
काठमाडौं । साहित्यकार खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ आज काठमाडौंमा लोकार्पण गरिएको छ ।
साहित्यिक पत्रकार संघको आयोजनामा दाहालको भूमिकासंग्रह ‘सिर्जनामा दृष्टि’ कृतिको लोकार्पण गरेको हो ।
संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि, बरिष्ठ इतिहासविद् प्रा.डा.सुरेन्द्र केसी, कृति सर्जक महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ठ अतिथि विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, बरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, सामालोचक प्रा.डा कृष्णप्रसाद दाहाल, समिक्षक डा.यज्ञेश्वर निरौला, गीतकार एवं समाजसेवी शोभित उप्रेती, प्रा.डा. गोविन्दमान सिंह कार्की, उषा दाहाल लगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो ।
गीतकार एवं निर्देशक गणेश सुवेदीले सहजीकरण गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि प्रा.डा.केसीले दीप प्रज्ज्वलन गरेर समुद्घाटन गर्नुभएको थियो । समारोहमा मिलाप प्रकाशनका अध्यक्ष कृष्ण भुसालले स्वागत मन्तब्य सहित कृति प्रकाशनका बारेमा आफ्ना कुरा राख्दै प्रकाशक संस्था जनपक्ष प्रकाशन र यसका प्रमुख साहित्यकार पुण्यप्रसाद शर्मालाई धन्यवाद दिनुभएको थियो ।
कृतिको समीक्षात्मक टिप्पणी गर्दै डा. निरौलाले स्रष्टा दाहालको मूल विधा काव्य भएपनि उहाँले अन्य क्षेत्रमा पनि त्यतिकै सशक्त रुपमा कलम चालाउदै आएको बताउनुभयो । उहाँले ‘स्रष्टा दाहालको मूल विधा काव्य हो तर उहाँले अन्य विधामा पनि कलम चलाउँदै आउनुभएको चर्चा गर्नुभयो ।
स्रष्टा दहालले कृति कसरी प्रकाशन भयो भन्ने बारेमा आफ्नो भनाइ राख्दै यसको प्रकाशनका लागि जनपक्ष प्रकाशन सिक्किम र यससँग जोडिएका सबैमा धन्यवाद दिनुभएको थियो । उहाँले आफ्नो मूल विधा काव्य नै रहेको स्वीकार गर्दै नयाँ उपन्यासको तयारीमा पनि आफू रहेको जानकारी दिनुभयो । उहाँले साहित्य लेखनमा शब्दको शिल्पीले पूर्र्र्णता दिने बताउनुभयो ।
यस्तै, समालोचक प्रा.डा. कृष्णप्रसाद दाहालले स्रष्टा दाहालको ‘स्वेतपत्र’ महाकाव्यले एउटा उचाई प्राप्त गरेको बताउँदै पाठकले उहाँसँग त्यस्तै अन्य कृतिको अपेक्षा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्रष्टा दाहालले नियात्रा, उपन्यास र कवितामा आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ । उहाँका सबै कृति सशक्त छन् । अझ मलाई मन परेको कृति ‘स्वेतपत्र’ महाकाव्य हो । यसको उचाइमा अन्य कृतिको पनि पाठकले अपेक्षा गरेका छन् ।’ उहाँले ‘सिर्जनामा दृष्टि’मा स्रष्टा दाहालले भूमिका लेखनमा कृतिलाई न्याय गरेको आफूले पाएको बताउनुभयो ।

समारोहमा बरिष्ठ समालोचक प्रमोद प्रधानले स्रष्टा दाहालको व्यक्तित्व र कृतित्वका बारेमा आफू परिचित रहेको बताउँदै उहाँको नियात्रा ‘यात्राको सिकर्नीमा’मा आफूले समीक्षा लेखेको सम्झना गर्दै उहाँ सधै सक्रिय तर चर्चामा आउन नचाहने साहित्यकार रहेको आफूले पाएको बताउनुभयो ।
वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा. पुरुषोत्तम दाहालले स्रष्टा दाहालसँग आफू सानो छँदादेखि नै परिचित भएको बताउनुभयो । प्रकाशक संस्था जनपक्ष प्रकाशनका प्रमुख पुण्यप्रसाद शर्मासँग आफ्नो बनारसमा भेटको सम्झना गर्दै प्रा। दाहालले नेपाली साहित्यको श्रीवृद्धिमा सिक्किम, दार्जिलिङको ठूलो योगदान रहँदै आएको बताउनुभयो ।
विशिष्ठ कलाकार मदनदास श्रेष्ठले भाषा, साहित्य, कला र संस्कृतिले हामीलाई जीवन्त बनाइ राख्ने बताउँदै यसको संरक्षण, सम्बर्द्धनमा सबैले आ–आफ्नो स्थानबाट भूमिका निभाउनुपर्ने धारणा राख्नुभयो ।
प्रमुख अतिथि वरिष्ठ इतिहासविद् केसीले समसामयिक देशको परिस्थितिको चर्चा गर्दै देशमा देखिएका तमाम विकृतिलाई पनि सर्जकहरूले उजागर गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले विभिन्न समयमा तमाम घटनाक्रमको उदाहरण दिँदै सर्जकहरूले त्यसको खबरदारी गर्नुपर्ने बताउनुभयो ।देशको राजनीतिक परिस्थिति राम्रो हुँदा मात्र सबैतिर राम्रो हुन्छ, कठिन परिस्थितिमा पनि सर्जकहरू निरन्तर आफ्ना सधानामा तल्लिन रहेका छन् तर राज्य निरीह छ । हामी सबैले आ–आफ्नो कर्तव्य पुरा गर्नुपर्ने बताउँदै देशको मुख्य समस्या भनेको राइट म्यान राइट प्यालेस नहुँनु हो भन्नेमा ठोकुवा गर्नुभयो ।
समारोहका सभापति साहित्यकार राधेश्याम लेकालीले सर्जक दाहाललाई बधाई तथा धन्यवाद दिँदै स्रष्टा सर्जकले आफ्नोे सिर्जनमा मौलिकतालाई प्राथकितमा राख्नुपर्ने धारणा राख्नुभयो । उहाँले पछिल्लो समयमा भएका साहित्यिक गतिविधि, सम्मान र पुरस्कारको चर्चा गर्दै साहित्यिक पत्रकार संघले त्यसको समन्वय गर्दै अघि बढिरहेको जानकारी गराउनुभयो

सो समारोहमा सर्जक दाहाललाई सम्मान पनि गरिएको थियो । उहाँलाई प्रमुख अतिथि, अध्यक्ष र अन्य अतिथिहरूले खादा, माला, दोसल्ला ओडाएर र टोपी पहिराएर सम्मान गर्नुभएको थियो । कृतिको सम्पादन रमेश दाहालले गर्नुभएको छ ।
स्रष्टा दाहालका कवितासंग्रह ‘श्रद्धाञ्जलि’, खण्डकाव्य ‘रश्मी’, काव्य ‘योद्धा’, कवितासंग्रह ‘हावर्डको चौतारीमा’, महाकाव्य ‘स्वेतपत्र’, कवितासंग्रह ‘म त बन्दी भएको छु’, नियात्रा ‘यात्राको सिकिर्नी’, उपन्यास ‘अहोरात्र’ जस्ता कृति प्रकाशित छन् । उहाँको मिलाप, जनमत, बगर जस्ता पत्रिकामा मा कभर स्टोरी प्रकाशित हुनुका साथै ‘नव छायावादको छवि’, ‘खेमनाथ दाहाल सिर्जना र मूल्याङ्कन’, ‘समालोचना वृतमा खेमनाथ दाहाल’ जस्ता कृति प्रकाशित छन् ।





