
काठमाडौँ। नेपाली कांग्रेसले सुनसरी र मधेसका विभिन्न जिल्लामा भएका घटना छानबिनका लागि न्यायिक समिति गठनको माग गर्ने निर्णय गरेको छ।
आज सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बसेको संसदीय दल बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट न्यायिक समिति गठनको माग गर्ने निर्णय गरेको हो।
‘पछिल्लो समय मधेसमा भएका घटनाबारे गृह मन्त्रालयले बनाएको समितिले छानबिन गर्न सक्दैन, त्यो गम्भीर घटना छ र स्वतन्त्र तथा निष्पक्ष छानबिन गरिनुपर्छ,’ संसदीय दल बैठकपछि महामन्त्री प्रदीप पौडेलले भने, ‘प्रतिनिधि सभा र राष्ट्रिय सभामा हामी न्यायिक समिति गठनको अडान राख्छौं।’
तीन जनाको मृत्यु र थुप्रै व्यक्ति घाइते भएको घटनामा संसदीय पनि दु:ख व्यक्त गरेको छ।
‘घटनाको निष्पक्ष छानबिनका लागि सरकारले न्यायिक समिति बनाउनुपर्छ,’ संसदीय दल नेता भीष्मराज आङ्देम्बेले भने, ‘भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै पक्षमा अपिलसमेत गर्दछौं।’


