
काठमाडौं । सात राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक मार्चाको घोषणा गरेका छन् ।विहीबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गरि जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र राष्ट्रिय मुक्ति पार्टी गरेर सात पार्टी मिलेर संघीय लोकतान्त्रिक मार्चाको घोषणा गरेका हुन् ।
मोर्चाको उद्देश्य सामन्ती, केन्द्रिकृत एकल जातीय÷नश्लीय निरङ्कुश एकात्मक शासन प्रणालीले सृजना गरेका जात÷जाती, लिङ्ग, वर्ण र वर्ग अर्थात वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, सामाजिक, साँस्कृतिक, लैङ्गिक विभेदलगायत सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी राजनीतिक स्वतन्त्रता, आर्थिक समानता, सुशासन, सामाजिक न्याय सुनिश्चित गर्न जातीय अथवा सामाजिक समुदायहरुको जनसङ्ख्याका आधारमा समानुपातिक समावेशी र सहभागितामूलक विभेदरहीत समतामूलक समाजको निर्माण गर्ने रहेको छ ।
यस्तै, मधेशी, आदिवासी जनजाति, थारु, दलित, मुस्लिम, महिला, पिछडावर्ग, अल्पसङ्ख्यकलगायत असमानता, शोषण, उपेक्षा र बहीष्करण तथा विभेदमा परेका÷पारिएका, विपन्न वर्ग लगायतका समुदायहरुको पहिचानको मान्यता समानुपातिक समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने उद्देश्य पनि रहेको छ ।
संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध राजनीतिक दल÷पार्टी÷संगठनले पालना गर्नु पर्ने आचारसंहिता निम्नबमोजिम रहेका छन् ।
१. मोर्चाको बैठक आलोपालो सबै घटक दलको कार्यालय वा संसदीय दल वा दलहरुको सुविधा हुने
ठाँउमा राखिने छ ।
२. मोर्चाको बैठक आयोजना गर्ने दलले नै उक्त दिनको बैठकको अध्यक्षता र मिडिया संयोजन तथा मिडिया बृफिङ गर्नेछ ।
३. मोर्चामा सहमति वा निर्णय गरिएका एजेन्डा र कार्यक्रम सबै घटक दलले पालना गर्नेछ । ४. मोर्चाका निर्णयहरु सहमतिका आधारमा गरिनेछ । यसरी सहमतिका आधारमा गरिएका निर्णयहरु नै मोर्चाका आधिकारीक निर्णय र धारणा हुनेछ ।
५. मोर्चासँग विचार मिल्ने दललाई मोर्चाको निर्णय अनुसार मोर्चामा सहभागी गराउन वा त्यस्तो दलसंग सहकार्य गर्न अथवा आमन्त्रित दलको रुपमा सहभागी गराउन सकिनेछ ।
६. मोर्चाका आवद्ध दलहरुले सार्वजनिक रुपमा एक अर्काको आलोचना, घोचपेच नगरी अभिव्यक्ति प्रस्तुत गर्नेछ। तर वैचारिक एवं सैद्धान्तिक सवालमा आ–आफ्नो विचार सार्वजनिक गर्न बाधा पर्ने छैन ।
७. आवश्यक कार्यविधि निर्माण गरी मोर्चाका आवद्ध दलहरुबीच विभिन्न क्षेत्र, तहहरुमा सहकार्य गर्न सक्नेछ ।
८. मोर्चाको मुल समितिमा प्रत्येक घटक दलबाट अध्यक्ष सहित बढीमा ३ जनासम्म सदस्य राख्न सकिनेछ ।
९. मोर्चाको नियमित बैठक संचालन र व्यवस्थापनको निम्ति प्रत्येक घटक दलबाट एकरएक जना सदस्य रहने गरी सचिवालय गठन गरिनेछ । सचिवालयले एजेन्डा, योजना र कार्यक्रमको खाका तयार गरि मुल समितिमा पेश गर्नेछ । यसका अतिरिक्त तोकिएका कार्यहरु गर्नेछ।
१०. मोर्चाले आवश्यकता अनुसार विभिन्न उपसमिति÷कार्यदलहरु गठन गरी कार्य गर्न सक्नेछ। ११. मोर्चाका घटकदलहरु मध्ये अधिकांश दललाई कुनै पनि विषयमा तत्काल छलफल गर्न आवश्यक लागेमा बैठक डाक्न सक्नेछ । बैठकको छुट्टै माइन्युट हुनेछ र त्यसको व्यवस्थापन सचिवालयले गर्नेछ ।
१२. बैठकमा सहभागीहरुले मर्यादित रूपमा सद्भावपुर्ण वातावरणमा आ–आफ्नो पार्टीको तर्फबाट धारणा राख्नेछन् ।
१३. मोर्चामा आवद्ध दलहरू मोर्चाको उद्देश्य विपरित नहुने गरि अन्य मोर्चामा आवद्ध हुन वा अन्य दलहरुसँग एकीकरण गर्न वाधा हुने छैन ।
१४. मोर्चा संचालन गर्न कार्यविधि निर्माण गरी कार्यान्वयन गरिनेछ ।
१५. मोर्चामा आवद्ध राजनीतिक पार्टी ÷ दल ÷ संगठनहरु मोर्चामा समान हैसियतमा रही कार्य गर्नेछन् ।






