
काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदमा पार्टी उपाध्यक्ष रामबहादुर थापाले राखी अभिव्यक्तिप्रति कटाक्ष गर्दै आफ्ना कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता पाण्डेले भदौ २३ र २४ को घटनाको छानबिन हुनुपर्छ तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु नहुने बताएका हुन् ।
उनले भनेका छन्- ‘आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगरौं। २३/२४ छानबिन हुनुपर्छ- तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु हुँदैन ।’
उनले हिजो संसदमा ‘षड्यन्त्रका लामा कथाहरू सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो, सबै दोष अरूलाई दिएको उल्लेख गर्दै यो वातावरण सिर्जना गर्न एमाले नेतृत्वको सरकारको अकर्मण्यता जिम्मेवार होइन र ? भन्दै प्रश्न गरेका छन् ।
उनले अब यो ‘घेराबन्दी’ मा पर्यौं भन्ने राष्ट्रवादी राजनीति निकै पुरानो भएको बताउदै अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार भएको बताएका छन् ।





