
मुक्तक
प्रकाश घायल
१.
निधारमा लागेको कालो दाग र खोट हटाउनुस्
निर्दोष संरक्षणका खातिर शव्द चोट पठाउनुस्
देखेको सपना त हुरीले उडाउन सक्छ महोदय ,
आफूले गरेका बाचा बन्धन र अठोट बचाउनुस्!
२.
विसंगति विरुद्धमा सोझो औंला बङ्ग्याउन नपरोस्
दलेर मोसो कलंकित त्यो अनुहार रङ्ग्याउन नपरोस्
झुठो आश्वासन मिठो सपना बाढ्दै हिड्ने महाशयहरू सावधान!
टुडिखेल बीच उभ्याएर नङ्ग्याउन नपरोस्!!
३.
कस्तो विडम्बना मान्छेहरू घमण्डको जग टेकिरहेछ्न्
निर्दोष !भंवराहरू फूल बलात्कारको मुद्दा खेपिरहेछ्न्
बुँदा बुँदामा छलफल भैरहन्छ निष्कर्ष आउँदैन कहिल्यै
झन्झन् निरन्तर निष्कर्ष बिनाको दस्तावेज लेखिरहेछन्!
४.
मिठो बहाना बनाउँदै मनभित्र पस्नेहरू पनि छन्
पहिलो हेराइमा नै नजर बाट खस्नेहरू पनि छन्
बिस्वास गरेर प्रेमिल घर बनाउँछु भन्नेहरूको हुलमा
कलेजी छेउ बसेर …मुटुमा छुरा धस्नेहरू पनि छन् !
५.
चट्टानी पहरा सियोले ..घोप्न कहाँ सकिन्छ
त्यसैमा कमलको फूल रोप्न कहाँ सकिन्छ
स्वार्थको डोकोमा निष्ठाको फूल बोक्नेहरू
छताछुल्ल भएसी लाज छोप्न कहाँ सकिन्छ!

