
सुभद्रा अधिकारी
१.
पाठशालाको झ्यालढोका छैन मन्दिरमा चन्दाधन्दा चल्छ
करोडौंमा गेट बन्दा चर्किएको छानामुनि नानीका तन जल्छ
गुरुलाई दोषी मानी उपलब्धिमा औंला ठड्याउने ठालुले
कहिले बुझ्छौ प्राथमिकतामा नराखे पाठशालाको गारो ढल्छ ।
२.
पत्थरको कापमा पनि सुनगाभा टुसाउन सक्छ
पहराको डिलले पनि सुन्दर आभा सजाउन सक्छ
तिमी त मानव कति लुकेका क्षमता होलान् खोजेँ
निरन्तर घोटिँदा त पत्थर पनि मुर्ति कहलाउन सक्छ।
३.
लुकीछिपी घातक हुन्छ खुलेआम बोल्नुपर्छ
बेइमान र दुष्मनले मात्र कानमा मुख झोस्नुपर्छ
बोल्नाले आफूलाई घाटा पुगेपनि समग्रमा त्यसले
बोली बन्द भएकालाई साथ दिएको सोच्नुपर्छ।
४
खेल उही,मेदान र पात्र उही मात्र समय फेरिएछ
स्वार्थ उही,आशक्ति उही मात्र फरक वेरामा बेरिएछ
हेर्नेलाई मजा नआए के खेल्ने त अवश्य उत्साही होला
त्यसैले नयाँ नकोरी पुरानै ठेकेदारको योजनाले घेरिएछ।








