काठमाडौं।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले जेनजी पुस्ताको आन्दोलनलाई दुरुपयोग गर्न पर्दा पछाडि प्रयासहरू भइरहेको भन्दै संविधान र संसदबाटै समस्याको समाधान निकाल्न सचेत गराएका छन्।
उनले सबैको अधिकार, आत्मसम्मान, आकांक्षा र आवाजलाई सम्बोधन गर्ने गरी अबको बाटो तय गर्नुपर्ने उल्लेख गरेका छन्।
जेनजीको आन्दोलन दुरुपयोग गर्न पर्दा पछाडिका प्रयास सफल भए देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्ने र देश नै नरहरने अवस्था आउनसक्ने चिन्ता पनि राउतले व्यक्त गरेका छन्।
उनले आफुले राजीनामा दिएपनि संसद जोगाउनुपर्नेमा जोड दिएका छन् ।
उनले अगाडि लेखेका छन्- ‘राज्यका महत्वपूर्ण सबै अंगहरू जलेर खरानी हुनु र अब देशकै सम्पूर्ण जनताले ८ वर्ष लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा जनताले एक–एक मत हालेर निर्वाचित गरेको जनप्रतिनिधिको थलो संसद् पनि भंग गरेर रिक्तता र अवैधता निम्त्याउनु देश नै नरहने वा देशमा कठपुतलीलाई उम्भाएर देश अरुकै हातमा जाने कुराको पृष्ठभूमि निर्माणको रूपमा लिएका छौं’।
आन्दोलनपछिको अवस्थामा हरेक निर्णय मेचीदेखि महाकाली, हिमाल पहाडदेखि तराई–मधेशसम्म, कर्णाली र सुदूरपश्चिमदेखि मधेश र लुम्बिनीसम्म, खसआर्यदेखि मधेशी, थारू, आदिवासी जनजाति, मुस्लिम, दलित, महिला, पिछडावर्ग सहित सीमान्तकृत वर्गसम्म सबैले अपनत्व लिने गरी हुनुपर्ने उनले बताएका छन्।