
काठमाडौं। सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक बिना निष्कर्ष टुंगिएको छ। सिंहदरबारमा बसेको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा कुनै सहमति भएन ।
बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको अवरोध कायमै राख्ने संसदीय दलको निर्णय जानकारी गराएका छन् । उनले सभामुख घिमिरेले पनि दलमा थप छलफल गर्न अनुरोध गरेपछि आफू आन्तरिक छलफलमा जाने उनले बताए ।
‘शब्दमा मात्र होइन सिङ्गो जनयुद्धको भावनामा प्रहार भयो । हामी अवरोध जारी राख्छौँ‚’ उनले भने‚ यहाँबाट फेरी पार्टीमा पनि छलफल हुन्छ ।’ उनले सहमति नजुटेको पनि जानकारी दिए ।
सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियमापत्तिको निर्णय गरेका थिए।
निर्णयमा असहमति जनाउँदै माओवादी केन्द्रले गत बुधबारको संसद अवरोध गरेका थिए । माओवादी केन्द्रले ‘हिंसा’ शब्द बारे सभामुखले गरेको निर्णय फिर्ता नलिएसम्म संसदको अवरोध जारी रहने निर्णय गरेको थियो ।






