
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार हाल ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने ६ स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।
कोशी प्रदेशमा तीन स्थानमा सडक प्रभावित भएका छन् । भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको छ । इलाम नगरपालिका–१ राजदुवालीस्थित मेची राजमार्ग अविरल वर्षाका कारण पूर्ण रूपमा बन्द छ । यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरास्थित बराहक्षेत्र–भित्री सडकखण्डमा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
बागमती प्रदेशमा पाँच स्थानमा सडक अवरुद्ध वा प्रभावित भएका छन्। काभ्रेको खुर्कोट–नेपालथोक–काठमाडौँ–बनेपा सडकखण्ड र मकवानपुरको हेटौँडा–भिमफेदी–बागमती–ललितपुर सडकखण्डमा सवारी सञ्चालन रोकिएको छ। मकवानपुरको भिमफेदी–भैँसे–डाँडा सडक भने एकतर्फी सञ्चालनमा आएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका काभारी र गिरिजाकोट क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्गका दुई स्थान पूर्ण रूपमा बन्द छन्।
गण्डकी प्रदेशमा कास्कीको अन्नपूर्ण गाउँपालिका–८ सार्दीखोला क्षेत्रको नयापुल–घान्द्रुक सडकखण्ड र बागलुङको काठेखोला गाउँपालिका–६ निरयघाटस्थित मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेका छन्।
लुम्बिनी प्रदेशमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ डुड्डेखोलास्थित सालझण्डी–सन्धिखर्क सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। गुल्मीको कालीगण्डकी करिडोर अन्तर्गत राक्से र पुर्तीघाट क्षेत्रमा वर्षाका बीच एकतर्फी यातायात सञ्चालन भइरहेको छ भने रिडी–तम्घास सडकखण्डको बाङ्गुङ क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।
प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ। वर्षा निरन्तर भइरहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरिएको छ।



