
काठमाडौं । नियमित कप्तान लियोनल मेसीबिनै मैदानमा उत्रिएको इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा टोरोन्टो एफसीविरुद्ध ३–१ को सहज जित निकालेको छ ।
कोपा अमेरिका–२०२४ को फाइनलमा खुट्टामा चोट बोकेपछि मेसी मैदानमा उत्रिएनन ।बिहीबार मियामीलाई जित दिलाउन फेडेरिको रेडोन्डोले दुई गोल गरे । डियागो गोमेजले एक गोल थपे । टोरोन्टोको लागि डेरिक एटिनेले एक गोल गरेका थिए ।
खेलको ४३औँ मिनेटमा गोमेजले गोल गरेपछि मियामीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५३औँ मिनेटमा रेडोन्डोले मियामीको अग्रता दोब्बर बनाए । ५९औँ मिनेटमा रेडोन्डोले नै गोल गरेपछि मियामी ३–० ले अगाडि थियो । टोरोन्टोका एटिनेले ७९औँ मिनेटमा एक गोल फर्काएका थिए ।



