काठमाडौं ।नेपाल बार एशोसिएशनको केन्द्रीय कार्यसमितिको लागि आज मतदान हुँदैछ ।
नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।
बारको आज बिहान ८ बजेदेखि सुरु हुने कार्यसमिति निर्वाचनमा वरिष्ठ अविधक्ताद्वय प्राडा मिश्र र श्रेष्ठ फरक–फरक प्यालन नै बनाएर चुनावमा प्रतिस्पर्धा गर्दै छन् ।
मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतदाता नौ हजार ९५७ रहेका छन् ।
बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ ।
मतदान केन्द्र काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेको छ । काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालतको परिसरमा रहेको छ । यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन् । आज बिहान ८ बजेदेखि मतदान सुरु भएर ४ बजे सम्पन्न हुनेछ ।
निर्वाचनमा वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले उम्मेदवारी दिएका छन् भने भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेले उम्मेदवारी दिएका छन्।
अध्यक्ष पदमा अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आषिश पौडेलको उम्मेदवारी पनि परेको छ ।
प्रा.डा.मिश्र समूहले कानुन व्यवसायीको दक्षता अभिवृद्धि गर्दै भ्रष्टाचारमुक्त न्यायालय बनाउन आफुहरुको उम्मेदवारी रहेको दावी गरेको छ । न्यायको उपभोक्तालाई सहज र सहज न्याय दिलाउनु आफुहरुको एजेण्डा रहेको बताएको छ । साथै यो समुहले आफ्नो प्रतिबद्धतापत्रमा बलियो बार, बलियो र सशक्त दबाबद्वारा प्रभावकारी भूमिका निर्वाह गर्न, संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायापालिका, मानव अधिकार र पेसागत हकहितको संरक्षण गर्न, नबोदित युवा र महिला कानुन व्यवसायीका लागि विशेष नीति, योजना र कार्यक्रम सञ्चालन गर्ने विषयलाई महत्व दिएको छ ।
उता श्रेष्ठको समूहले न्यायालयको छविलाई उच्च बनाउन स्वतन्त्र, सक्षम, जवाफदेहीता न्यायापालिका र भ्रष्टाचारमुक्त न्यायालय, कानुन व्यवसायीलाई सूचना प्रविधिमा दक्ष बनाउने,कानुन व्यवसायीको व्यावसायिक हकहित, इज्जत प्रतिष्ठा र व्यावसायिक सुरक्षा गर्ने, जस्ता विषयहरु उठाएर चुनावी प्रतिष्पर्धामा उत्रेको छ ।