
काठमाडौं, माघ २८ गते ।आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराक र खुम्जुङ युथ क्लब १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
फराकले खुम्बु याम्बु शेर्पा समाजलाई १–० गोलले पराजित ग¥यो । पेम्बा स्माइल शेर्पाले निर्णायक गोल गरे । पेम्बानै ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा खुम्जुङले खुन्डे सामुदायिक क्लबलाई २–० गोलले हरायो । दुवै गोल ‘प्लेयर अफ द म्याच’ फुरा इब्रा शेर्पाले गरे ।
विजयी दुवै टोली समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेका हुन् । खुम्जुङ विजेता तथा फराक उपविजेता बने । समूह चरणको खेलमा २ जित र १ बराबरी खेलेको खुम्जुङले ७ अंक जोडे । फराकले १ जित र २ बराबरीसाथ ५ अंक बटुल्यो ।
१४ पिक्स एक्सपेडिसनको मुख्य प्रायोजनामा भइरहेको प्रतियोगिताको समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लिगको अन्तिम दिन बिहीबार लाग्ने छ । त्यसदिन ठामिछोवा फुटबल टिम र खुम्बु युनाइटेड क्लब तथा नाम्चे युथ क्लब र आमादब्लम युथ क्लबबीच खेल हुनेछ । ४ टिम रहेको उक्त समूह ठामिछोवाले दुवै खेल हारेको छ भने खुम्बु युनाइटेडले दुवै खेलमा जित हात पारेको छ । नाम्चे र आमादब्लमले समान १–१ जित÷हार व्यहोरेका छन् ।





