काठमाडौं । साहित्यिक पत्रकार सङ्घले आफ्नो ५५औँ स्थापना दिवसका अवसरमा साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्याएका पाँच विशिष्ट साधकलाई अभिनन्दन गर्ने भएको छ ।
सङ्घले नेपाली संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत वरिष्ठ संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, नेपाली चित्रकलामा पुर्याएको योगदानका लागि वरिष्ठ चित्रकार प्रा. मदन चित्रकार र नेपाली साहित्यमा पुर्याएको योगदानका लागि वरिष्ठ कवि ज्ञान उदासलाई अभिनन्दन गर्ने भएको हो ।
त्यसैगरी नेपाली कलाक्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै वरिष्ठ कलाकारद्वय चैत्यदेवी र सन्तोष पन्तलाई अभिनन्दन गरिने भएको छ ।
सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले पाँच विशिष्ट साधकलाई अभिनन्दन गर्ने निर्णय गरेको हो ।
अभिनन्दित व्यक्तित्व चयनका लागि साहित्यकार प्रमोद प्रधानको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । समितिमा नरेन्द्रबहादुर श्रेष्ठ र श्रीओम श्रेष्ठ ‘रोदन’ सदस्य रहनुभएको थियो ।
वि.सं. २०२९ मा स्थापना भएको साहित्यिक पत्रकार सङ्घले यसअघि पनि साहित्य, कला, संस्कृति, पत्रकारिता तथा विभिन्न सिर्जनात्मक क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वलाई अभिनन्दन गर्दै आएको छ ।
सङ्घबाट यसअघि धरणीधर कोइराला, विश्वेश्वरप्रसाद कोइराला, काशीबहादुर श्रेष्ठ, चन्द्रमानसिंह मास्के, पारसमणि प्रधान, सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद घिमिरे, मदनमणि दीक्षित, गोविन्दबहादुर मल्ल गोठाले, परशु प्रधान, डा. जगमान गुरुङ, गीता केशरी, गणेश रसिक, माया ठकुरी, हिरण्यकुमारी पाठक, पुष्कर लोहनी, भुवन चन्द र मुकेश मल्ललगायतका साधक अभिनन्दित भइसक्नुभएकाे छ ।
सङ्घले आफ्ना पूर्वअध्यक्षहरू भवानी घिमिरे, नगेन्द्रराज शर्मा, अच्युतरमण अधिकारी, विश्वविमोहन श्रेष्ठ र नरेन्द्रबहादुर श्रेष्ठलाई समेत अभिनन्दन गरिसकेको अध्यक्ष लेकालीले जानकारी दिए ।

