काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स ईन्टरनेसनल क्लबले चौथो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको खेलमा टाईम्सले रोयललाई ९५–६१ ले पराजित गरेको हो ।
टाईम्सको यो लगातार पाँचौ जित हो । पहिलो खेलमै गोल्डेनगेटसँग पराजित भएको टाईम्सले त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै लगातार जित हात पारेको हो । ६ खेलबाट टाईम्सले ११ अंक जोडेको छ । रोयलको यो पाँचौ हार हो । ६ खेलबाट रोयलको ७ अंक छ ।
टाईम्सले चारै क्वाटरमा अग्रता लिने क्रममा २९–१७, १७–१४, २५–१८ र २४–१२ को प्रदर्शन ग¥यो । टाईम्सका कप्तान सदिश प्रधानले सर्वाधिक २४ अंक स्कोर गरे ।
शुक्रबार राती भएको खेलमा आर्मीले प्लेबक्स एरेनालाई १०२–८६ ले हरायो । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।