काठमाडौं बैशाख २५ गते । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल ५ के रन च्यालेन्जको खुलामा शनिबार पहिलो भएका छन् । सञ्जय पुरुष तथा पूर्णलक्ष्मी महिलामा पहिलो भएका हुन् ।
एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा भएको दौडमा सञ्जयले निर्धारित ५ किलोमिटर दूरी १४ मिनेट ३४.७४ सेकेन्डमा पूरा गरे । मुकेशबहादुर पाल (१४ मिनेट ३४.८१ सेकेन्ड) दोश्रो तथा गजेन्द्र राई (१४ मिनेट ५३.९१ सेकेन्ड) तेश्रो भए ।
महिलाको ५ किलोमिटर दूरी पूर्णलक्ष्मीले १७ मिनेट ९५ सेकेन्डमा तय गरिन् । निशा कार्की (१८ मिनेट १२.५५ सेकेन्ड) दोश्रो तथा सम्झना कुलुङ ¬(१८ मिनेट ५४.६३ सेकेन्ड) तेश्रो बने । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थानमा रहने खेलाडी नेपाल आर्मीका हुन् ।
यु–१८ ब्वाइज ३ किलोमिटरमा सुशन लामिछाने पहिलो, राजकुमार गोले दोश्रो र शेरबहादुर शाही तेश्रो भए । सोही स्पर्धाको गल्र्समा सर्मिलो गोलेले स्वर्ण, सुजिना राम्दामले रजत र प्रमिशा कार्कीले कांस्य जिते ।
भेट्रान ५ किलोमिटर पुरुषमा धर्म महर्जन, रैवतबहादुर दाहाल र भीमबहादुर गुरुङ क्रमशः शीर्ष तीन स्थानमा रहे । भेट्रान ३ किलोमिटर महिलामा कल्पना डंगोल पहिलो, सारदा राई दोश्रो र नगिना महर्जन तेश्रो भए । सबै ६ स्पर्धामा शीर्ष १० स्थानमा रहनेलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
विजेतालाई चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, चाँगुनारायण नगरपालिका नगर खेलकुद संयोजक रघु केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दौडमा २ सय ५० प्रतिस्पर्धीले सहभागिता जनाएको एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् ।
दौड चाँगुनारायण नगरपालिका भवन परिसरबाट सुरु भई भद्रकाली मोड, घट्टाडिल चोक, घट्टे खोला, पगरी टोल, कुशलटार चोक, सुविधानगर सडक हँुंदै पुनः नगरपालिका भवनमा आएर टुंगिएको थियो । नेपाल रनको यो पहिलो चरण हो । ५ किलोमिटर खुलातर्पm महिला तथा पुरुष दौडमा शीर्ष १५ स्थानमा रहने खेलाडीलाई क्रमशः १५ देखि १ अंक प्रदान गरिने छ । यो दौड २ महिनाको अन्तरालमा ३ चरणमा हुनेछ । बाँकी २ चरणको दौडमा पनि पहिलो चरण सरहनै अंक प्रदान गरिने छ । तेश्रो चरणको समाप्तिपछि ग्रान्ड प्रतियोगिता हुनेछ । ग्रान्ड प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।