
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पदबाट राजीनामा दिएका छन् । शनिबार (साउन ९) प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् ।
उनले सत्तासाझेदार दुई दलबीचको सहमतिको अवधि सकिएसँगै राजनीतिक विश्वासको वातावरण कमजोर बन्दै गएको र अन्ततः अविश्वासको प्रस्ताव दर्ता भएको पनि बताए ।
दुई दलबीचको सहमति कार्यान्वयनका निम्ति आफूले निरन्तर पहल गरेको उनले जिकिर गरे । “दुई पार्टीको सहमतिको समयावधि सकियो । यसको बारेमा पहल गर्नुहोस् भनेको थिएँ । पहिलेको भन्दा अहिले नकारात्मक कुरा लेख्न कम भएको छ । आजको मितिसम्म आँच नआउने गरी कम गर्ने अवसर पाइयो,” उनले भने ।
गएको असार ३२ गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले संयुक्त रूपमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
