
छेपारो
४० बर्ष पछि मैले मेरी आमालाई भेटे । उनी जस्ताको त्यस्तै थिईन आज फरक त्यो अनुहार निखारिएको झन चम्किलो । उहि रुप,मन लोभ्याउने आकर्षण,कुनै चाम घटेको थिएन उहि सुन्दर रुप थियो आमाको ।
बाल्यकालमा मेरी आमालाई मैलै जस्तो देखेको उनले मलाई छोडदा उनको रुप जति चम्किलो अनुहार थियो त्यहि अनुहार फरक केही थिएन । म कसोरी भुल्थें र झन माथि मेरी आमाको त्यो सुन्दर रुपलाई । मेरी आमाको त्यही रुपको शरीरका कारण म टुहुरी भएको थिए । मेरो बालापन हराएको थियो । मेरो खुशी रहर सबै आफुसँगै आमाले लिएर गएकी थिईन ।
बषौंपछि मेरी आमालाई देख्दा धैरै खुशी लाग्यो । मसँग कुनै शव्द थिएन । त्यो अनुहार एकनासले हेरि रहेँ,त्यो सुन्दर रुप निहाली रहेँ एक तमासले । मेरी आमा उस्तै उहि चम्किलो अनुहार उज्यालो आहा ! कति सुन्दर मेरी आमा । मेरी आमा सुन्दरताको एउटा उदाहरण थिइन् ।
उनको रुप देखेर सबै लोभिन्थे । उनको शरीर, उनको लोलाएको आखाँले लाग्थ्यो सँसार जितेको छ । उनको अगाडि फ्रक्रेको रातो गुलाव पनि झुकेको हुन्थ्यो । सप्तरङी ईन्द्रेणी पनि फिका लाग्थ्यो उनको अगाडि । उनी कुनै महारानी परि भन्दा कम थिईनन् ।
लत्रक शरीर छाटिएको उनी कुनै कामिनी भन्दा कम थिइनन । उनको रुपको चर्चा सबैले गर्दथे। जसले जति गरेपनि कम हुन्थ्यो। हजार जिब्रा भएका शेष नागहरुले पनि उनको सौन्दर्यताको बर्णन गर्न सक्दैन थिए होलान । या भनौ कुचिकारको उनी सुन्दर तस्विर थिईन । लामो कालो कपाल त्यहि कपालमा दाहिनेपट्टी सिउरेको फुलले निकै आकर्षण गर्दथ्यो । आज पनि त्यो फुल उनको शिरमा देखें मैले ।
उही लवाई,उही हेराई,उही मुस्काँन मेरी आमाको । सुन्दर रुपमा कालो बाक्लो आँखी परेला कालो गाजल लगाउँदा ओठको माथिको कालो कोठीले साँच्चै नै उनको सुन्दरता थपिदिएको थियो । उनी यत्ति सुुन्दर थिईन । मेरो आखाँमा उनको तस्बिर बसिरहेको थियो । मलाई चार बर्षमा उनले छोड्दा पनि त्यो रुप मेरो आँखामा छाप बनिरहेको थियो ।
उनी यत्ति सन्दर थिइन कि उनको सुन्दरता एक उपहार थियो । दैवको उनी अनुपम सिर्जना थिईन ।यही रुप भएकै कारण ठुुलोबुवा मेरी आमासँग आकर्षित थिए मेरी आमापनि उनीसँग । सुन्दर आकर्षक कारणले नै उनीहरु एकअर्कामा समावेश भए । रतिसंग कामदेव भए झै उनीहरुले पनि संसार भुले ।
बाबालाई र मलाई छोडेर आमा ठुलो बाबासंग हिडिन । आमा हिँड्दा सबैले पोइल हिँडि भने नानाथरी बदनाम गराए । जस्ले जे मन लाग्छ उही बोले,कतिले पोले । कतिले टोके ।
बाबा पनि आमाको रुपको गुलाम थिए । तर पनि बाबाले आमालाई च्यापेर राख्न भने सकेनन् । उनी पन्छी बनेर उडिन अरुको डाली बसाउन । आमालाई तृप्त पार्न बाबाले सकेन या उनलाई ठुलो बाबाको शरीर मन पर्यो यो भन्न अझै गाह्रो छ । आजपनि बुझन सकेको छैन ।
आज मलाई लाग्छ सायद आमा तृप्त भएकी भए किन अरुको काँध खोज्दै जान्थिन र ? उनी तिर्खाएकी थिइन र पो पानी खोज्न दौडिइन् । या दुवै भोकाएका थिए । नभए यत्ति राम्रो घरसंसार छोडेर किन आमा अरुसँग जान्थिन र ? ठुलो बाबाले ठुलीआमालाई किन छोडर्थे र ।
आमाले समाजको वितृष्णा सहे पनि उनी तृप्त थिईन र सन्तुष्ट पनि । मलाई लाग्छ आमाको पीरमा बाबाले पनि अर्की ल्याए, उनी पनि मस्त थिए । चेतना गुमाएपछि मान्छेहरुले अनेक रङ्क फेर्छन । बदल्छन् । छेपारोको जस्तो आफनो ईच्छा पुरा गर्न या भोक मेटाउन । उता बिदेशमा ठुलो बाबासँग आमा खुशी थिईन भने बाबा यता । दुई किनारको बीचमा म अल्मलिएको थिए । अनि एक्लो थिए ।
बाल्यकालदेखि नै म आजाद थिए । होस्टेलको जीवन, अनि एक्लोपन आफना भन्नेहरु त छदै थिएन खालीपन मात्रै । न कतै आमाले रोक्ने डर न बाबाले टोक्ने डर । सबैको आफनो आफनो लक्ष्य मात्र ।
शरद ऋतुमा धैरै फुलहरु फुल्छन । डाँडामा सौन्दर्यताको प्रतिक लालीगूुराँस पनि सुन्दर भएर फुल्छ । तर जसरी यिनीहरुलाई हाँगाले छोड्छन, तव अवशेष मात्र रहन्छ । हो त्यही अवशेष हुँ म । सबैले आफूले चाहेको जीवन बाँच्ने अवसरहरु पाए । तर अवरोध र बिरोधका अभावहरु लिएर म खड्किएँ भड्किएँ । बालापन हराए । माया हराए । अनि भोक र मिठास पनि ।
मन्दिरको आकार सानो ठुलो हुदैन । खाली बिश्वास ठुलो हुुन्छ भन्छन नी । तर म कहिल्यै भुल्न नसक्ने आमाको छबि लिएर उत्रेको छु । मबाट कुनै गल्ती भएका थिएनन् । समयले मलाई गलत बनाई दियो । बारम्बार यातनाले मलाई ठेस लाग्छ । घृणा लाग्छ ,दुःख छ पनि तर मेरो लागि डाक्टर छैन । न कुनै सीतल दिने मलम नै छ । रङहीन र दण्डहीन हुँदै तिरस्कृत हुँदै बाँचिरहे आमाको कारण म ।
कतिले मेरी आमालाई बेश्या भने सबैले आफनो आफनो तरीकाले उपनाम दिए । अनेक नाम उनले पाईन । आमाले आफनो रंग लिएर उडिन । उनी स्वतन्त्र थिईन । समाजको मतलव थिएन उनलाई । जसले जे सुकै भनुन आफनो जीवन बाँचिन उनी आफ्नु इच्छाले । उनी तृप्त बन्दै थिईन । उनको जीवन सुनौलो बन्दै थियो । अरुले मलाई सुनाउँथे र म सुन्थेँ ।
बाल्यकालमा आमाले मलार्ई छोड्दा म आमा आमा भनिरहेको थिए । मलाई अझै याद छ म एउटा कुनामा बसेर रोईरहेको थिए । मेरी आमाले मेरो आँसु पुछ्न भ्याईनन् ।
आफुले जन्माएको सन्तानलाई छोडेर उनी गईन अचम्म पर्छु म । आमा त आमा नै हुन्छन् भन्छन् भन्न त ! सन्तानको लागि लाखौंलाख दुःख सहन गर्न सक्छन् भन्छन एउटी आमाले तर उनले मेरो भावना सम्म बुझिनन् । र उनी आफनै दुनियाँमा मस्त भईन् ।
आमाको पछयौरी समातें मैले । तर उनले पछौरी नै आधा पारीदिइन । घर मलाई चिहानजस्तो लाग्थ्यो । यस्तो संसार मैलै कसोरी अगाडि बढाएँ मलाई मात्र थाहा छ । कस्ति आमा मेरो मलाई छोडेर किन गईन? म भन्दा पनि उनको शारिरीक भोक जरुरी भयो । मेरो माया किन लागेन ।
संसार किन यस्तो यसमा किन मरिहत्ते गरेका होलान यो कस्तो प्रेम हो ! शरीरको यो कस्तो भोक हो । न पैसाले मीठास दिने न त हिरामोती ले नै । यी बाट शरीरको तिर्खा मेटिने भए आमाले किन मलाई छोड्थिइन होला भोक मेटाउन ! मेरी आमालाई निकै प्यास लागेको रहेछ । पधेरो घर मै भेट्टाइन उनले । भाग्यमानी रहिछिन् क्यारे । उनी यसरी डुबुल्की मारिन कि मलाई सम्झने समय नै भएन । म कस्तो अभागी छोरी ।
मेरी मन मिल्ने साथी सुलोचनाको बाबा उनी एक बर्षको हुँदा बितेका थिए रे । उनले बाबाको फोटो खाली तस्वीरमा मात्र देखेकी थिईन ।तरपनि उनको आमाले उनलाई कति माया गरेर अँगालोमा बाँधेर राखेकी छिन् । उनको आमाले आफनो उडेको रङ्क लिएर छोरीको सपना सजाएर बसेकी छिन । आमा छोरी कति मिलेर बसेका छन् ।
उसको घर जाँदा कति आनन्द लाग्छ । उसको इन्द्रेणीभरीएको जीवन देखेर डाह पनि उस्तै लाग्छ ।आमा हुनु यस्तो पो गर्व गर्न सकियोस । आमाको दुःख देखेर सुलोचनजी पनि आमालाई धैरै माया गर्छिन् । कस्ता भाग्यमानी दुवै । दुवैमा प्रेम छ । संसारमा भोक मेटाउने अरु पनि उपाए थिए होलान । मेरी आमाले आफनो भोक मेटाउन किन मेरो मायाको भोकलाई मेटिन ।
भन्छन् आमा धर्ती बाबा आकाश भनेर । न म आकाशमा रमाउन सकेँ ,न धर्तीमा नै समाउँन सकेँ । मेरो दुर्भाग्य । दुनियाँ सबैले भन्छन् सुलोचनाको आमालाई कस्तो रहर नलागेको । यो आईमाईलाई प्यास पनि नलाग्ने ।कतै खोला पनि न धाउने । बिद्यालयमा पढाएर नै आफनो जीबन बिताईन ।
कहिलेकाँही सुलोचनाले आफनो आमालाई जिस्काएर बाबा खोजिदेउ भन्छे । उनी लज्जित त हुन्छिन तर उनको लागि उनको छोरी नै सबै भएको छ । जति भोग मोज गरे यति नै मेरो मिठो सम्झना छ उनी भन्छिन । हाँसो गर्दै ।
यतातिर मेरीआमा राम्रो परिवार हुँदा पनि जातै फालेर हिँडिन । आमाले गर्दा सबैले मलाई हेर्ने दृष्टिृ फरक भएको थियो । सबैले मेरी आमाको यस्ति उस्ति भन्दै मलाई बदनाम गराउँथे । चिढाउँथे थुक्थे । अपशब्दहरुमा अपमान गर्थे । आजसम्म पनि भन्दै छन् आमा जस्तै नबनेस । यो मलाई सराप लागिरहेको थियो । आईमाई खराव भएपछि घर बिग्रन्छ भन्थे हो रहेछ । तर यसको त बाउ पनि बिग्रियो ।आमा पनि विग्रि । यस्तै कुरा गरेर आजकलँ मलाई लाचार बनाउँछन ।
आमा हिड्दा टुहुरो भएँ । एक प्रकारको अनाथ पनि । लाञ्छना र आरोपहरु खेपे । मैले आमाको कारण मेरो जीवनमा बिष भरियो ।
एउटै घरमा ठुलो बाबासँग आमालाई देख्दा मन दुख्छ । मलाई आफैलाई चिथोरुँ जस्तो लाग्छ आज । के सम्बोधनले कस कसलाई बोलाउँ मैले ।
जानु नै छ भने घर बाहिरको पुरुषसँग गएको भए हुन्थ्यो नि ⁄ आफनै जेठाजसँग किन ⁄
एउटा कोठाबाट अर्काे कोठा । बिदेश नै गएपछि किन फ्रर्केर आएको कुन्नी ? यतिका बर्ष बिदेश बसेर किन फर्केको होला । फेरी बल्लबल्ल पुरिन लागेको घाउ कोट्याउन किन आएको होला । कसलाई के देखाउन आएको कुन्नि ? मलाई रिस उठछ ,आमाको यस्तो काारण अनि वेचैनी बढ्छ ।
मलाई श्रृँगार गर्न बन्चित छ, मलाई मेरै श्रृगारले पोल्छ ।मैलै श्रृगार गर्दा पनि हरेकले आमा जस्तै हुने भई भन्दै लाञ्छना लगाउँछन । मेरो आमाले गर्दा मेरो यौवनमा पनि दाग लागेको छ। मेरो स्वतन्त्रता मरेको छ । म हराएको छु ।
समयमै राम्रो घर छानेर विवाह गर भन्छन सबैजना । आमा जस्तै खोला नधाउँन पनि सावधान गराउँछन् ,धैरैले धैरै कुरा गर्छन् । छेपारोको झै रंग बदल्दै नहिेडेस भन्छन ।
पोईल गएको आमाको सन्तान भएर बाँच्न मुश्किल पर्दोरहेछ । के गर्नु सहनै पर्यो । बरु आमा मरेको भए टुहुरी भन्थे । एउटै शव्दले टथ्र्याे । कस्तो परिस्थिति बुझ्नै गाह्रो, सहनै पनि गाह्रो ।
न खुलेर हाँस्न पाईन्छ न खुलेर रमाउन नै । जीवन जीवन जस्तो कहाँ छ र मेरो ।
बाबाले दोस्रो श्रीमती ल्याए कसैले केहि भन्दैन । तर आमालाई बारम्बार ठेस हान्छन् । आमालाई ठेस हान्दा कहिलेकाँही मलाई रीस उठ्छ । बर्षौ हुँदा पनि बारबार आमालाई समाजले बदनाम गराएका छन । आमाकै नामबाट म पनि पिडा भोगिरहेकोे छु । बर्षौं भईसक्यो आमा पोईल हिडेको। समाजले कति खेदो गरेको हो । मानिसको बोल्ने तरिका तीन प्रकारका हुन्छन् भन्थें । हो रहेछ कोहीले घाटीले कोही मनले कोही जिब्रोले बोलीरहेका थिए । बिर्सन खोज्दा पनि बिर्सन नदिने कस्तो समाज हो यो ।
आमालाई मर्यो भन्न पनि नमिल्ने मेरी आमा बाँचेकी छिन है भन्दा कहाँ बाँचेकी छिन र ?
जीउ छपटिन्थ्यो । आँखाहरु भक्कानिन्थे मनदेखि । आमा हेर्न मन लाग्थ्यो । तर भाग्य कहाँ ?
मलाई मेरी आमाको दिनरात याद आईरहँदा मेरी आमालाई मेरो याद किन आएन । म सोच्छु साँच्चै मेरी आमा मसगँ रिसाएकी नै हुन त ? म सगँ कुनै उत्तर थिएन । त्यो उत्तर आजसम्म पनि पाउन सकेको छैन मैले । मेरी आमाले मलाई सजिलै किन छोडिन। म रोकिन्छु ,सुस्ताउँछु ।
मेरी आमाले मलाई पनि हेरे । आफनो भोक घरबाट नै मेटाएकी भए हुन्थ्यो नि । म पनि खुशी हुन्थेँ । आमाले पनि समाजको ताना सुन्नुुपदैन थियो । तोरी पिसे तेल निस्कन्छ । कोदो पिसे पिठो बन्छ ।तर यी दुवै मिलेर पिसियो भने काम नलाग्ने लेदो निस्कन्छ । म पनि यस्तै भएकी थिएँ ।
आमाले आफु दौडिदा मलाई किन दौडाउन सकिनन् । आफु रमाउँदा मलाई किन हाँसो दिन सकिनन् । मलाई मेरो आमाले यस्तो किन गरिन ? मेरो किन हाँसो निचोरेर गईन । कुनै दिन पनि उनलाई मेरो याद आएन सायद ।
एउटा रंगमञ्चमा सुन्दरी तरुनी नाचे झै उनी रमाईरहिन । नाचिरहिन् खुशी हुदै । कति खुशी छिन रे न कुनै पश्च्याताप, न कुनै पिडा । उनको अनुहारमा त चम्मक चम्किरहेको थियो खुशी । उनको उज्यालो अनुहारले नै त्यो बताउँथ्यो ।
म आमा खोज्दा उनी रंगिरहेकी थिईन । अध्याँरोमा बिजुली चम्कँदा म सहाराको लागी भित्तामा आड लाग्दा उनी नयाँ पुरुषसँग अँगालोमा थिइन । म खाना मागिरहँदा उनी आफनो भोक मेटाईरहेकी थिईन । म पानी खान तडपिरहँदा मेरी आमा यौनसुखको समुन्द्रमा पौडिरहेकी थिईन ।
मेरो आँखाले आमा खोज्न कहिल्यै छोडेन् । म आतिन्छु जब उनको तस्विरमा हेर्थे । म सोच्छु मेरी आमाको मन सफा छ । आकाश झै फराकिलो छ । तर मलाई के थाहा यति फराकिलो आकाशमा पनि म आमाको काखमा कहाँ अटाउँन सके र ?
जीवन मेरो निर्जीव प्राणी जस्तै लाग्छ । मल जल बिनाको उन्यु झाडी जस्तै लाग्छ । तर आमालाई बषौंपछि पनि उस्तै हर्षित र खुशी देखिरहेकोमा भने मन मेरो खुशी थियो ।
आमा त आमा नै हुन् । म स्पर्श लिन प्रयास गर्छुुे मेरी सुन्दर आमाको । बाल्यकाल देखि नै उनलाई हेर्न खोजिरहेका मेरो आँखाहरुले अहिले पनि उनलाई खोजिरहेको छ ।
मलाई मेर आमालाई देख्दा मेरो जीवन तृप्त भएको महसुस भयो । म अँगालो हाल्न चाहान्थें ।मेरो आमालाई झम्टेर म्वाँई खान चाहान्थें त्यो सुन्दररुपमा । म उनका औलाहरु चलाउन चाहान्थें । म उनको छातीमा टाँसिन चाहाँन्थें ।
तर भाग्य काहाँ मेरो म नजिक जान डराए उनको काखमा नयाँ सन्तान खेलिरहेको थियो मेरो लम्केको मेरो हात्त हटाउछु । म बिवस छु उनको खुशी जिवनको कामना गदै म मौन भएर एकाहोरो म उनको सुन्दर रुपलाई हेरीरहे ।







