
भावपूर्ण श्रद्धान्जली
तत्कालिन राजा महेन्द्रको २०१७ साल पुष १ गतेको निरंकुश कदम विरुद्ध विद्यार्थी आन्दोलमा सक्रिय भएर राजनीतिमा प्रवेश गरेका थिए दमननाथ ढुँगाना । उतिवेला विश्वविद्यालयमा राजाको एकतन्त्रिय निरंकुशताको विरुद्धमा विद्यार्थी साथीभाइलाई गोलबन्द गर्दै राजनीतिमा पदार्पण गरेका थिए ढुँगाना । जतिवेला नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघ स्थापना गरिसकेको थिएन् ,त्यतिवेला सम्मा विद्यार्थी आन्दोलनको अगुवाई गर्ने ढुंगाना पछि उनी राजनीतिसँग मात्रै सम्बन्धित भएनन् उनी राम्रा वकिल पनि भए । ‘कमनर’ भन्ने अङ्ग्रेजी पत्रिका र ‘दैनिक नेपाल’ भन्ने नेपाली पत्रिकामा श्रमजीवी पत्रकारका रुपमा पनि उनी क्रियाशिल थिए ।
कानूनी पेशाको माध्यमबाट पनि राजनीतिक परिवर्तनको निम्ति योगदान गरिरहेका उनी नेपाल वार एशोसियसनका महासचिवसम्म बनेका थिए । भने २०४६ ४७ तिर नेपाली कांग्रेसको राजनीतिमा धेरै क्रियाशिल थिए ।
वि.सं.२००३ साल जेठ ३ गते जन्मिएका ढुंगाना राजाले कु नगरेको भए राजनीतिमा आउने थिइन भन्थे । विंसं २०४६ सालको बहुदलीय व्यवस्थाको स्थापनार्थ भएको आन्दोलनमा समेत सक्रिय दमननाथ परिवर्तन पछि संविधान निर्माणमा पनि सक्रिय भए । वि.सं.२०४८ सालको संसदीय चुनावमा काठमाडौंबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसबाट निर्वाचित भएर सभामुख चुनिएका थिए ।
संसदीय व्यवस्थाप्रति अत्यन्तै निष्ठावान उनी वरिष्ठ अधिवक्ता पनि थिए । उनको सभामूखको कार्यकाल तटस्थता र निष्पक्षताको लागि स्वर्णिम मानिन्छ । उनी विपक्षी र सबैसँग उतिक्कै घुलमिल हुने उदार स्वभावका थिए । सहनशील पनि उतिक्कै ।
२०५१ सालमा पुन निर्वाचन लडेका उनी त्यसबखत भने पराजित भए ।
माओवादीहरुको शसस्त्र द्धन्दमा मानव अधिकार र शान्ति अभियानमा सक्रियतापूर्वक लागेका थिए ढुंगाना । मध्यस्थकर्ताको भूमिकामा पनि उनले उल्लेख्य भूमिका निभाएका थिए ।
पछि फेरी भक्तपरबाट निर्वाचनमा कांग्रेसको उम्मेदवार बनेका उनी पराजित भए ।
विभिन्न कालखण्डमा विभिन्न आरोह अबरोह बेहोरेका उनी संसदमा सभामुखको भूमिकामा सर्वथा सफल मानिन्छन् । उनको भावना नै संसद प्रतिपक्षको हो भन्ने थियो । लोकतन्त्रका सच्चा हिमायती ,सबैलाई मिलाएर लानसक्ने खुवीका धनी थिए दमननाथ ।
नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा अत्यन्तै प्रभावशाली,योग्य र सक्षम व्यक्तित्व दमननाथ ढुंगानप्रति भावपूर्ण श्रद्धान्जली ।





