
काठमाडौं । आज राष्ट्रिय पत्रकारिता दिवस । आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ ।
सरकारले गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिदैं आइरहेको छ।
सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो ।
यस पटक ‘विश्वसनीय सूचनाको आधार : जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाइँदैछ ।
पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिनेछ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रलायको आयोजनामा आज दिउँसो १ बजे राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना हुँदैछ । त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम छ ।
मन्त्रालयका अनुसार सो समारोहमा नेपालको पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने दुुई जनालाई वरिष्ठ पत्रकार सम्मान प्रदान गरिने छ । पुरस्कारको राशि रु दुई लाख र कदरपत्र रहेको छ ।
यस्तै एक लाख र कदरपत्रसहित छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । पत्रकारिता दिवसका अवसरमा सरकारले निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताका माध्यमबाट राष्ट्रिय हितको प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्याएका पत्रकार र आमसञ्चारसम्बन्धी संस्थालाई सम्मान गरिने भएको हो ।
पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्याएका पत्रकारलाई प्रोत्साहन र सम्मान स्वरुप हरेक वर्ष प्रदान गरिने राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मानबाट यसवर्ष सम्मानित व्यक्तिहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट पुरस्कार एवं सम्मान प्रदान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
गोरखापत्र संस्थानले ‘गोरखापत्र’ प्रकाशनको १२५औं वर्ष प्रवेश तथा संस्थानको ६३औं वार्षिकोत्सवका उपलक्ष्यमा राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा कार्यक्रमको आयोजना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
पुस्तकालयमा गोरखापत्र पढिरहेको आफ्नो तस्बिर ‘फेसबुक’मा ‘पोष्ट’ गर्दै प्रधानमन्त्री ओलीले “आज गोरखापत्र स्थापना दिवस । विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र स्थापना भएको थियो । आजको दिनलाई हामीले राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने गरेका छौँ । सम्पूर्ण पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैलाई हार्दिक शुभकामना”, लेखेका छन् ।






