
नयाँनयाँ अभिलेखहरु फेला पर्दै आएपछि त्यसको आधारमा नयाँनयाँ तथ्यहरुपनि उजागर हुँदैआउने गर्दछ तर तथ्य उजागर गर्न ती अभिलेखहरुको गहिरो अभिरुचि लिएर अध्ययनगरेमात्र संभव हुन्छ । त्यसरी गहिरो अध्ययन संभव हुन समय जतिपनि लाग्न सक्छ ।वि.सं १९३७ मा भारतको तात्कालीन प्रशिद्ध इतिहासकार पं भगवानलाल इन्द्रजीले नेपाल आएर यहाँका प्राचीन अभिलेख १५ वटा र अरु परवर्तिकालका ८ वटा सहित २३ वटा अभिलेखहरु संकलन गरी प्रकाश गरेर इतिहासमा एउटा नयाँ मान्यता स्थापित गरे जसको तात्पर्य यही कि यस अघि वंशावलीहरु नै त्यतिबेला इतिहास कहलिने गरेको थियो, त्यो तरिका ठीक होइन । अभिलेख तात्कालिक हुने हुँदा अभिलेखको आधारमा ऐतिहासिक रुपरेखा तयार हुनु पर्दछ भन्ने उनीबाट सिद्धान्त स्थापित हुन पुगे । उनको यो कार्य सँधै स्तुत्य रहे तर उनले हतारमा गरेका अध्ययन कुनै काम लागेन र यो कुरा एवं रीतले पछि ऐतिहासिक
रुपरेखा परिवर्तन हुँदाहुँदै अहिले आएर उनको पूर्ण हचुवा सिद्ध हुन आए । साँचो कुरा पत्तालागे पछि उनी लगायत उनका अनुयायीहरु चूप लागेरै भूल स्वीकार्न बाध्य भए ।
वि.सं २०१२ सालतिर इटालीका आर. नोलीले नेपालको प्राचीन अभिलेख संख्या १५ बाट बढाइ ९२ करीब पु¥याई दिए । पछि त्यही ९२ मा थप हुँदैहुँदै वि.सं २०३० सालसम्म आइपुग्दा १९० संख्या पुग्यो । त्यो १९० संख्या तात्कालीन प्रशिद्ध इतिहासकार धनवज्र वज्राचार्यले सम्पादन गरेको “लिच्छविकालका अभिलेख”मा देखापरे । त्यही समकालीन समयमा प्राचीन अभिलेख सम्पादन कार्यमा संस्कृतिविद् हरिराम जोशीको प्राचीन अभिलेख र प्रशिद्ध इतिहासकार तथा राजनीतिज्ञ डा। डिल्लीरमण रेग्मी पनि प्राचीन अभिलेख अंग्रेजी माèयमबाट प्रकाशित गर्न त्यही रफ्तारमा लागी परेका थिए । त्यस दौरानमा धनवज्र वज्राचार्यको पुस्तक अघि प्रकाशित भएको देखियो ।
त्यतिबेलासम्ममा काठमाडौं लगन ज्यावहालको संवत् ५३५को अभिलेखको उचित अर्थ लगाउन पं भगवानलाल इन्द्रजीदेखि डिल्लीरमण रेग्मीको समय आउँदा सम्मपनि संभव हुन सकेको देखिएन ।
भनाइको मतलव संवत् ५३५ को अभिलेख अंशुवर्माकै पालाको वा अंशुवर्मा कै हुन् भनेर निर्णय गर्न सकेका थिएनन् । पं. इन्द्रजीदेखि वज्राचार्यसम्म आइपुग्दा ९३ वर्ष बितिसकेका थिए । त्यसपछिका समयमा उदय भएका अन्य थुप्रै इतिहासकारहरुले पनि संवत् ५३५को अभिलेखलाई अंशुवर्मा कै अभिलेख हो भनी ठहराउन सक्ने कोही देखापरेन । भनाईको तात्पर्य ९३ वर्ष बितीसक्दा पनि लगन ज्यावहालको अभिलेख अंशुवर्मा कै हो भन्न सकेका थिएनन् ।
नेपालमा धनवज्र वज्राचार्यको लिच्छविकालका अभिलेख प्रकाश भइ सार्वजनिक भए लगत्तै शंकरमान राजवंशीको “लिच्छविसंवत्को निष्कर्ष” पनि प्रकाशित भए । त्यसपछि इतिहासको माहोल नै लिच्छविकालमा चलेका संवत्को विषयमा देखापरेको विवाद सुल्झाउनमा सबैको ध्यान केन्द्रित हुन पुगे । संवत् ५३५ को अभिलेख अंशुवर्मा कै हो वा शिवदेवको भन्ने निर्णय गर्ने कुरा त्यत्तिकै गौण भएर रहे, यस विषयमा कसैको ध्यान जान सकेनन् तब त्यो विषय त्यत्तिकै थाँति भएर रहे ।
धनवज्र वज्राचार्यको लिच्छविकालका अभिलेखमा लिच्छविकालमा दुईथरि संवत् चले, ती दुईथरि भनेका मध्ये पहिलो वि.सं १३५ मा शुरु भएको शकसंवत् र दोस्रो वि.सं ६३३ बाट शुरु भएको मानदेव संवत् हो भन्ने अनुमानको भरमा धारणा तयार गरी त्यही धरातलमा टेकेर १९० वटा अभिलेखहरु सम्पादन गर्न पुगे । सारा लेखक तथा इतिहासकारहरुबाट यही मतलाई समर्थन गर्दै आ–आफना लेख तथा पुस्तक जर्नलहरु पनि थुप्रै निस्के तर त्यहाँ सबैको मनमा एउटै कुरो खड्किरहेको देखियो । त्यो हो लिच्छविकालमा चलेको संवत् शकसंवत् र मानदेवसंवत् हो त भनियो तर त्यसको वैज्ञानिक आधार र प्रमाण के हो ? यो त कसैबाट सिद्ध हुन आएको छैन भन्ने कुरा त्यत्तिकै गढेर बसे ।
यता वि.सं २०३० सालदेखि २०३६ सालसम्म गणनाको आधारमा शंकरमान राजवंशी र संशोधन मण्डल सित त्यही विषयमा खण्डनमण्डनको जुहारी चलिरहेको थियो ।
लिच्छविकालको संवत्को विषयमा गणनाबाट निर्णय गर्न वेदाङ्गज्योतिषबाट गर्नु पर्छ भन्ने संशोधन मण्डलको हुंकार देखापरे । शंकरमान राजवंशी चाहिँ बेंकटेश केतकरको सौरार्यब्राह्मपक्षीय तिथिगणित बाट गणना गर्दा शकसंवत् र मानदेव संवत्सित कुनै हालतमा तालमेल मिल्न आउँदैन भन्ने मै अडिग भएर बसे । त्यत्तिकैमा संशोधन मण्डलका प्रणेता पं नयराज पन्तलाई टप्प टिपेर राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य नियुक्त गरी उनलाई लिच्छविकालमा चलेको संवत्को विवादको निक्र्यौल गर्ने अविभारा सुम्पियो । यो विवादको निक्र्यौल गर्न उनलाई २०३६ सालदेखि २०४३ सालसम्म समय लाग्यो । वि।सं २०४३ सालमा “लिच्छविसंवत्को निर्णय” प्रकाशित त भयो तर दुनियाँको आँखामा धूलो छ्याप्ने खालको गणना देखाई निर्णय आयो । त्यो निर्णय देखेर धनवज्र वज्राचार्य लगायत सबै इतिहासकारहरु त खुशीले गद्गद् नै देखिए तर आफनो प्रतिद्वन्दी शंकरमान राजवंशीलाई साँचो कुरा पत्ता लागेको प्रत्याभूति दिलाउन सकेनन् । यदि सही निर्णय गरेको भए वा साँचो कुरा पत्ता लगाएको भए भूल स्वीकार गर्न बाध्य हुनुपर्ने हुन्थ्यो तर निर्णय सही थियो भनी प्रत्याभूति दिलाउने कता कता पेलेर जाने नीति मात्र अबलम्वन गरियो । शंकरमान राजवंशीको भनाई हरहमेशा एउटै थियो कि “मैले बेंकटेश केतकरको पद्धति लिंदा चाहिँ कहाँ त्यो लिने हो वेदाङ्गज्योतिषबाट पो लिनु पर्दछ भन्ने आफूले चाहिँ वेदाङ्गज्योतिष छोडेर उही मैले लिएको बेंकटेश केतकरको पद्धति लिंदा तपाईलाई अलिकति पनि लाज लागेन किन?” भन्ने पनि थियो । तर सबैले पेलेरै जाने नीति अबलम्वन गरियो । शंकरमान राजवंशी चाहिँ यदि साँचो कुरा पत्ता लागेको भए भूल स्वीकार गर्न पर्दथ्यो तर साँचो कुरा आएन र साँचो कुरा नआएको भएर पं नयराज पन्तको उक्त निर्णय केवल दुनियाँको आँखामा छारो हाल्ने सिद्ध भएर मात्र रहने छ त्यो भन्दा बाहेक अरु होइन । त्यसरी त्रुटीपूर्ण गणना भएपनि समर्थकहरुको प्रशंसा बटुल्न सफल चाहिँ भए । किन्तु लिच्छविकालमा चलेको संवत् विषयक जुन विवाद थियो त्यो यथावत् रही रहे । त्यसको मूल्यांकन भविष्यमा अवश्य होला नि भनेर शंकरमान चूप लाग्नु भयो ।
त्यत्तिकैमा अर्को दुईचार वर्ष बितेपछि वि।सं २०४६ सालको अन्ततिर गोकर्ण बालुवा गाउँमा महासामन्त अंशुवर्माको संवत् ५३६ को अभिलेख भेटियो । संवत् ५३५ को काठमाडौंको लगन ज्यावहालको अभिलेख कुनै हालतमा अंशुवर्माको होइन मात्र नभनी हुनै सक्दैन भनी अद्दी लिएर आएका इतिहासकारहरु जत्तिपनि थिए ,उनीहरुको लागि त यो दरो जवाफ सावित हुन आयो र संवत् ५३५ को अभिलेख पनि अंशुवर्मा कै हो भन्नका लागि संवत् ५३६ को अभिलेख पाएपछि मात्र प्रमाणित भयो भन्नु पर्दछ । यो अभिलेख पाइए पछि कोही चुईंक्क बोल्ने ठाउँ भएन । यसरी साँचो कुरा पत्तालागेपछि भूल स्वीकार गरेको देखिनु पर्ने तर भूल चाहिँ स्वीकार अहिलेसम्म ती इतिहासकारहरुले गरेको देखा परेन । रोचक कुरो यही कि जुनबेला गोकर्ण बालुवा गाउँको संवत्५३६ को अंशुवर्माको अभिलेख प्राप्त भएको थियो व त्योबेला धनवज्र वज्राचार्य पनि जीवित थिए भने पं नयराज पन्त पनि जीवित थिए । प्रश्न उठ्छ कि के सच्चा इतिहासकारको धर्म त्यही थियो त ? साँचो कुरा पत्ता लाग्नासाथ हाम्रो भूल भएको थियो भनी स्वीकार गर्नु पर्ने थिएन त ?
हुँदाहुँदा २०७८ सालको उत्तरार्धतिर पाटन मंगलवजारको पाटन दरबार अगाडि ढल खन्ने क्रममा अंशुवर्माको अर्को नयाँ अभिलेख फेरि फेला प¥यो । त्यसमा पनि संवत् ५३६ नै अंकित रहेको पाइयो । त्यतिबेला चाहिँ धनवज्र वज्राचार्य र पं नयराज पन्त दुबै यस लोकमा थिएनन् । सायद भएपनि के २०४६ सालमा चूप लागे जस्तै आखिर उहाँहरु फेरि चूप लाग्ने नै हुन् ? अपेक्षाकृत कुरा भनेको उहाँहरुबाट भन्दापनि अरु तमाम इतिहासकारहरु मध्ये उहाँहरुकै पक्का मतालम्बी भएर देखा परेकाहरु पनि चूप लागेर टुलुटुलु हेरी रहेकोमा पो आश्चर्य हो । हामी पनि संवत् ५३५ को अभिलेख अंशुवर्माको ठहरिनु संभव छैन भन्दै पछि लागेका थियौं आखिर त्यो कुरा सत्य रहेनछ भनी भूल स्वीकार गरेको देखिनु पर्ने हो ,त्यो पंक्तिमा आफूलाई इमानदार देखाउन अहिलेसम्म कोही एकजना पनि देखापरेका छैनन् ।
त्यसैले के इतिहास भनेको धनवज्र वज्राचार्य र पं नयराज पन्तको मात्रै पेवा हो ? अरुले पनि चासो लिनु पर्ने होइन र? संवत् ५३५ को काठमाडौं लगन ज्यावहालको अभिलेख उतिबेला नै उहाँहरुले गहन अभिरुचिका साथ अèययन गरी दिएको भए पछि गोकर्ण र मंगलवजारको अभिलेख भेटिए पछि मात्र खुल्नु पर्ने विषय होइन । यदि ती अभिलेख नभेटिए कै आधारमा संवत् थ३थ को अभिलेख अंशुवर्माकै हुन् भनेर कसैले भनेको भए सायद उनीहरुले त्यसलाई खिल्ली उडाई हाँस्ने थियो होला, धन्न त्यसो हुनु परेन । यो कुरा पछि आउने भावि इतिहासकारले थाहा पावस् भनी यो लेख तयार गर्नु परेको हो ।
काठमाडौं लगन ज्यावहालको संवत् ५३५ को अभिलेख प्रकाशमा आएको आज करिव १४६ वर्ष पुगी सक्यो । यो अभिलेखको महत्व माथि कसैले अभिरुचि जगाएको देखिनमा आएको छैन , यो कुरा सत्य सावित भइरहेकै छ ।
काठमाडौं जैसीदेवल र ज्यावहालको बीचमा सडककै छेउमा यो अभिलेख कुँदिएको शिलापत्र रहेको छ । यो अभिलेख भगवानलाल इन्द्रजीद्वारा ४ संख्यामा र नोलीद्वारा ४० संख्यामा छापिएको हो तर यो अभिलेखको सही अर्थ लगाउन बाँकी भएकै अवस्था रहेको थियो । यस अभिलेखमा संवत् मिति यस प्रकार उल्लेख भइरहेको छ जस्तैः
संवत् ५३५ श्रा(वण) शुक्लदिवासप्तम्याम् (संवत् ५३५ श्रावण शुक्ल सप्तमी)
व्याख्यामा — यस अभिलेखको बेहोरा विचार गर्दा यो अंशुवर्माले गरिदिएको होइन भन्ने देखिन्छ । यसमा संवत् ५३५ दिइएको छ । मानदेवको चाँगुको अभिलेख देखि शिवदेवको लेलेको अभिलेखसम्ममा देखिएको संवत् नै यो पनि हो । अंशुवर्माले एक्लै सोझै शासन गर्न थालेपछि आफना अभिलेखमा यस संवत्को प्रयोग गरेका थिएनन् । यस अभिलेखमा फेरि यस संवत्को(शकसंवत्को)उल्लेख कसरी भयो यो प्रश्न बडो विचारणीय छ ।
फेरि यस अभिलेखको उठानमा “देव” दुइ अक्षर अहिलेसम्म बचेका छन् । यसबाट यो अभिलेख शिवदेवले गरिदिएका हुन् कि भन्ने देखिएको छ ।
(लिच्छविकालका अभिलेख,पृष्ठ ३४३ – ३४४)
वज्राचार्यले बुंगमतीको संवत् २९ लाई ५२९ हुने संभावना देख्नु भएन, अर्को ५२७ र ५२८ को अभिलेख नभेटिएको पनि हुन सक्छ भन्ने तिर पनि विचारै गर्नु भएन र उनले सोझै लेलेको संवत् ५२६ को लगत्तै पछि २९ लाई संवत् ५२७ मानेर अथ्र्याउनु भयो । यसरी दुई वर्ष खुम्चाउँदा संवत् ५३५ को समान वर्ष ३७ हुन जाने भयो । संवत् ३७ को तिस्तुङ्ग तौखेलको अभिलेख पनि प्राप्त छ । उनले तिस्तुङ्ग तौखेलको अभिलेख र लगन ज्यावहालको अभिलेखमा के समानता छ ? देखाउन सक्नु भएन । संवत्५३५ र संवत् ३७ एउटै वर्ष भएपछि यी दुई बीचको समानता हूबहू मिल्नु पर्ने थियो व त्यो कुरामा प्रवेश नै नगरी हचुवाको भरमा व्याख्यामा उत्रनु भयो । त्यो नै उनको महाभूल थियो ।
जसरी उहाँ भन्दा अघिका इतिहासकारले गहन अभिरुचि लिएर अèययन गर्नु भएन त्यसरी नै उहाँ र उहाँ भन्दा पछिकाले पनि कुनै वास्ता गरेका थिएनन् भन्ने प्रष्ट छ । वास्तवमा अरु तमाम इतिहासकारहरुको कमजोरी पनि यही देखियो ।
संवत् ५३५ को लगन ज्यावहालको संवत्लाई शकसंवत् हो भनी मानेपछि गोकर्ण बालुवागाउँको अभिलेखमा आएको संवत् ५३६ लाई पनि उहाँहरु तमामले शकसंवत् ५३६ नै भनिने भयो ।
यस गोकर्ण बालुवागाउँको अभिलेखमा संवत् मिति यस प्रकार उल्लेख भइरहेको छ जस्तैः संवत् ५३६ द्वितीय पौष शुक्ल पञ्चम्याम् (संवत्५३६ द्वितीय पौष शुक्ल पञ्चमी)
यो अभिलेखमा अंशुवर्माको नाम स्पष्टसित उल्लेख यस प्रकार छः “स्वस्ति कैलासकूटभवनाच्छ्र«ी महासामन्ताङ्शुवम्र्म कुशली” (लिच्छविकालीन सम्वत्को निश्चय,पृष्ठ १२७) अभिलेखमा अंशुवर्माको नाम पनि उल्लेख हुनु र संवत् स्पष्टसँग ५३६ उल्लेख हुनुले इतिहासकारहरुको बोली बन्द हुनु परेको हो ।
यो आधारमा लगन ज्यावहालको अभिलेख अंशुवर्माको होइन भन्ने ठाउँ रहेन र संवत् ५३५ लाई शकसंवत् भने जस्तै संवत् ५३६लाई पनि शकसंवत् भन्ने ठाउँ कतैबाट देखिएन किनभने पं नयराज पन्तको लिच्छवि संवत्को निर्णयको पृष्ठ २९४ मा दिइएको अधिमास क्षयमास सारणी पल्टाएर हेर्ने हो भने शकसंवत्मा५३५ अधिकमास परेको देखाउने ठाउँ पनि कतै देखिएन ।
यो आधारमा लिच्छविकालमा चलेको संवत् शकसंवत् पनि थिएनन् साथै संवत् ५३५ र ५३६ दुबै अंशुवर्मा कै अभिलेख हुन् भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग हुने भएको हो । तैपनि साँचो कुरा पत्ता लाग्दा पनि आफनो भूल स्वीकार नगरी नीच मारेर बस्नमा धनवज्र वज्राचार्य, पं नयराज पन्तले श्रेयष्कर ठाने जस्तै अरु इतिहासकारहरु पनि गहिरो निन्द्रामा रहेको अवस्था आजसम्म पनि जारी छ ।
लिच्छविकालमा चलेको संवत्को परिभाषा
इसाको प्रथम शताव्दीदेखि नबौं शताव्दीसम्मलाई नेपालको इतिहासमा प्राचीन काल मानिएको छ । यस समयको अवधिमा नेपालमा लिच्छविवंशका राजाहरुले राज्य गरेको हुनाले यसलाई लिच्छविकाल भनेर माने,यो अनुचित होइन । यस लिच्छविकालका जतिपनि अभिलेखहरु प्राप्त भए ती सबै अभिलेखलाई लिच्छविकालका अभिलेख भनेर माने यो पनि जायज हो । यही सिलसिलामा त्यो बेलाको संस्कृति लिच्छवि संस्कृति भनियो, कलालाई लिच्छविकला, लिपिलाई लिच्छवि लिपि ,इतिहासलाई लिच्छवि इतिहास मान्दा सबै जायज माने । यसमा कसैले कुनै आपत्ति व्यक्त गरेनन् । त्यस्तै लिच्छविकालमा चलेको संवत् पनि लिच्छवि संवत् भनेर सम्बोधन गर्दा कुनै आपत्ति हुनु जरुरत छैन । त्यसो भए एक दुई जना मपाईं भन्ने हस्तिहरुले लिच्छविकालमा चलेको संवत्लाई लिच्छवि संवत् भन्न पाईंदैन
संसारमा कुनै अभिलेखमा लिच्छवि संवत् भनिएको छैन भनेर गरेको कुतर्कमा समर्थन जनाइयो किन ? यदि लिच्छविकालमा चलेको संवत्लाई लिच्छवि संवत् भन्नु जायज होइन भने धनवज्र वज्राचार्यले लिच्छविकालका अभिलेख भन्दा आपत्ति किन जनाएनौं ? किनकि कुनै पनि अभिलेखमा लिच्छविकालको अभिलेख भनिएको छैन र पं नयराज पन्तले लिच्छविसंवत्को निर्णय भनी निर्णयका पुस्तक प्रकाशित हुँदा आपत्ति किन जनाएनौ ? एवं प्रकारले लिच्छविकालका विषयलाई लिएर लिच्छवि इतिहास, लिच्छवि संस्कृति, लिच्छवि लिपि भनिएकोमा आपत्ति किन जनाएनौ ? यदि लिच्छवि कालमा चलेको संवत्लाई मात्रै लिच्छवि संवत् भन्न नहुने तर्क पनि संसारमा कहाँ छ ? वास्तवमा त्यसरी विषयान्तर कुरा उठाएर अझै अल्मल्याउन खोजिन्छ भने त्यता सतर्क रहन पनि जरुरी छ ।
मान्छेहरु आफुलाई सज्जन देखाउन साँचोकुरा पत्ता लागेपछि भूल स्वीकार गर्न तयार छु भनेर बोल्छन् तर ब्यवहारमा भूल स्वीकार गरेको बिल्कुलै देखिने गरेको छैन । यदि त्यसो भई दिएको भए गोकर्ण बालुवागाउँको अभिलेख भेटिएको पनि ३५ ।३६ वर्ष भइसक्यो , ती भूल गर्दै आउनेहरुले भूल स्वीकार त के बालुवा गाउँको नामसम्म पनि उच्चारण गरेको देखिएको छैन ।
लिच्छविकालमा चलेको लिपिलाई लिच्छवि लिपि, इतिहासलाई लिच्छवि इतिहास र संस्कृति लाई लिच्छवि संस्कृति यावत् भन्न जायज हुने तर लिच्छविकालमा चलेको संवत्लाई लिच्छवि संवत् चाहिँ भन्न नहुने तर्क पनि कुनै तर्क होइन ।
ठीक छ भूल स्वीकार नगर्ने भए गोकर्ण बालुवा गाउँको अभिलेखमा रहेको संवत् ५३६ पनि होइन वा त्यो अभिलेखमा अंशुवर्माको नामै छैन भनी सिद्ध गरेर देखाउनु पर्ने हुन्छ तर त्यो पनि छैन ।
अहिलेसम्ममा भेटिएका अभिलेखहरु अगाडि राखेर पहिले आफुहरुले गरेका निर्णयहरु , आफुहरुले लेखेका लेख तथा पुस्तक जर्नलहरुमा पुनरावलोकन गरेर हेरुन् ,त्यो पनि छैन । ब्यक्तिलाई भूल स्वीकार गर्न हिच्किचाइ रहेपनि जिम्मेवार निकायहरु तथा संस्थाहरु पनि त थुप्रै छन् । ती निकाय तथा संस्थाहरुले पनि त्यस्ता कुतर्कलाई बढावा दिएर बस्नु उचित होइन । साँचो कुरा पत्ता लागेपछि आफनो भूल स्वीकार गर्न तयार छु भनेर केवल मुखले मात्रै बोल्ने कुरा होइन ; व्यवहार मै उत्रनु पर्ने कर्तव्य पनि हो । तसर्थ दूर्भाग्य भन्नु पर्दछ इतिहास संस्कृतिका क्षेत्रमा कलम चलाई आएका तमाम व्यक्ति संस्था तथा निकायहरुमा ती भूलहरु संशोधन गरेर जाऔं भन्ने लक्षण अहिलेसम्म देखापरेको छैन ।

