
पनौती । काभ्रे । नेकपा एमालेको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।
उक्त अधिवेशनले सुरेश हुमागाईलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । यसैगरी उपाध्यक्षमा सन्तोष के.सी, सचिवमा शिवराम आचार्य, उपसचिवमा शिव नारायण घुलु र महिला उपसचिवमा उमा थापालाई निर्वाचित गरेको हो ।
पदाधिकारी बाहेक अरु सवै पदहरुमा सर्वसम्मत भएको हो ।यसैगरी लेखा समिति अध्यक्षमा विनोद घिमिरे,सचिव विनायक न्यौपाने लगायत निर्विरोध भए ।

अधिवेशनको उद्घाटन नेकपा एमाले पोलिटव्यूरो सदस्य माननीय गोकुल बास्कोटाले गरेका थिए।
आफ्नो मन्तव्यको क्रममा उनले आन्दोलनको इतिहास बोकेको ऐतिहासिक नगरी पनौतीले आफ्नो विरासत कायम राख्नुपर्नेमा जोड दिए । नेता र कार्यकर्ता जनतासम्म जाँदा मिलेर जानुपर्छ भन्दै उनले संसदीय मोर्चाहरुमा पार्टीका उम्मेदवारहरुको पक्षमा लहर सिर्जना गर्न निर्देशन दिए ।
“तपाईहरुको सपना पुरा गर्न म जनप्रतिनिधिको नाताले गोरु बन्न तयार छु । एमाले रंग फेर्ने पार्टी होइन् ।एमाले त जनताको जीवनसँग गाँसिएको पार्टी हो । सिद्धान्त रटाइ मात्र होइन परिणाम दिनुपर्छ । “उनले भने ।
समृद्ध काभ्रे निर्माणको प्रभावकारी योजना एमाले बाहेक कुनै पार्टीसँग नरहेको बताए ।

नगर अध्यक्ष सुरेश हुमागाईको अध्यक्षतामा भएको उद्घाटन सत्र कार्यक्रममा केन्द्रिय सदस्य रेशम लामा र नविना लामा,केन्द्रिय सल्लाहकार सदस्य माननीय रामहरी सुवेदी,बागमती प्रदेश कमिटी सदस्य रमेश पौडेल,पार्टी काभ्रे जिल्ला कमिटी अध्यक्ष राजन भूर्तेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । उद्घाटन सत्र सचिव सन्तोष केसीको सञ्चालनमा उपसचिव रामचन्द्र सापकोटाले स्वागत मन्तव्य व्यक्त गरे ।

बन्द सत्रमा पदाधिकारीमा सर्वसम्मतको प्रयास भएपनि सफल नभएपछि पदाधिकारीमा राती अबेर निर्वाचन भएको थियो ।
अधिवेशनको उद्घाटन सत्रमा केन्द्रिय सदस्य रेशम लामा, नविना लामा, जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, संविधान सभा सदस्य एवं सल्लाहकार परिष्द् सदस्य रामहरी सुवेदी, वागमति प्रदेश सदस्य एवं एमाले काभ्रेका निवर्तमान अध्यक्ष अशोक ब्याञ्जु, प्रदेश कमिटी सदस्य रिता ढकाल, एमाले नेता भीम न्यौपाने लगायतका नेताहरु सहभागी थिए ।






