
काठमाण्डौ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटि विरुद्ध विभिन्न कृयाकलाप सञ्चालन गर्दै आएका नेपाली खेलकुदका दुई संघका अध्यक्षहरुलाई ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए)ले आगामी दुई वर्षका लागि निलम्वन गरेको छ ।
नेपाल ट्रायथलन महासंघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र नेपाल घोडचढी संघका अध्यक्ष रबी राजकर्णीकारलाई सबै ओसीए गतिविधिहरूबाट दुई वर्ष निलम्बन गर्ने निर्णय, २०२५ अगस्ट ३१ मा पठाएको पत्रमा उल्लेख छ।सो निर्णय नेपाल ओलम्पिक कमिटि, अन्तर्राष्ट्रिय तथा एसियाली ट्रायथलन महासंघ र अन्तर्राष्ट्रिय तथा एशियाली घोडचढी महसंघलाई जानकारी गराइएको छ ।
आधिकारिक पत्रमा ओसीए इथिक्स कमिटीका अध्यक्ष देवेन्द्रनाथ सारङ्गीले अगस्ट २८ मा बसेको ओसीए कार्यकारी बोर्डको बैठकमा सर्वसम्मत रूपमा उक्त निर्णय पारित गरिएको जानकारी दिएका छन् । ओसीए इथिक्स कमिटीको सिफारिसपछि लिइएको सो निलम्बनको निर्णय तत्काल लागू हुने पनि पत्रमा उल्लेख छ । एक पछि अर्को गर्दै ओसिए कार्वाहीमा उत्रिए पछि नेपाली खेलकुदको एसियन गेम्समा सहभागिता समेत् अब के हुने भन्ने प्रश्न उब्जिएको छ । ओसिएले यस अघि मात्रै ध्रुब बहादुर प्रधानलाई ओसिएको लोगो प्रयोग गरेबापत चेतावनी सहितको पत्र पठाएर नर्गन भनेको थियो ।
प्रधान नेतृत्वको कमिटिले नेपाली खेलकुद संघहरुको भेलाको नाउँमा नेपाल ओलम्पिक कमिटिको नाउँमा विभिन्न गतिविधिहरु गर्दै आएका थिए भने ओलम्पिक कमिटिको भवन समेत उनीहरुले नै सञ्चालन गरेका छन् । केही दिन अघि प्रधानले एक पत्रकार सम्मेलन गर्दै आफू नेतृत्वको कमिटि आधिकारिक रहेको दावी गर्दै एसियाली खेलकुदमा नेपालको सहभागिता सुनिश्चित हुने बताएका थिए ।प्रधान प्रतिनिधी सभाका सदस्य हुनुहुन्छ।
ओसिएको कारवाहीले अब प्रधान नेतृत्वको सरकार निकट रहँदै गरेका सम्पूर्ण कृयाकलाप अवैधानिक भएका छन् । यो निर्णयले नेपालको खेलकुदमा ठूलो प्रभाव पार्न सक्ने देखिएको छ ।







