
श्रावण शुक्ल पूर्णिमा र भाद्र कृष्ण प्रतिपदालाई नेपालसंवत्को क्यालेण्डरअनुसार गुँलाथ्व पूर्णिमा र गुँलागा पारु भनिन्छ । यही गुँलाथ्व पूर्णिमालाई गुंपुन्ही , क्वातिपुन्ही भन्ने गर्दछ भने नेवारसमुदाय बाहेक अरुले ऋषितर्पणी, जनैपूर्णिमा भन्ने गर्दछ । यसको भोलिपल्ट भाद्रकृष्ण प्रतिपदालाई नेवार समुदायले सापारु भन्छ भने अरुले गाइजात्रा भन्दै आएको हामीमा सर्व विदित नै छ । सामान्य दृष्टिकोणले हेर्दा नौथरि गेडागुडी पकाएर झोल हाली क्वातिसंग पीठोको रोटी खाएर हर्षोल्लासका साथ मनाउने पर्व भनेर बुझ्दै आएको देखिन्छ तर भित्री दर्शनलाई गहिरिएर हेर्ने हो भने त्यही मात्रै मौलिक अर्थ र अभिप्राय भने बिल्कुलै होइन ।
नेपालसंवत्को क्यालेण्डरअनुसार गुँलाथ्व पूर्णिमालाई अरु क्यालेण्डरअनुसार श्रावण शुक्ल पूर्णिमा अर्थात् ऋषितर्पणी भएकोले पूर्व मेची देखि पश्चिम महाकाली सम्मका सबै नेपालीले मनाउने राष्ट्रिय चाडपर्वको रुपमा मानी आएको देखिन्छ । तथापि काठमाडौ.उपत्यकाका नेवार समुदाय मध्ये हिन्दु र बौद्ध सम्प्रदायले कसरी, कुन ?तरिकाले यो चाडलाई हेर्ने गरिएको छ र यसको मतलब यी चाड बारे लेखिएका लेख तथा पुस्तकको कुनै खण्डन गर्न चाहेको भने बिल्कूलै होइन । अरुले ९९ प्रतिशत लेखी सकेको भए त्यसमा एक प्रतिशत थप्ने प्रयास गरिएको मात्रै हो । त्यसैले एकदुई वटा कुरा असहमति भएको औंल्याउनै पर्ने हुन्छ । यस अघि गथाँमुगको लेख पनि एक प्रतिशत मात्र थपेको हो । त्यसरी थपेको एक प्रतिशत ठीक ठान्नेहरु प्रति धन्यवाद नै भन्नु पर्ने हुन्छ । किनभने त्यो एक प्रतिशतको आवश्यकता किन भएको भने अरुले ती चाडबारे के हो ? कसरी मनाइन्छ ? भनेर मात्र सारा विवरण दिइएको छ भने किन मनाइन्छ ? र ती प्रत्येक अवयवको अर्थ के हो ? भन्ने बारे भने कसैले उल्लेख गर्ने गरेको देखिएन । यहाँ ती चाड किन मनाइन्छ ? र त्यसको अर्थ र अभिप्राय भने भरसक खुलाएर लेख्ने प्रयास गरिन्छ ।
वर्षको ६ महिना सूर्य उत्तरायण र ६ महिना सूर्य दक्षिणायन हुने कुरा सर्वमान्य छ । धर्मशास्त्रहरूमा उत्तरायण भनेको देवताको दिन र दक्षिणायन भनेको देवताको रात भनिएका कुरा हृदयंगम गर्न जरुरी छ । भगवान विष्णुलाई हिन्दुहरु भगवान नारायण मानेर पूजा गर्दछन् भने बौद्धहरु विष्णुकान्तलोकेश्वर मानेर पूजा गर्दछन् यो कुरा सर्बविदित नै छ । सूर्य उत्तरायण हुँदा भगवान नारायण अर्थात् विष्णुकान्तलोकेश्वर जागा भइ रहने हुनेहुँदा आसुरीशक्तिले टाउको उठाउन नसक्ने भइ आफै शिथील हुने र भगवान नारायण शयन गर्दा आसुरी शक्ति जागृत हुने हुनाले हरिबोधनी भन्दा अघि सम्पूर्ण आसुरी शक्ति नाश भइसकेको मानी आएका हौं । त्यही भएर दशैंमा देवीभगवती आवाहन गरेर आसुरी शक्ति सबै नाश गराउनु परेको हो र तिहारमा आयु सुरक्षा गर्नु परेको हो । यो क्रमको शुरु गथाँमुगदेखि शुरुभएर हरिशयनी एकादशी सम्म चलीरहने क्रम भएकोले गथाँमुगलाई सृष्टिको क्रम शुरु भएको मानिएको हो । यो कुरालाई आस्तिकहरु विश्वास गर्छन् भने नास्तिकहरु गर्दैनन् ,यसमा आश्चर्य मान्नु कुनै जरुरी ठानिएको छैन ।
गुंपुन्ही(श्रावणशुक्ल पूर्णिमा)
गुंपुन्हीको रहस्य विशेष गंभीर किसिमको छ । कल्पारम्भ मानिएको गथाँमुगको दिनमा त्रितत्व खिंचेर जागृत अवस्थामा ल्याउने कार्य शुरु गरिने हुनाले प्रेतात्मा भएर रहेको सूक्ष्मशरीर त्रितत्वमा मिल्न थालेपछि श्रावण शुक्ल पूर्णिमाको दिनमा सूक्ष्मशरीरमा भएको पञ्च ज्ञानेन्द्रीय र मन समेत ६ तत्व र त्रिगुण तत्व समेत गर्दा ९ तत्वले परिपूर्ण हुन आउने दिन भएको हुनाले यसलाई नेवारसमुदायले गुंपुन्ही भन्ने गरेको हो ।
मानिस मरे पछि प्रेतात्माले शरीरमा भएको पञ्च ज्ञानेन्द्रीय र मन गरी ६ तत्व लिएर जान्छ भन्ने कुरा गीताको १५ अध्याय को ७ औं श्लोकमा भगवान श्रीकृष्णले भन्नु भएको भनेर भागवद्गीतामा पाइन्छ । पञ्च ज्ञानेन्द्रीय भनेको आँखा, नाक ,कान,जिभ्रो र छाला यी पाँच इन्द्रीयलाई भनिन्छ । मानिस मर्दा यी पाँच इन्द्रीयले कुनै काम गर्दैन ।
यसरी ९ वटा तत्व मिल्न आउने दिन श्रावण शुक्ल पूर्णिमा भएको हुनाले यी तत्वको प्रतीक ९ नौथरिको गेडागुडीलाई झोल हालेर पकाउने पक्वानलाई क्वाति भनिन्छ । यसमा कम्तिमा ९ थरि गेडागुडी हुनै पर्ने जरुरी छ । आजकाल फर्माइसमा ९ थरि भन्दा बढी गेडागुडी मिसाइन्स तर त्यो अनर्थ भने होइन । किनभने जति नै थरि भए पनि क्वातिमा ९ तत्व मिलेको प्रतीक हो । शक्तिको ९ प्रकृति तत्वको प्रतिनिधि स्वरुप कम्तिमा ९ वटा बौद्ध विहारहरु दर्शन गर्न जाने प्रचलन चलेको हो । यसमा पनि फर्माइस गरी प्रत्येक विहार दर्शन गर्न एक एक जोर नयाँ लुगा लगाउने पनि गर्दछन् । जे होस् यसबाट पनि ९ वटा तत्वलाई के हिन्दु ?के बौद्ध? सबै नेवारसमुदायले आत्मसात गरेको संकेत हो ।
त्यस्तैगरि ऋषितर्पणी पनि सूक्ष्मशरीरलाई स्थूल शरीरमा परिणत गर्ने नै क्रिया हो । किनभने ऋषिहरु ब्रम्हाको मुखबाट उत्पन्न भएको हो र ऋषिहरुले पनि सूक्ष्मशरीरलाई स्थूलशरीरमा ल्याउन पञ्चतत्व जागृत गर्ने कामलाई सक्रीय गराएको हुनाले यो दिन ऋषितर्पणी भनेको हो र यसलाई रक्षाबन्धन पनि भन्ने गर्दछ । उक्तदिन ब्राम्हणहरुलाई ऋषि मानेर दान दक्षिणा दिई रक्षाबन्धन भनी डोरो बाँध्ने चलन चलीआएको हो ।
यही रक्षाबन्धन अर्थात् गुंपुन्हीको दिन किसानहरुले व्याँ जा नकेगु भनी खेतमा भ्यागुतोलाई भात चढाउन जाने गर्दछ । यसको अर्थ र अभिप्राय भनेको भ्यागुतोलाई पृथ्वीको दूत मानेको हो । किनभने भ्यागुताले कृषकहरुको धान बालीलाई सपार्ने र बचावट गराइ दिने काम गर्छ भन्ने विश्वास रही आएको छ ।
ब्रम्हाले सृष्टिकोक्रम कहाँबाट शुरु गरुँ भनी सोच विचार गरी नेपालमण्डललाई चुने जसलाई अम्विकाखण्ड पनि भन्ने गर्दछ । यही अम्विकाखण्डको उत्तरबाट शुरु गरेको भन्ने विश्वास मुताविक गोसाईंकुण्ड (शिलुतीर्थ)मा ठूलो मेला लाग्छ । सबैजना शिलु तीर्थ पुग्नसक्छ भन्ने हुंदैन । अतः गोसाईकुण्ड जान नसक्नेहरु पाटनको कुम्भेश्वर दर्शन गरी कुण्डमा स्नान गर्ने गर्दछन् । जन विश्वासअनुसार गोसाईकुण्डमा खसेको लोटा कुम्भेश्वरको कुण्डमा फेला परेको र गोसाईकुण्ड कै जल कुम्भेश्वरमा गुंपुन्हीको दिन मै प्रादुर्भाव हुन आएको भनी मान्दै आएका छन् । यही समयमा शिलुको गीत अति करुणरसमा गाउन लगाइन्छ किनभने करुणरसको रागको देवता भगवान हयग्रीव हो । यो देवताको उत्पत्ति भएको दिन पनि गुंपुन्हीकै दिन भएको हो भन्ने विश्वास रही आएको छ । यति मात्र होइन गुंपुन्हीको महिमा गाथा यति धेरै छ कि बयान गरेर साध्य छैन ।
जुनबेला नेपालमण्डल नागह्रदका रुपमा ठूलो ताल बनेर रहेको थियो । त्यस तालको बीचबाट कमलको फूल उत्पत्ति भइ त्यस कमलको केशरबाट स्वयम्भु भगवानको ज्योति प्रादूर्भाव भएको दिन पनि गुंपुन्ही(श्रावणशुक्ल पूर्णिमा) नै हो । त्यही भएर यस दिन स्वयम्भु भगवानमा पनि मेला लाग्दछ । चैत्रशुक्ल पूर्णिमाको दिनमा विपश्वी तथागत बुद्धले कमलको बीजारोपण गरेका हुन् र त्यस बीजबाट गथाँमुगको दिनमा फूल अंकुरित भएर गुंपुन्हीको दिनमा पूर्ण रुपले फक्रेर त्यसमाथि स्वयम्भुको ज्योतिरुप प्रकट भएको हुनाले गुँलाथ्व पारुदेखि गुँलागा अमावास्यासम्म एक महिना स्वयम्भुमा मेला लाग्ने भएको हो । यसरी गुँलाथ्व र गुँलागा गरी एक महिना स्वयम्भु भगवान दर्शन गरी पुण्य कमाउने महिनालाई नै गुँला भनेको हो ।
नेपालसंवत्को शुक्लादि मानको क्यालेण्डरअनुसार कार्तिकदेखि गुँला १० औं महिना हुन्छ यो कुरा औंला भाँचेर गने पनि अथवा जसरी गने पनि १० औं महिना नै हुने देखादेख पनि श्रावण भनेको ९ औ महिना भएकोले गुँला भनेको हो भन्ने जस्ता वाहियात दुष्प्रचार गर्नेहरु पनि नदेखिएको होइन । यस्तो दुष्प्रचार गरी लेखिएको जति सयमा सय ठीक ठान्ने र सही कुरा यो हो है भनेर दिइयो भने सयमा ९९ गलत भन्ने पूर्वाग्रहपेक्षीहरु पनि अहिले देखिन थालेका छन् । यसरी पूर्वाग्रहीले त गुँला भनेको नवौं महिना भएकोले गुँला भनेको भनी लेख्दै आए , पत्याउँदै आए भने रे ! भनौ अरुको पनि विवेक किन हराएको होला ? यो अति ताज्जुव कै विषय छ ।
सापारु (भाद्रकृष्ण प्रतिपदा)
शुक्लादि मानको अमान्तमान नेपालसंवत्को क्यालेण्डरअनुसार गुँलापुन्ही ,गुँपुन्हीको भोलिपल्ट गुँलागा पारु आउँछ, यसलाई नेवारसमुदायले सापारु भन्ने गर्छ । यसलाई पूर्णिमान्त मानको विक्रमसंवत्को क्यालेण्डरअनुसार यसलाई भाद्रकृष्ण प्रतिपदा भन्ने गर्दछ । जुन घरमा मान्छे मरेको छ त्यो एक वर्ष भएको छैन भने ती घरबाट गाइजात्रा लानुपर्दछ भन्ने मात्र थाहा छ तर के कारणले गर्नु परेको हो सायद धेरैलाई थाहा छैन । बौद्ध मार्गीहरुले यस्तो गर्नु नपरेकोले उनीहरुको नजरमा गाइजात्रा भनेको बुद्धलाई आएको मार हो भनी हेय भावले हेर्ने र गलत प्रचार गर्दै आएको देखिन्छ । नेपाल धर्मसहिष्णु मुलुक भएकोले हिन्दुले बौद्ध , बौद्धले हिन्दुको आलोचना गर्दैन र गर्नु हुँदैन । किनभने हिन्दुहरु पनि एक दिन मर्नु पर्छ र बौद्धहरु पनि एक दिन मर्नु पर्छ त्यसैले मृतात्माको सद्गति गरेको कामलाई बुद्धलाई आएको मार भनी हेय ढंगले प्रचार गर्नु वाञ्छनीय बिल्कूलै होइन ।
गाइजात्रा लग्नु पर्नाको अर्थ र अभिप्राय यस प्रकार छ ।
श्रावण शुक्ल पूर्णिमाको भोलिपल्ट पृथ्वीमाताले गाईको रुप धारण गरी प्रलयकालमा अकाल मृत्यु भएर प्रेत आत्मा भएर भड्किरहेका सारा प्रेतात्माको उद्धार गराइ दिने उद्देश्यले सबैतिर निरीक्षण गरेको दिन भएकोले गोयात्रा, गाइजात्रा अर्थात् नेपालभाषा भाषीले सापारु भनेका हुन् भन्ने विश्वास रहीआएको छ । प्रलयकालमा अकाल मृत्यु भएका मात्र होइन मृतात्मा सबै निर्गुण रुप भएर रहेको प्रेतात्मालाई सगुण रुपमा ल्याउने भाव राखी पृथ्वीमाताको प्रतीक गाईको सट्टा गाइको मुहार चित्र, संसार रुपी पिंजराको प्रतीक पेरुंगोमा गाइको चित्र टाँसी पछाडि सगुणको भावको प्रतीक गणेशको चित्र त्रिगुणलाई एकै ठाउँमा राखेको प्रतीकमा छ्वालीले बनाएको तीनसिंगको मुठा र ध्वजा पताकाले सिंगारी भएसम्म आफ्नै परिवारको केटा बच्चा नभए अरु परिवारको केटा बच्चालाई शिवशक्तिको प्रतीक स्वरुप जुंगा गाजल लगाई सिंगारिन्छ । पोसाकमा खजूलँ लुगा, जामा पटुका , पटुका दुइतिर लत्रिने गरी लगाइन्छ । यसरी दुई तिर लत्रिने भनेको इडा पिंगलाको प्रतीक मान्ने चलन छ । यसरी गाइको प्रतिरुप बनाइ सकेपछि उसलाई शिवशक्तिको भावले सगुन दिएर देशयात्रा गर्न पठाउने गरिन्छ । यात्रा गरी फर्के फछि मुकुट नजिकको गणेशस्थानमा छोडिन्छ र घरमा लसकुस गरी भित्र्याई सगुन दिने चलन छ । कसैकसैले खुद गाईलाई नै पठाउने पनि गरिन्छ तर ती गाइको तीनवटा सिंग हुँदैन त्यही भएर त्यसलाई पूरक भएको मानिंदैन भन्ने पनि जनविश्वास रही आएको छ ।
यसरी पृथ्वीमाता स्वयं प्रेतात्माहरुको उद्धार गरी पुनः मनुष्य जुनिमा ल्याउन जुन किसिमले भ्रमण गरेको हो त्यसैको प्रतीकमा चलेको सापारु यात्रा हो । सम्पूर्ण पे्रतात्मा भने पछि को हिन्दु को बौद्ध कोही छुट्टिंदैन, प्रेतात्माको बीचमा तँ हिन्दु म बौद्ध भन्ने भेद छुट्टिंदैन । यसरी पृथ्वीमाता नै स्वयं प्रेतात्माको उद्धार गराउन आउनु भनेको सम्पूर्ण प्रेतात्माको लागि खुसी हुने कुरा भएकोले प्रेतगण खुसी भएको प्रतीकमा ख्यालः निकाल्ने र उनीहरुको बीचमा हास्यव्यङ्ग्य गरी दुःख बिर्साउने क्रियाकलापको नमुना हो । शोकमा डुबीरहेका मान्छेहरुलाई एक्कासी हँसाइदिने काम ख्याली हास्य व्यङ्ग्यले गराइदिने हुनाले शोकाकुल परिवार मात्र होइन प्रेतात्मा समेत खुसी हुन्छ भन्ने जनविश्वास रही आएको छ । अन्ततोगत्वा यसरी गाइजात्रा निकाल्नुको अर्थ र अभिप्राय भनेको त्रिगुण तत्वलाई एकत्रित गरी पञ्चमहाभूतमा परिणत गराइदिने क्रिया हो । बौद्ध मार्गीहरुले गाइजात्रा निकाल्नु नपरे पनि महिना दिन सम्म स्वयम्भुमा गई पञ्चबुद्धको दर्शन गरी पञ्चमहाभूतमा परिणत गराउने क्रिया नै अप्रत्यक्ष रुपले गर्दै आएको प्रतीक हो ।
चुनौति
यसपालीको पञ्चाङ्ग पात्रोमा २०८१ साल भाद्र ३ गते सोमबार ऋषितर्पणी,रक्षाबन्धन, पूर्णिमाव्रत जनैपूर्णिमा भनेर दिइएको छ । भाद्र ४ गते गाइजात्रा(सापारु) भनेर दिइएको छ । यसतो अवस्थामा कुनै चुनौति खडा हुँदैन तर गत वर्ष २०७९ र २०८० सालको पञ्चाङ्ग पात्रोमा जस्तै जनैपूर्णिमा र सापारु एकै दिन परेको देखाइ दियोभने चाहिँ चुनौति खडा हुने गर्छ । त्यस्तै चुनौतिले गर्दा काठमाडौं उपत्यकाको तीन शहरमा तीन किसिमको धार उत्पत्ति भएको विषमपरिस्थिति हाम्रो स्मृतिपटलबाट अझै बिस्मृत भएको छैन । पहिले जे हुनु भयो तर अब हामी नेवार समुदाय त्यसरी बिभाजित हुन नपरोस् भन्ने नै हो ।
वि.सं २०७९ सालको पात्रोमा प्रतिपदा टूट भएको र विहान ७ः२५ सम्म पूर्णिमा त्यसपछि प्रतिपदा भनेर देखाई एकैदिन गुँपुन्ही र सापारु देखाइ दिए यसले धेरै अन्यौलमा पर्न गए । त्यस्तैगरि २०८० सालको पात्रोमा पनि प्रतिपदा टूट देखाएर एकै दिन गुँपुन्ही र सापारु मनाउन लगाइयो । यसले जनमानसमा अति अन्यौलता सिर्जना भएर उपत्यकाको तीनशहरमा तीन किसिमले मनाइ दिए । वास्तवमा यसले क्रिया कर्म पूरक भएको मान्न सकिन्न । यस्तो योग अहिले मात्र होइन हाम्रा बावुबाजे जिज्यु बाजेको पालामा पनि आए होला त्यतिबेला उहाँहरु कत्ति पनि बिचलित भएथ्यो जस्तो लाग्दैन । कथंकदाचित त्यस्तो बेला अन्यौल होला जस्तो भयो भने बिहान ५ः३३ मा सूर्योदय भएपछि दियो अथवा देवा बालेर त्यसलाई पूर्णिमाको बत्ती भनेर पूर्णिमाको दिनमा गरिनुपर्ने सारा काम नसकिएसम्म त्यो बत्ती निभ्न दिंदैन । भोलिपल्ट पनि सूर्योदय समय हेरेर दियो वा देवामा बत्ती बाले पछि प्रतिपदाको काम नसकिएसम्म बत्ती निभ्न दिंदैन । यस प्रकार हाम्रा पिता पूर्खाले समाधानको बाटोदिएर गएको हुनाले हामी नेवारसमुदाय अहिले पनि विचलित हुनु परेको छैन तर अहिले केही जान्नेसुन्ने ज्योतिष पण्डितहरुको उदय भएकोले उनीहरुको कुरा सुन्ने र उनीहरुको लहेलहैमा लाग्नेहरु मात्र विचलित हुने गरेका छन् । हामी नेवारसमुदाय पिता पूर्खाले देखाएको बाटो र पदचिन्हमा विश्वास गर्ने हुनाले त्यही बाटो पहिल्याउने भएका हुनाले यस्तो मामलामा विचलित पनि हुनु पर्दैन र अन्यौल हुनु पनि परेको छैन ।
निष्कर्ष
समग्रमा यसो नियाली हेरियो भने काठमाडौं उपत्यका भन्दा बाहिरका नेवार समुदाय जो पछि फेरि उपत्यका मै आएर बसोवास गरे पनि सयौं हजारौं वर्ष देखि उपत्यकामा बसेका नेवारसमुदायको आचरण भन्दा फरक नै हुने गरेको पाइन्छ । हजारौं वर्ष देखि उपत्यकाका नेवारसमुदाय कहलिएका नेवार विशुद्ध नेवार र बाहिर बाट आएर थरले नेवार हो तर आचरण नेवार नभएकाहरु बीच भिन्नता छुट्याउने भनेको चाडबाड मनाउने मै देखिन्छ । किनभने विशुद्ध नेवारहरु पिता पूर्खाले सिकाएका पदचिन्ह मै हिडीं रहने हुनाले उनीहरुमा समस्या नै छैन भने बाहिरबाट आएकाहरुले एताउता जोशी पण्डितहरुलाई सोध्न थाल्छ र उनीहरुले तिथि नाघीसकेपछि कहाँ हुन्छ भने पछि त्यसमै पत्याउन थाली हाल्छ । विशुद्ध नेवारहरु चाडबाड मान्दा घडिपला हेरी रहँदैन सूर्योदयले जे तिथि लियो अर्को सूर्योदय नभएसम्म त्यही तिथि कायेम हुन्छ भन्ने सिद्धान्तमा अडिग छ । यसरी अडिग रहने गरेको हिजो पनि थियो आज छँदै छ र भोलि पनि भावि सन्ततिलाई त्यही सिकाएर जाने हुनाले त्यतिबेला पनि अडिग नै रहने विश्वास छ । उपत्यका भन्दा बाहिर बसेकाहरु पहिले नै दिग्भ्रमित भइसकेको हुने हुनाले भावि सन्ततिलाई के सिकाउने ? प्रश्न उठ्छ । उनीहरु स्वयं आफैलाई थाहा नभएर तीन शहरमा तीन थरि गाइजात्रा देखा पर्न गएको कारण पनि यही हो । हरेक चाडबाडहरुको सिद्धान्त भनेकै परम्परा हो । अतः परम्पराबाट विचलित हुने कोसिस नगरौ ।









