
लघुकथा
डकार
टङ्कबहादुर आलेमगर
अमेरिकाबाट आएकी छोरीले बुबाको दराज खोलेर हेर्दै सोधी “महङ्गो खालको बिस्कुट खाइसक्नु भयो बुबा?”
“खाइसकेँ छोरी।” ढ्याउवा डकार्दै बुबाले भन्नूभयो ।
“त्यत्रो बिस्कुट यति छिटै खाइसक्नु भयो ?”
“मैले खाए जस्तै हो।”
“बुझिनँ ।”
“मागी हिँड्ने काकीलाई दिएँ ।”
“हँ तपाईंले नचाखी दिनु भयो क्यार ।”
“चाखेर नै दिएको ।”
“मीठो लागेन र ?” छोरीले के के सोच्दै सोधी ।
“मीठो लागेर त दिएँ । त्यति मीठो परिकार तिनले कहिले खान पाका थिइन् र । खाएर खुशी हुँदै भनेकी थिइन् – ‘यति मीठो चिज, कहिल्यै खाकी थिइनँ। अमेरिकाको महँगो बिस्कुट, म यसिया महादेशको सडक मान्छेले खान पाउनु कत्रो अहो भाग्य ।”
फेरि डकार्दै बुबाले भन्नु भयो -“उसको संतुष्टिको कुरो सुनेर ती भन्दा म धेरै अघाएँ छोरी ।”








