
काठमाडौँ ।नेपाली कांग्रेसले महाधिवेशन केही दिन सार्ने तयारी गरेको छ ।
अविरल वर्षापछि सिर्जित विपद्का कारण केही जिल्लामा अधिवेशन बाँकी नै छ । त्यसैले महाधिवेशन केही दिन सर्नसक्ने उपसभापति पुष्पा भुसालले बताइन् ।
यही विषयमा निर्णय गर्न कांग्रेसले आज बैठक बोलाएको छ । आजको बैठकले महाधिवेशनको मिति सार्ने विषयमा निर्णय गर्नेछ ।
“यही विषयमा निर्णयका लागि हुन सक्छ । जिल्ला अधिवेशनहरु पनि बाँकी नै रहेकाले केन्द्रीय महाधिवेशन केही दिन पर सर्न सक्छ,” उनले भनिन् ।
कांग्रेसले १५औँ महाधिवेशन असोज १६–१९ गतेका लागि तय गरेको छ ।
महामन्त्री प्रदिप पौडेलले महाधिवेशनको मितिबारे स्पष्ट पार्दै भने, “हामीले धेरैदिन सार्न लागेका होइनौँ, बैठक बोलाएका छौँ । उद्घाटनको मिति एक वा दुईदिनसम्म सार्न सकिन्छ कि भन्ने विषयमा छलफल भएको हो । त्यहाँभन्दा पर सार्न सक्ने अवस्था पनि छैन । उद्घाटन मितिमात्रै परिवर्तन गर्ने कि भन्ने विषयमा छलफल भएको हो ।”
कांग्रेसले असोज १६ गतेको महाधिवेशनका लागि अन्य दलका प्रमुख नेतालाई पनि निमन्त्रणा पठाइसकेको छ ।


