
काठमाडौ । मौलाशोभा राई आमा सम्मान २०८१ द्धारा साहित्यकार,गीतकार एवं समाजसेवी दीपा राई पुनकी माता विमला चाम्लिङ राई (साम्पाङ) सम्मानित भएकी छिन् ।
अनलाइन अभिलेखको आयोजनामा राजधानीमा भएको एक कार्यक्रममा राईलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।
नगद पचास हजार राशी,ताम्रापत्र र दोसल्ला सहित राईलाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं बरिष्ठ कवि बैरागी काँइला,प्रतिनिधि सभाका माननीय उपसभामुख इन्दिरा राना,नेपाल श्रष्टा समाजका अध्यक्ष, वरिष्ठ साहित्यकार एवं सम्मान छनोट समितिका संयोजक श्रीओम श्रेष्ठ ‘रोदन’,मौलाशोभा राई लगायतले उक्त सम्मान अर्पण गरे ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व कुलपति बैरागी काँइला र विशिष्ठ अतिथि माननीय उपसभामुख इन्दिरा रानाले मैनवत्ती प्रज्वलन गरेर कार्यक्रमको सुभारम्भ गरे ।
प्रमुख अतिथि पुर्व कुलपति काँइलाले साहित्य लगायतका विविध क्षेत्रमा नयाँ खालको पुरस्कार र सम्मानको थालनी भएकोमा खुशी व्यक्त गर्दै -“जन्मदिने आमाको नाउँमा आमालाई सम्मान गर्नु सह्रानिय कार्य भएको र आमाको दुखको कहानी धेरै गहिरिएर कुनैपनि साहित्यकारले आजसम्म नलेखेको ” बताउँदै आमाको भूमिकामा अझै धेरै सृजना लेखिन हुन बाँकी भएको बताए । “यो सम्मान उत्तर आधुनिक खालको भएको “आफ्नो बुझाई बताउँदै उनले आमाको नाउँमा सम्मान गर्ने परिपाटीको शुरुवात गर्ने डा.पुरण धन्यवादको पात्र भएको बताए ।

विशिष्ठ अतिथि उपसभामुख इन्दिरा रानाले सम्मानित व्यक्तित्व आमा विमला राईसँग बाल्यकालमा विताएको पल र सिकेका अनुशासन बारे स्मरण गर्दै आमाहरुको सम्मान राज्यले मात्र नभएर हरेक व्यक्तिले गर्नुपर्नेमा जोड दिइन । उनले साहित्यकार पारिजातसँग भेट्दाका अनुभूतिहरु समेत राखिन् ।
कार्यक्रमका अर्का वक्ता प्राडा खगेन्द्रप्रसाद लुँइटेलले विश्वविद्यालयमा पुरण आफ्नो विद्यार्थी भएको चर्चा गर्दै आमाको नाममा इमान्दार भएर सम्मान राखेकोमा बधाई दिए भने सम्मानित व्यक्तित्वकी छोरी साहित्यकार दीपा राई पुनसँगको पहिलेदेखि नै चिनापर्चीको जानकारी दिए । उनले नेपाली साहित्य लगायतका क्षेत्रमा पुरस्कार र सम्मानमा आएका विकृति र विसंगतिहरुको चर्चा समेत गरे ।

कार्यक्रमका सभापति श्रीओम श्रेष्ठ ‘रोदन’ले सम्मानको थालनी गरेका डा.पुरण राई र सम्मानित आमा विमला दुबै बधाईको पात्र भएको बताए । उनले आमाले जन्माएको छोराले आमाको नाममा पुरस्कार राख्ने जस्तो सत्कर्म उदाहरणिय र पहिलो भएको बताए । “आमाको नाउँमा कमाइको केही अंश छुट्टयाएर अर्की आमालाई सम्मान गर्नु आदर्शवादी छोराको उत्कृष्ट नमूना हो । आजको कार्यक्रममा सहभागी सबैले यो सकारात्मक सन्देशलाई फैलाउनुपर्छ । सम्मानित व्यक्तित्व संघर्षले खारिएर सार्थक जीवन विताएकी महिला हुन” भन्दै दुवै आमा नेपाली समाजमा उदाहरणको रुपमा रहनसक्ने बताए ।
यसअघि स्वागत मन्तव्य व्यक्त गर्दै सम्मानका संस्थापक साहित्यकार डा.पुरण राईले यस्तो सोच कसरी आयो भन्ने बारेमा जानकारी दिए ।
सम्मानित व्यक्तित्वकी छोरी साहित्यकार,गीतकार एवं समाजसेवी दीपा राई पुनले आफ्नो आमाको सम्मानले आफु सम्मानित भएको महसुस गर्दै आफ्ना वाल्यकालका भोगाई पस्किन । यसैगरी उनले आमाप्रतिका मार्मिक उद्गार समेत राखिन् ।
विजया सुब्बा,नारायणप्रसाद शर्मा समेतले सम्मानित व्यक्तिको व्यक्तित्वको चर्चा गरे ।

उक्त कार्यक्रममा कोशीप्रदेश साँसद मिना श्रेष्ठ,अनेसास नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र केसी,निर्णायकहरु रासस महाप्रबन्धक सिद्धराज राई,कमल ज्ञवाली,योगेन्द्रकुमार राई,कार्यविधि संयोजक देविलाल दाहाल,नेपाल एयरलाइन्सका उपनिर्देशक मुकेशमान प्रधानले समेत आतिथ्यता गरेका थिए ।

साहित्यकार प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रममा साहित्यकार र समाजका विभिन्न क्षेत्रका महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।कार्यक्रम अनलाइन अभिलेख प्रालिले आयोजना गरेको हो ।

