
काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको निधन भएको छ ।
७२ वर्षीय यचुरीको उपचारका क्रममा बिहीबार दिउँसो निधन भएको सीपीएमका वरिष्ठ नेता पुण्यवतीले पुष्टि गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार, केही समयदेखि बिरामी रहेका उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो ।
सेप्टेम्बर १० मा सीपीएमले जारी गरेको विज्ञप्तिमा यचुरीलाई श्वासप्रश्वाससम्बन्धी गम्भीर संक्रमण भएको बताइएको थियो ।
यचुरीलाई देशभरका नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । कांग्रेस नेता राहुल गान्धीले यचुरी आफ्नो असल साथी भएको बताएका छन् ।
मुख्यमन्त्री ममता बनर्जीले यचुरीको निधनको खबर सुनेर आफू निकै दुखी भएको बताएकी छन् । उनी अनुभवी सांसद भएको र उनको निधनले राष्ट्रिय राजनीतिलाई ठूलो क्षति पुगेको बनर्जीको भनाइ छ ।
येचुरी सन् १९९२ देखि सिपिआई (एम) का पोलिटब्यूरो सदस्य थिए। उनी सन् २००५ देखि २०१७ सम्म पश्चिम बंगालबाट राज्यसभाका सांसद पनि रहेका थिए। सन् २०१७ मा उत्कृष्ट सांसद (राज्यसभा)पुरस्कार प्राप्त गरेका यचुरी एक असल कम्यूनिष्ट नेता थिए ।


