काठमाडौं । इजरायलसँग युद्धविराम सम्झौता भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई मुक्त गर्दै गएको छ ।
सम्झौताको पहिलो चरणमा मुक्त गरिने भनिएका ३३ बन्दीको सूचीमा नेपाली युवा विपिन जोशीको नाम छैन । तर, उनलाई मुक्त गर्न सबै पक्षले पहल गरिरहेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गरेका छन् ।
सोमबार शिष्टाचार भेटका लागि आएका नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससँग उनले जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् ।
दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए ।
मल्लका अनुसार सिंहदरबारमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।