
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो पार्टीका सांसद नभएका जिल्लामा संगठन, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन सांसदहरूलाई थप जिल्लाको जिम्मेवारी तोकेको छ ।
बुधबार बसेको संसदीय दलको बैठकले पार्टीका प्रत्येक सांसदलाई आफ्नो निर्वाचित जिल्लाबाहेक एक वा एकभन्दा बढी जिल्लाको जिम्मेवारी कार्यादेशसहित तोक्ने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिएकी हुन् ।
जस अनुसार सांसद नरेन्द्रकुमार केरुङलाई उदयपुर र गोरखा, गीताकुमारी सेन्दाङलाई ओखलढुंगा, निश्कल राईलाई स्याङ्जा, सन्तोष सुब्बालाई धनकुटा, प्रकाशसिंह कार्कीलाई संखुवासभा, गीता गुरुङलाई खोटाङ, डा. प्रमिलाकुमारी गच्छदारलाई सुनसरी, रुक्मिणीदेवी कोइरालालाई भोजपुर, मनमाया विश्वकर्मालाई नवलपरासी तथा सुशीला ढकाल आचार्यलाई ललितपुरको जिम्मेवारी दिइएको छ ।
त्यस्तै रीना उप्रेतीलाई दोलखा, फिरदोस आलमलाई बारा, डा. शाहजान खातुनलाई सर्लाही, डा. चन्द्रमोहन यादवलाई सिराहा, नीनुकुमारी कर्णलाई सप्तरी, रेखाकुमारी यादवलाई पर्सा, मोहन आचार्यलाई काठमाडौं, मदनकृष्ण श्रेष्ठलाई रामेछाप, डा. गंगालक्ष्मी अवाललाई काभ्रेपलाञ्चोक र पवित्रा विकलाई सिन्धुलीको जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी अर्जुननरसिंह केसीले सिन्धुपाल्चोक तथा सीता थपलियाले चितवन र नवलपुरको, सांसद योगेश गौचन थकालीलाई लमजुङ र कास्की, टेकबहादुर गुरुङलाई लमजुङ र तनहुँ तथा रेनुका काउचालाई पर्वत र प्यूठानको जिम्मेवारी दिइएको छ भने सांसद अभिषेकप्रताप शाहलाई रूपन्देही र बाँके तथा सन्दीप रानालाई अर्घाखाँची र गुल्मीको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै सांसद खड्ग शाहीलाई जुम्ला, जयपति रोकायलाई डोल्पा, खडकबहादुर बुढालाई सल्यान र रुकुमपश्चिम, बासना थापालाई दाङ र बर्दिया, विष्णुबहादुर खड्कालाई रोल्पा तथा कालीबहादुर सहकारीलाई रुकुमपूर्वको जिम्मेवारी दिइएको छ भने सांसद भरतबहादुर खड्कालाई कञ्चनपुर, जनकराज गिरीलाई बझाङ र दार्चुला, भरतकुमार स्वाँरलाई कैलाली तथा हरिनादेवी कामीलाई बैतडीको जिम्मेवारी तोकिएको प्रमुख सचेतक थापाले जानकारी दिएकी छन् ।








