
काठमाडौं । सरकारले बीमा नियमावली, २०८१ स्वीकृत गरेको छ ।
माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले बीमा नियमावली, २०८१ स्वीकृत गरेको हो ।
त्यस्तै सरकारले एसियाली विकास बैंकको एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फण्डबाट २०२४ फ्लड्स एण्ड ल्ण्डा्सलाइड्स इमर्जेन्सी रेस्पोन्स प्रोजेक्टका लागि प्राप्त हुने बीस लाख अमेरिकी डलर (करिब ने.रु.२७ करोड ७३ लाख )मात्र अनुदान सहायता स्वीकार गरेको छ ।
यसैगरी सरकारले ६७० मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि आयोजनाको वित्तीय व्यवस्थासम्बन्धी पूर्वतयारी अगाडि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, २०८१ माघ २९ गतेदेखि फागुन २ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने थर्ड एनुअल इनर्जी विक विषयक कार्यक्रममा माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई सहभागी हुन स्वीकृति दिने, सजाय माफी मुलतवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
यसैगरी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र ओमान सरकारका डिप्लोमेटिक एकेडेमीबिच हस्ताक्षर हुने कूटनीतिक अध्ययन र तालिममा सहकार्यसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने मन्त्रिपरिषदले निर्णय गरेको पनि उनले जानकारी दिए ।




