
काठमाडौं /परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँचदिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताएकी छन् ।
जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्त्वपूर्ण व्यक्तिच्वसँग भेटवार्ता भएको बताएकी छन् ।
भेटका क्रममा नेपाल–जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको बताउँदै ती भेटवार्ताहरू देशका लागि उपलब्धिमूलक रहेका जानकारी दिइन् ।
भ्रमणका क्रममा नेपाल–जापान सम्बन्धका विविध विषयहरूका साथै नेपालमा जापानको सहयोग र परियोजनाहरूका बारेमा कुराकानी भएको मन्त्री राणाले बताईन् ।
“सम्मेलनमा ज्येष्ठ नागरिकहरूका सम्बन्धमा अन्य देशले अपनाएका नीति, त्यहाँका अवस्था तथा व्यवस्थाहरूका बारेमा पनि जान्ने मौका मिल्यो,” उनले भनिन् ।
जापान इन्टरनेसनल को–अपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा.तानाका अकिहिकोसँग पनि भेटवार्ता गरेकी थिइन् । सो भेटमा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिक लगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत् जापान सरकारले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै जाइकाको सहयोगमा नेपालमा सञ्चालित र सम्पन्न परियोजनाहरूका बारेमा कुराकानी गरेकी थिइन् ।
यसअघि राणासँग जापानका उपविदेशमन्त्री इकुइना अकिकोले पनि शिष्टाचार भेटवार्ता गरेकी थिइन् । गत हप्ता नेपालमा आयोजित सगरमाथा संवादमा सहभागी भएकी उपविदेशमन्त्री अकिकोलाई मन्त्री डा.राणाले धन्यवाद दिइन् ।
भ्रमणकै क्रममा उनले टोकियोमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन पनि गरेकी थिइन् ।



