कविता
हठात् एकदिन
विश्व सिग्देल
रात शान्त थियो
ताराहरु अचल
जून टक्क अडिएको थियो
मात्र
कामेको तिम्रो ओठ
जगैदेखि हल्लिएको मेरो शरीर थियो
हावा लेपासिएको थियो
सालको पातमा
उकालिएको मन ओरालो झर्दै थियो तिम्रो बगलमा
तारा साटेर सहर बिजुली बत्तिमा
गम्कदै थियो
कतै चम्कदै थियो आकास
कि तिम्रो आत्माको पुकार
मेरा आँखामा
यी तमाम स्पष्ट-अस्पष्ट प्रश्नको जवाफ
खोज्दै गरेको ओठको भाषा
पहिल्याएरै
तिमीले ओठ खोलेकी थियौ कि तेत्तिकै ?
ओठमा परेपछि ती ओठको न्यानो
सोध्न भुलेछु !
प्रश्नहरू,
तिमी नहुँदा हजार हुने
तिमी हुँदा बिलाई जाने
अब प्रश्नको उत्तर तिमी बनिदिनु !
हठात् एकदिन हैन, सबै दिन बनिदिनु !