
काठमाडौं।तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टी छाडेर नेकपा (एमाले) प्रवेशको तयारीमा रहेकी नेतृ रामकुमारी झाँक्रीले माधवकुमार नेपालले गरेको कारबाहीप्रति असन्तुष्टि जनाएकी छन् ।
झाँक्रीले आज सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्-‘प्रिय कमरेड माधव अभिवादन, आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको र? लोकले के भन्ला भन्ने पनि लागेन र ? तपाईं सबै कालखण्ड गरेर १९ वर्ष पार्टीप्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने जिम्मेदारीमा बसेर काम गर्नुभयो । यो अन्तिम घटनाले तपाईंको इतिहासलाई फेरि बल्झायो । बिर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए ।’
उनले अन्त्यमा नेपालको आगामी यात्राको लागि शुभकामना दिएकी छन् । उनले अगाडि लेखेकी छन्- ‘तपाईं जहाँ रहे पनि हाम्रो अभिभावको हो । मैले यसरी सधैँ सम्झनेछु ।’




