुटी सकेको भए पनि सो चैत्य हाल यथास्थिति मै अवस्थित छ । अर्थात् कूटागार शैलिको सो चैत्यमा गजूर र गर्भगृह बाहेक त्यस मुनि हुनुपर्ने चतुद्वार र वोधिसत्वहरूको मूर्ति त्यतिकै सुन्दर र दर्शनीय नै छन् । यस्तै सुन्दर स्थावर चैत्य शांखुको गूंविहारबाट काठमाडौं आएका वज्राचार्यहरूको इतुंबहालमा ( चि. नं. ५ ) अद्यापि सुरक्षित गरिएको छ ।










