
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री जम्मरकट्टेलले सूचना दिएका छन् ।
सत्ता साझेदार दलका नेताहरूसँगको छलफलपश्चात मुख्यमन्त्री जम्मरकट्टेल साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुग्नुभएको बागमती प्रदेशसभामा माओवादी केन्द्रका बागमती प्रदेश सभाका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।
सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट सहभागी पाँचजना मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ । गत २०७९ पुसमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको समर्थनमा माओवादी केन्द्रका नेता जम्मरकट्टेल मुख्यमन्त्री बनेका थिए । तर केन्द्रमा भएको सत्तागठबन्धन परिवर्तनसंगै त्यसको असर बागमती प्रदेशमा पनि परेको छ ।




