
काठमाडौें । लामखुट्टे पहिला समथर भूभागमा अर्थात् तराईको भूभागमा पाइन्थ्यो । गर्मी हुने मौसममा मात्रै बासस्थानको अड्डा जमाउने लामखुट्टेको बासस्थान पछिल्लो समय फेरिएको छ । जलवायु परिवर्तनको प्रभावका कारण लामखुट्टेको बासस्थान तराईबाट पहाड हुँदै हिमालसम्म पुगेको छ । अर्थात् गर्मी बढेसँगै लामखुट्टेको यात्रा पनि उच्च भेगमा देखिन थालेको छ ।
यस वर्ष मात्रै हिमाली जिल्ला सोलुखुम्बुमा ४५ जना भन्दा बढी डेंगुबाट संक्रमित भइसकेका छन् । सोलुखुम्बुमा पछिल्लो दुई वर्षअघिदेखि डेंगुको विरामी देखिन थालेको हो । जलवायु परिवर्तनसँगै गर्मी माथि सर्दै जाँदा लामखुट्टेले पनि आफ्नो थातथलो फैलाउँदै लगेको छ । विज्ञ भन्छन्, ‘यो जलवायु परिवर्तनका कारण देखिएको समस्या हो ।’ एक अनुसन्धानले नै देखाएको छ– संसारका विभिन्न क्षेत्रमा प्रत्येक वर्ष २१ फिटमाथि डेंगु गराउने लामखुट्टे सर्दै छ । लगातारको वर्षाले पानी जम्न थालेसँगै देशभर डेंगीको संक्रमण पनि बढ्दै गएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक सातायता डेंगु संक्रममितको संख्या तिव्र रुपमा बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)को पछिल्लो तथ्याङ्क अनुसार ७ हजार ६४० जना सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको हो । महाशाखाका अनुसार, देशका ७५ जिल्लामा डेंगुको संक्रमण देखिएको छ । मुस्ताङ र हुम्ला बाहेक सबै जिल्लामा सङ्क्रमण फैलिएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । कूल सङ्क्रमित संख्यामध्ये तीन हजार ६१९ जना अर्थात् ४७.४ प्रतिशत सङ्क्रमित गण्डकीमा रहेका छन् ।
यस्तै, बागमती प्रदेशमा १ हजार ९११ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ८८५ जना, मधेसमा १२८ जना सङ्क्रमित रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा ५४५ जना, कर्णालीमा ११७ जना डेंगु सङ्क्रमित छन् । यस्तै, सुदूरपश्चिममा ४३५ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमितको संख्या बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । ‘सरकारी अस्पतालमा डेंगु रोगका बिरामीको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ ।
जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा लामखुट्टे उच्च क्षेत्रमा विस्तार हुने दर बढेको छ । नेपालको हकमा २ हजार मिटरसम्म फैलिसकेको छ । एक अध्ययनले न्यूनतम तापक्रम १ डिग्री मात्रै बढ्दा पनि २७ प्रतिशत मलेरिया बढ्ने जनाएको छ । यसै कारण नेपालमा मात्र नभएर विश्वभरि नै लामखुट्टेजन्य रोग महामारी बन्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् ।
जलवायु परिवर्तनका कारण उच्च स्थानमा फैलिएका लामखुट्टेका कारण मलेरियाको उच्च जोखिम देखिएको जर्ज टाउन युनिभर्सिटी मेडिकल सेन्टरको अध्ययनले निष्कर्ष निकालेको छ । सो विश्वविद्यालयका वैज्ञानिकहरूले उच्च स्थानतिर मलेरिया सार्ने मुख्य भूमिका लामखुट्टेको भएको जनाएका छन् । सो अध्ययनअनुसार अफ्रिकातिर औसतमा प्रत्येक वर्ष ६ दशमलव ५ मिटर (२१) फिटमाथि लामखुट्टे सर्दैगएको छ । त्यसैगरी, भूमध्य रेखाको दक्षिणी भागतिर प्रतिवर्ष ४ दशमलव ७ किलोमिटर सर्दैगएको छ ।
नेपालमा पहिलोपटक डेंगुमा संक्रमण सन् २००४ मा चितवनमा फेलापरेको थियो । त्यसपछि बर्सेनि नेपालमा डेंगुका समस्या देखिँदै आएको छ । सन् २००६ मा तराईका नौ जिल्लामा फैलिइसकेको थियो । सन् २००६ मा ३२ जनामा संक्रमण देखिएको थियो भने सन् २००७ मा २७ जना, सन् २००८ मा १० जनामा संक्रमण देखिएको थियो । सन् २००९ मा डेगु सार्ने लामखुट्टेको पहिचान काठमाडौंमा भएको थियो । जसको एक वर्षपछि राजधानीमा एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसपछि सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो भने सन् २०२० मा ५ सय ३०, सन् २०२१ मा ५ सय ४० जनामा संक्रमण देखिएको थियो । त्यस्तै, सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा डेंगुको संक्रमण देखिएको थियो ।
डेंगु फैलाउने लामखुट्टेमा ‘ट्रान्स ओभरियन ट्रान्समिसन’ पनि हुन्छ । यो भनेको डेंगु भाइरस बोकेको लामखुट्टेले अण्डा पार्दा ती अण्डामा पनि भाइरस ट्रान्सफर हुन्छ । वयस्क अवस्थामा पुग्दा लामखुट्टेमा डेंगु भाइरसको संक्रमण भइसकेको हुन्छ । एक अनुसन्धानका अनुसार डेंगु सार्ने भेक्टर २० देखि ३० डिग्री तापक्रममा सक्रिय हुनेगरेको छ । तापक्रम बढेसँगै यी लामखुट्टेले मानिसलाई टोक्ने दर बढ्नेगर्छ । सबैभन्दा बढी २५ देखि २६ डिग्री तापक्रम हुँदा सक्रिय हुनेगरेको पाइएको छ । यो लामखुट्टेले साँझ र बिहान टोक्ने गर्छ ।








