
काठमाडौं । भुटानको थिम्पुमा भएको प्रथम दक्षिण एसियाली जुडो डेभलपमेन्ट च्याम्पियनसिपमा नेपाली टिम प्रथम भएको छ । नेपाली टोली चार स्वर्ण, एक रजत र एक कांस्य सहित प्रथम भएको मुख्य प्रशिक्षक धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
व्यक्तिगत स्पर्धामा नेपाली टिम प्रथम भएको हो । मिक्स टिम इभेन्टमा नेपाली खेलाडीले आजआइतबार प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा चार दक्षिण एसियाली राष्ट्रका आठ टिम सहभागी थिए । नेपालबाट एमएमएसीका खेलाडीले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा श्रष्टा नापितले दोहोरो स्वर्ण जितिन् । श्रष्टाले महिला ५७ केजीमुनि पहिलो स्वर्ण चुमिन् अर्को स्वर्ण खुला तौलसमूहमा हात पारिन् । ५७ केजी तौलसमूहमा खेल्ने प्रतिस्पर्धीले खुला तौलसमूहमा पनि खेल्न पाउने प्रावधान थियो ।
पुरुष ३६ केजीमुनि साइमन तामाङ तथा ४० केजीमुनि सदिन तामाङले स्वर्ण जिते । महिला ३६ केजीमुनि जेनिशा वाइबाले रजत तथा पुरुष ५० केजीमुनि जुविन महर्जनले कांस्य प्राप्त गरे ।






