
समस्याको महसूस नभइकन कसैले पनि विकल्पको खोजी गर्दैनन् । भरखरै २०८१ साललाई बिदा दिएर २०८२ सालको आगमनलाई स्वागत गरेर बसेका छौं । यस्तैगरि हरेक वर्ष नयाँ वर्षको स्वागत र गतवर्षलाई बिदा दिएर आएका हौं । यस्तै नयाँ वर्षलाई स्वागत गर्ने र भुक्तवर्षलाई बिदा दिनु मात्रै यसको काम र विशेषता होइन । तैपनि यसैलाई विशेषता ठान्नेहरुले समस्याको महसूस कहिल्यै गर्न सक्दैन । यसलाई एवं रीतले चलाउँदै जाने उपाय बाहेक अरु उनीहरुमा सूझ संभव हुने पनि होइन ।
खाली बर्बराहटका कुरा
अहिले पर्वसुधार गर्ने कुरा ल्याएर आफ्ना मनगढन्ते तर्क राखी यसरी बर्बराउन थालेको पनि देखिएको छ । जस्तैः
“हामीले ठिक समयमा वास्तविक समयमा संस्कृति संस्कार र पर्व नमानेको कारणले नेपाल लगायत विश्वमा अनेकौं समस्या भएर अशान्ति भय युद्ध खडेरी सुख्खा भूकम्प बाढि पहिरो भूस्खलन जस्ता बिपत्ति हुनुका साथै अनेक प्रकारका ठुलाठुला अपराधिक घटनाबाट पिडित भएर जनस्तर झनझन कमजोर भएको अवस्था छ ”भन्दै जोरजोरले बरबराई रहेको पनि देख्न पाइएको छ ।
वास्तवमा ती प्राकृतिक प्रकोपका कारण यी संस्कृति, संस्कार र पर्वसंग कतै जोडिएको छैन । प्राकृतिक प्रकोप न्यूनीकरण गर्ने उपाय अर्कै छ त्यो कुरा संस्कृति संस्कार र पर्वको औकात भित्र पर्ने विषय होइन । नेपाल भूकम्पीय जोखिम क्षेत्रमा परेकोले संस्कृति, संस्कार र पर्वले त्यो रोकिने कुरा होइन । विश्वमा देखिएका अनेकौं युद्ध अशान्ति जस्ता समस्या नेपालका मान्छेले संस्कृति, संस्कार र पर्व ठिकसंग मनाइ दिएर तर्ने कुरा पनि होइन । यस्ता मनगढन्ते फाल्तु कुरा तिर लाग्नु भन्दा विक्रमसंवत्लाई सदाका लागि बिदा दिएर पठाउने तिर सोच्न जरुरी भइसकेको छ । यसो भन्दै गर्दा संस्कृति संस्कार र पर्व ठिकसंग मनाउँदैमा र विक्रमसंवत्लाई बिदा दिएर पठाउँदैमा पनि विश्वमा देखिने युद्ध अशान्ति र ती प्राकृतिक प्रकोपको नियन्त्रण स्वतः हुने होइन । यस कुराको ग्यारेण्टी कसैले गर्न सकिने कुरो पनि होइन यही कुरालाई प्रकाश पार्ने उद्देश्यले यो लेख तयार गर्नु परेको हो ।
सूत्रधार र अनुयायीहरु
पर्वसुधारको सूत्रधारको भनाइअनुसार “सायन र निरयण संक्रान्तिमा देखापर्ने गतिको कारणले आजभोलि तेइस चौबीस दिनको अन्तर परिरहेको छ । ”
(लिच्छविसंवत्को निर्णय, पृ.१३७)
पर्वसुधारका अर्का सूत्रधारको भनाइअनुसार “सायन,निरयण र चान्द्र लगायतको तीन संक्रान्तिको मिलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मनाइँदै आएका हाम्रा कुनै पनि चाडपर्व,धर्म र संस्कृतिमा पनि असर पर्नेछैन र जुनपर्व जतिखेर हुनुपर्ने हो सोहीअनुसार हुने मात्र नभइ हाल कुसमयमा भइरहेको कृत्यको फलमा समेत सुधार भई सुफल अर्थात पुण्यफल नै प्राप्त गर्ने सुअवसर पाउनुका साथै समय सुधारको क्रममा एक महिना अघि सार्दा हुने विज्ञानसम्मत कुरा हो भन्दै आएका छन् ”
(पर्वसुधारका आधारहरू, पृ२४—२५)
यसरी एकजना सूत्रधारले संक्रान्ति दुई प्रकारका छन् भनी बर्बराइरहेको देखियो भने अर्को सूत्रधारले संक्रान्ति तीन प्रकारका छन् भनी बर्बराइरहेका छन् ।
यस्तैगरि कोही चाहिं वर्षमा दिन र रात बराबर हुने दिन पौषको ७ गते र असारको ७ गते भनी रहेका छन् भने कोही योमह्री पुन्ही र ज्याःपुन्हीका दिन भन्दै आइ रहेका छन् साथै ती सूत्रधारका अनुयायीहरु मध्ये चैत्रको ४ गते नै दिन र रात ठ्याक्कै बराबर भइसक्यो भन्न थालेको पनि देखियो । कोही तेइस दिन पर सरिसक्यो भन्ने कोही चौबीस दिन परसरि सक्यो भन्ने त कोही चाहीं २८ दिन पर सरिसकेको हुनाले हरेक पर्व २८ दिन पहिले मान्नु पर्ने भनेर बर्बराउनेहरु पनि देखिन थालेको छ । तर यसको हिसाव गरेको चरण चाहीं कसैले नदेखाउने यो के हिसाव हो ? के दुनियाँ सबै यस्तै मनगढन्त भूलभूलैयामा दौडीरहन्छ हो ? यदि हो भनी ठान्छन् भने यो उनीहरुको आत्मरति सिवाय अरु होइन ।
पर्व सुधारका सूत्रधारहरुको भनाइअनुसार “वर्तमान अयनाँशको फरक स्थितिलाई विगत २ हजार वर्षदेखि विक्रमसंवत्को पञ्चा·मा सुधार नगरिएकोले नै अयन चलनसम्बन्धी प्रभाव २४ दिनसम्म जम्मा भइसकेको छ अर्थात् माघे संक्रान्ति(उत्तरायण प्रारम्भविन्दु) आजकल पौष ७ मा घट्ने गर्दछ भने नववर्षारम्भ(वसन्तविषुवत्) चैत्र ७ मा पर्ने गर्दछ जुन हामीहरु क्रमशः माघ १ गते र वैशाख १ गते नै परेको ठानेर गलत तरिकाले मानिरहेका छौं र धार्मिक कार्यहरु पनि कुसमयमा गरिरहेका छौं । अतः यदि विक्रमसंवत् पञ्चा· सुधार नगर्ने हो भने यसको ऋतुगत औचित्य समाप्त हुन्छ र यसले स्वतः चाडपर्वहरुलाई असर पार्दछ ।”
(पर्वसुधारका आधारहरू, पृ २०)
संक्रान्ति पर्व बाहेक हाम्रो हरेक चाडपर्वहरु तिथि मुताविक चल्दै आएको सर्वविदित नै छ । उत्तरायणको प्रारम्भ विन्दु र दक्षिणायनको प्रारम्भ विन्दु जुनसुकै गतेमा परेपनि चाडपर्वमा असर परेको पनि होइन र पर्नु पर्ने जरुरत पनि छैन । हामी नेपालसंवत्को तिथि मुताविक स्वतन्त्र ढंगले चाडपर्व मनाइ आएकाहरुलाई भूकम्प, प्राकृतिक प्रकोप र विश्वमा देखिएका युद्ध अशान्तिको कारण नै संस्कृति, संस्कार र पर्व ठिक समयमा नगरेकोले भनी त्रास देखाएर खबरदार गरिरहने किन ? तिथि अनुसार मनाउने पर्व जुनसुकै गतेमा परुन् मतलव छैन भने गते अनुसार गरिने पर्व पनि जुनसुकै तिथिमा परोस् यसमा कसैलाई खसखस हुनु पर्ने जरुरी न हिजो थियो, नआज छ, नभोली हुनेछ ।
विगत २ हजार वर्षदेखि विक्रमसंवत्को पञ्चा·मा सुधार नगरिएको कुतर्क
नेपालमा विक्रमसंवत् उल्लेख गर्न ल्याइएकोे इतिहास धेरै पुरानो छैन । अहिलेसम्म प्राप्त भएका अभिलेख मध्ये सवैभन्दा पुरानो देखिएको भन्ने नै राजा जयस्थिति मल्लको पालामा नेपालसंवत् ५११ को पाटन उवावहीको ताम्रपत्र देखिएको छ । त्यसमा अहिले जस्तो नेपालसंवत् र विक्रमसंवत् बीच ९३७ वर्ष फरक देखिनेवाला विक्रमसंवत् होइन र यो दुई हजार वर्ष अघिको अभिलेख पनि होइन । त्यसमा नेपालसंवत् ५११ आषाढमा विक्रमसंवत् १४४४ आषाढ भनेर दिइएको छ । भनाइको तात्पर्य स्पष्टै छ कि नेपालमा २ हजार वर्ष देखि अनवरत ढंगले चल्दै आएको भए नेपालसंवत् ५११ मा विक्रमसंवत् १४४४ कुनै हालतमा लेखिने हुँदैनथ्यो । यथार्थमा कताकताबाट पाएको गलत जानकारी भेटिएको भरमा उल्लेख गर्न ल्याइएको मात्र हो त्यो भन्दा बढी केही होइन ।
त्यस्तैगरि भक्तपुर दरवार भित्र रहेको नागपोखरीको सुनधाराको अभिलेखमा राजा जितामित्र मल्लले नेपालसंवत् ८०८ मा अभिलेख कुंँदाउन लगाईंदा १७४५ विक्रमसंवत् उल्लेख गर्न लगाइएको छ भने त्यही धाराको माथि रहेको पाटीमा राखिएको शिलालेखमा नेपालसंवत् ८०८ नै छ तर विक्रमसंवत् भने १७८९ दिइएको छ । यसबाट पनि राजा जितामित्र मल्ललाई कोही पण्डितले १७४५ हुन्छ भन्दा होला भनेर कुँद्न लगाइयो भने अर्कोथरि पण्डितले होइन १७८९ पो हुनुपर्ने हो भनेको भरमा १७८९ पनि कुँद्न लगाइएको देखिएको हो यसरी गलत जानकारी भेटिएको भरमा उल्लेख गर्न ल्याइएको जस्ता प्रमाण अरु पनि धेरै छन् । बुद्धिमानलाई इशारा त प्रयाप्त हुन्छन् भने भूलभूलैयाको पछि मात्र दौडिनेहरुलाई यस्ता प्रमाण जतिसुकै देखेपनि वास्ता गरिने होइन ।
विक्रमसंवत्को उत्पत्ति र विकास
विक्रमसंवत्को बारेमा लेख्ने यहाँ स्वदेशी लेखकहरु पनि धेरै देखिएका छन् भने भारतीय इतिहासकारहरुले के भनेर लेख्ने गरेको छ त्यो बढी सटिक हुन्छ होला किनभने यो संवत् भारतमा उत्पत्ति भएको संवत् हो । विक्रमसंवत् नेपालको मौलिक संवत् कुनै हालतमा होइन ।
भारतका प्रशिद्ध इतिहासकार पंं.गौरीशंङ्कर हीराचंद ओझाका अनुसार ८९८ औं ( तद्नुसार इस्वी८४१) वर्षमा आएर विक्रमसंवत् भनेर लेखियो । यो भन्दा अघि मालवसंवत् भनिन्थ्यो र मालवका राजा विक्रम वा विक्रमादित्यले शकहरुलाई पराजित गरी चलाएको संवत् हो भन्ने मान्यता रहीआएको उल्लेख छ । हामी नेपालीले भारतमा शकहरु विजय होस् या पराजित होस् त्यसमा कुनै लेनादेना नभएको कुरा हो ।
विक्रमसंवत् भनेर उल्लेख भएको पहिलो अभिलेख भारतको धौलपुरमा रहेको चंदमहासेनको शिलालेख हो भनिएको छ । यसबाट ८९८ भन्दा अघि मालवसंवत् भनिन्थ्यो भने ४८१ औं वर्ष देखि मालव संवत् भनियो त्यो भन्दा अघि कृतसंवत् भनिन्थ्यो । यो कुरा अजमेरको अभिलेखमा ४८१भन्दा अघि कृतसंवत् भनिन्थ्यो भनेर अभिलेख मै खुलाइएको छ । अन्य इतिहासकारहरुले पनि यही कुरालाई समर्थन गर्दै आएको छ ।
विक्रमसंवत् सुधार गर्छु भनेर तम्सिंदै आएकाहरुलाई विक्रमसंवत् भनेर नाम कहलिएको त बल्ल ११८३ वर्ष पुगेको देखिएको छ भने दुई हजार वर्ष देखि सुधार नगरिएको भन्नु जायज भनीरहनु परेन त्यो स्वतःहावादारी सिद्ध भएको छ ।
विक्रमसंवत्को कुनचाहीं पक्ष सुधार गर्ने
टेप रिकर्ड बजाएर सुन्दा कुरो बुझिएन भने रिबाइण्ड एण्ड प्ले गरे जस्तो विक्रमसंवत्लाई २ हजार वर्ष पछाडि धकेलेर फेरि १ देखि नै विक्रमसंवत् भनेर नामाकरण गर्न सकिने कुरा होइन । लिच्छविकालमा नेपालमा शासनगर्दै आएका शासकहरु शक होइनन् । विक्रमसंवत् मा गौरव गर्नेहरुले र लिच्छविकालमा चलेको संवत् शकसंवत् भन्नेहरुले विक्रमादित्यले यिनीहरुलाई कहिले पराजित गरेको र पराजित गर्दा गर्दै पनि तिमीहरुले शकसंवतै चलाएर बस भनेर छूट दिएर गयो कहिले ? यी कुराको कुनै छिनोफानो नगरीकन विक्रमसंवत्को गौरव गान गर्न पाइने होइन । चौधौं शताव्दीमा जयस्थिति मल्लले नेपालमा विक्रमसंंवत हुल्न ल्याउँदा त्यसको गुण गाथा सुनेर हुल्याएको पनि होइन । उन्नाइसौं बीसौं शताव्दीमा हाम्रो नेपालमा विक्रमसंवत् लोकप्रीय हुनेछ र त्यसको गुण गाथा सकल नेपालीले गौरव मान्ने छन् भनेर हुल्याएको पनि होइन ।
विक्रमसंवत् नेपाल भित्र हुलिन थालेको जयस्थिति मल्लको पालामा वि.सं १४४४ मा भने राष्ट्रिय संवत् भएर चलेको चन्द्रसमसेरको पालामा वि.सं १९६१ मा यी बीचको ५१७ वर्ष विक्रमसंवत्ले झिंगा मारेरै बसेको होला त । सुधारगर्नेहरुले यसको पनि त लेखाजोखा गर्नु पर्ला नि । विक्रमसंवत् सुधार नभएर नै दुइहजार वर्ष भित्र विश्व भरियुद्ध अशान्ति कति भएकति ,भूकम्प ,भूस्खलन बाढी पहिरो कति आएकति त्यो सबै घटना घटेको पर्वसुधार नभएर होइन । विक्रमसंवत्लाई फेरि १ देखि चलाए भनेपनि संस्कृति,संस्कार र पर्व ठिकसंग उनीहरुले भने जस्तो एकमहिना घटाएर विक्रमसंवत्को साल व्यवहार गरियो भने पनि त्यस्ता घटना निर्मूल भएर जान्छ भन्दै गर्दा पत्याउने मान्छेहरु उल्लू हुने बाहेक अरु हुने होइन ।
विकल्प
विक्रमसंवत् समस्यैसमस्याको पोकोे भनी ठहर भै सक्यो भन्ने कुरा स्वयं पर्वसुधारवादीहरुले नै भन्न थालेबाटै प्रमाणित भयो । यसको सुधार गर्न शुरुदेखि गरेर ल्याउनु प¥यो त्यो संभव हुने कुरा होइन । पहिले कृतसंवत् कहलिएको बेला के सुधार गरियो त्यसको अनुसन्धान गरेको खोइ ? पछि मालवसंवत् कहलिएको बेला के सुधार गरियो त्यसको अनुसन्धान गरेको खोई र विक्रमसंवत् बिग्रेको २ हजारवर्ष भएकै छैन । विक्रमसंवत् बारे एक थोपा ज्ञान नभएकाहरुले यसको सुधार गर्छु भनेर तम्सेको देखिनु स्वयं एक जोकर सावित हुनु मात्र हो । त्यसकारण लामो कुरा गर्नै पर्दैन नमच्चिने पिंगको सय झड्काले केही अर्थ दिंदैन । बरु नेपालसंवत् नेपालको मौलिक संवत् पनि हो र यसमै आफनो सम्पदाको गौरव गर्न सिकौं । विक्रमसंवत्को विकल्प भनेको नेपालसंवत् मात्रै हो ।
नेपालसंवत्
नेपालसंवत्का गुनगान हामीले गर्नै पर्दैन हामी सवैलाई थाहा छ । त्यस्तैगरि नेपालसंवत्लाई भ्रामक बनाउनका लागि के मात्र गलत अफवाह फैलाएनन्, बिरोधीहरुले त्यो पनि एकएक हामीमा जानकारी हुनु जरुरी छ । त्यसको लागि यथार्थ धरातलमा मात्रै टेकोै कथाको दुनियाँ मा रुमलिने कुरा पनि नगरौं । किनभने कथाको भुमरिमा गएर अलमलिऔं भने विरोधीहरुले हामीमाथि हज्जारौं प्रश्न र विवाद तेस्र्याउन कुनै कसर बाँकी राख्ने छैन । त्यसकारण बिरोधीले प्रश्न तेस्र्याउन नसकिने तथ्यमाथि टेकेर नेपालसंवत् बाहेक अरु बिकल्प नभएको कुरालाई अघिसार्दै जानु नै मूल अभिष्ट बनाउनु पर्दछ ।
गते, तारिख र तिथि प्रयुक्त क्यालेण्डर
गते सौरमासको हो विक्रमसंवत्को होइन ,तारिख इस्वीसंवत्को हो अरु क्यालेण्डरको होइन । त्यस्तै तिथि चान्द्रमासको हो नेपालसंवत्को होइन । यो कुरा नबुझेर मानिसहरु अनाप सनाप बोल्दै आइरहेका छन् । त्यो भनेको गते देख्ने बित्तिकै यो विक्रमसंवत् भइहाल्यो र तिथि देख्ने बित्तिकै यो नेपालसंवत् भैहाल्यो भन्दै आफु निक्कै टाठोबाठो ठान्दै आइरहेका छन् । पहिले नेपालसंवत् बिशुद्ध चान्द्रमासको संवत् मात्रै हो भन्दै आइरहेकाहरु पनि अहिले नेपालसंवत् पनि चान्द्रसौर वर्षको संवत् हो भनेर सकार्न थालीसकेका छन् तर यसलाई मुखको बोलीमा मात्र सीमित राख्दै आइरहेका छन् । भनाईको मतलव चान्द्रसौर भनेको के हो भन्ने बुझेको छैन रहेछ । यदि साँच्चै बुझेको भए नेपालसंवत्को क्यालेण्डर अहिले पनि ३५४ दिनको बनाउँदै बनाउदैनन् । यसलाई दूर्भाग्य नभनीकन बस्न सक्दिन ।
चुनौति
नेपालसंवत् पनि चान्द्रसौरको वर्ष अनुरुपको संवत् हो भनेर हाँ मा हाँ मिलाउन त जाने तर त्यो कस्तो खालको हुन्छ त्यो भने हेक्का राख्नसकेको देखिएन । वास्तवमा यसमा कुनै गाह्रो छैन । किनभने अहिलेको जुन ३६५ दिन भएको क्यालेण्डर हो त्यसमा विक्रमसंवत् २०८१। २०८२ लाई हटाइदियो र त्यसमा नेपालसंवत् ११४५ र इस्वी २०२४ ।२०२५ रहन्छ । ११४५को शुरुको दिन त गइसक्यो अव ११४६ त आउँछ । सरकारी कामकाजमा नेपालसंवत् ११४६ को पहिलो दिन कार्तिक १ गते हुन्छ भने साविक सरह तिथिअनुसार पहिलो दिन कार्तिक शुक्ल प्रतिपदा अर्थात् कछलाथ्व पारु भइहाल्छ । वास्तवमा चान्द्रसौर भनेको सौरवर्ष ३६५ दिन भित्रको ३५४ दिनको चान्द्रवर्ष भनेको हो । त्यसकारण ३६५ दिन भएको नेपालसंवत्को क्यालेण्डर नबनाइएसम्म नेपालसंवत् व्यवहारिक हुनु असंभव छ ।
निष्कर्ष
विक्रमसंवत्को पञ्चा· सुधार नगर्ने हो भने यसको ऋतुगत औचित्य समाप्त हुन्छ । यसले गर्दा परिणाममा विश्वमा अझै अनेकौं समस्या आएर अशान्ति भय युद्ध खडेरी सुख्खा भूकम्प बाढि पहिरो भूस्खलन जस्ता बिपत्ति हुनुका साथै अनेक प्रकारका ठूलाठूला अपराधिक घटनाबाट पीडित हुनुपर्ला भनेर त्रास देखाउँदै आएको छ । यसरी देखाएको त्रासबाट हामीकोही पनि भयभीत नहोऔं । तिथि अनुसार गरिनु पर्ने हरेक चाडपर्व हज्जारौ वर्ष अघिदेखि हाम्रा पिता पूर्खाले जसरी सिकाएर गएको हो त्यसैलाई पालन गर्दै जानमा कसैले रोक्न सक्दैन । त्यस्तै गते अनुसार गरिने कुनै पर्व छन् भने नेपालसंवत् रोज्नासाथ कुनै समस्या पर्ने होइन । किनभने नेपालसंवत् पहिलेदेखि नै संक्रान्ति ,चन्द्रग्रहण, सूर्यग्रहण अधिकमास लगायत सबै कुराबाट सम्पन्न छ । यहाँ कसैले कुनै उटपटाङ् कुरा गरेर एक महिना कटौती गरेर पर्वसुधार गर्न उद्यत भइरहेकाहरुले विक्रमसंवत्लाई जेसुकै गरेर बसोस् मतलव छैन हामी नेपालसंवत्लाई ढंगसंग व्यवहार गरेर जाऔं यसैमा सवैको भलो छ । नेपाल आमाले सवैलाई सद्वुद्धि प्रदान गरुन् ।








