
अनावरण
विजय सापकोटा समकालीन समाज र व्यक्तिका यथार्थ कथा लेख्न रुचाउने यथार्थवादी कथाकार हुन् । समाज, राजनीति भित्र देखिएका बिद्रुप र संवेदनशील पाटोलाई कथानकतामा ढाल्छन । उनी आधारभुत मान्छेका बिभिन्न सवालहरुमा कथा बुन्छन ।अत्यन्तै साना तर जटिल कथाबस्तु भएर पाठकहरुलाई पढौ पढौ लाग्ने कथा लेख्न सक्नु कथाकारको विशेषता हो । अनावरण कथा सङ्ग्रहमा आरेमको ट्याङ्का देखि मुक्ति सम्म ११ वटा कथाहरु समेटिएका छन ।
यस्तै नेपाली समाजलाई नै झटारो दिने अर्को दमदार कथाहरु छन् । शसस्त्र द्धन्दकालीन नेपाली समाजको परिवेश झल्काउने कथा बाहिर उज्यालो थियो होस कि जंगली फूल शीर्षकको कथामा एउटी गाउँकी चेलीको सपना कसरी कुण्ठित हुन्छ अनि कसरी मर्छ भन्ने दर्शाउने कथा होस यहि समाजका कथा हुन् । समाजमा लुकेका तर कसैले वास्ता नगरेका विषयमा गहिरिएर कथा लेख्ने सामथ्र्य कथाकारको देखिन्छ । सामाजिक जीवनका संवेदनशील पक्षहरुलाई मुख्य विषय बनाएर महत्वहिन ठानिएका विषयको गहिराइमा डुबेर कथा बुन्न सक्ने कथाकारको खुवी देखिन्छ ।अकल्पनीय विन्दुमा लगेर कथाहरु टुँगिएका छन् जसले पाठकलाई मज्जैले तान्न सक्छ ।
हाम्रो समाज, राजनीति भित्रका इमानदार पात्रको दुखद देहबसान, बेरोजगारी ,गरिवी,हाम्रा सामाजिक सम्बन्धभित्रका जटिलता लगायतका विशिष्टता भित्र कथाहरु लेखिएका छन । केहि लामा जस्ता लागे पनि कथाहरुले पाठकलाई तान्दै लान्छ । पट्यार लाग्दैन ।
यो कथा सङ्ग्रहको दोश्रो सस्करण कलम प्रकाशनले हालै प्रकाशित गरेको हो ।
घाममाथि घामकै किरण
उर्मिला कोइरालाका समाज,परिवर्तन,नारीवाद र समसामयिक विषयहरुका कविताहरुको संगालो हो घाममाथि घामकै किरण । ‘आँखाको लैङ्गिकतामा जिजीविषाको लस्कर’, ‘घाममाथि घामकै किरण’, ‘दिलको दराजमा संवेदनाको राखनधरन’ र ‘समयसँग समयको सङ्घर्ष’ गरी चार भागमा विभाजित छ । । िप्रत्येकमा ११र११ थान विविध शिर्षकका गरी जम्मा ४४ थान कविता यसकृतिमा पढ्न पाइन्छ । हाम्रा अन्तरह्रदयहरुलाई स्पन्दन गर्नसक्ने कविताहरु यस कृतिमा छन् । समाजमा बढ्दै गएको विकृति विसंगति र अमानवियताको उजागर गरेर कविता कोरिएका छन् । कानूनत् पाउनुपर्ने अधिकार नपाउँदाको आवाज बोलिएको छ । महिलाको विभिन्न जिम्मेवारी बोधलाई आत्मसाथ गर्दै नारीको पक्षमा दर्विलो आवाज उठाइएका नारीबादी कविताहरु यस कृतिमा बढी नै पढ्न पाइन्छ । यसमा प्रेम,मानवता,प्रकृति,अधिकार ,सम्बन्धका कविताहरु देखिन्छन् । नारीलाई गलत नियतले हेर्नेप्रति खवरदारी पनि कवितामा गरिएको पाइत्छ । विदेश पलायन हुँदाको दुरावस्थालाई उजागर गरिएको छ । विषयगत विविधताका कविताहरु सरल वाक्य वुनोट,मिठा शब्द चयन,सुवोध्य बिम्बहरुले भरिएका छन् । मूलत कविताहरु प्रगतिवादी लाग्छन् । यसैले कमजोर बर्गका पक्षमा लेखिएका देखिन्छ ।
कविताहरु सहज छन् । दुव्र्याेध्य छैनन् । प्रतिक र अलंकारको समुचित प्रयोगले भरिपुर छन् । कविताको कथ्य र भाव अनुरुपको भाषा छ । कवितामा शिर्षक चयन,केन्द्रिय कथ्य,संरचना,भाषाशैली,बिम्बलंकार सबैको प्रयुक्तिले कविता सुन्दर लाग्छने । समसामयिकता कविताका विशेषता लाग्छन् । विषयको भावभूमी र उठान गरिएका कुरा सबै सामयिक छन् ।
प्रस्तुत कृति शब्दमिडिया प्रा.लि.ले प्रकाशन गरेको हो ।
युङफ्राउ
डायस्पोरिक साहित्यकार कृष्ण बजगाईं आख्यान,नियात्रामा चर्चित नाम हो । हालै उनको युङफ्राउ नियात्रासङ्ग्रह बजारमा आएको छ । यसमा स्विजरल्याण्ड,ग्रिस,पोर्चुगल र बेलायतका सत्ताइसवटा नियात्राहरु समावेश गरिएको छ । निजात्मक शैलीमा रहेर लेखिएका नियात्राहरुले विभिन्न स्थानको जानकारी पाठकहरुलाई गराउँछन् । स्थानीयतामा रोचक एवं रोमाञ्चक वर्णनले पाठकको ध्यान खिच्न सामथ्र्य राख्छन् । आफ्ना रंग र अनुभुतिले यात्रामा पाइएका सूक्ष्म विषयहरु,त्यहाँका ऐतिहासिक तथ्यहरु सरल सहज,सरस भाषाशैलीमा लेखिएका छन् ।
यसमा समावेश नियात्राहरुमा विशेषत घुमेका स्थानहरुका प्राचिन संस्कृति, इतिहास,त्यहाँका साहित्यकार, लगायतलाई स्मरण गर्ने, तिनका समाधीस्थलमा अध्ययन गर्ने लगायतका सन्दर्भहरु उल्लेख गरेका छन् ।यसैगरी विभिन्न ऐतिहासिक संग्रहालयहरुको समेत अबलोकन गरी त्यहाँको तथ्यात्मकतामा नियात्रा खिपेका छन् । यसमा समुन्द्रदेखि हिमालसम्मका रोचक र रोमाञ्चकारी यात्रा बृतान्त पढ्न पाइन्छ ।
उनको यो पाँचौ नियात्रा कृति हो । भूँडीपुराण प्रकाशनले प्रस्तुत नियात्रासङ्ग्रह प्रकाशित गरेको हो ।









