
धूलिखेल,काभ्रे । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) काभ्रेको भेला, जिल्ला सम्मेलन तथा पाँचौ जिल्ला अधिबेशन नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाको विशेष आतिथ्यता र एलाईन्सका केन्द्रीय महासचिव विदुर सुवेदीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको छ ।

जिल्लामा सक्रिय संस्थाहरु मध्ये ५१ वटा संस्था एलाईन्समा आवद्ध रहेको बताइएको उक्त एलाइन्सको अधिवेशनको उद्घाटन सत्रमा एलाईन्सका इन्चार्ज तथा केन्द्रीय सदस्य विष्णु रिजाल, नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, प्रदेश कमिटी सदस्य तथा इन्चार्ज रिता ढकाल, एलाईन्सका केन्द्रीय, बागमती, तथा जिल्ला स्तरीय नेताहरु, एमाले काभ्रेका पदाधिकारीहरु, मोर्चा विभाग इन्चार्ज प्रकाश रोक्का, एलाईन्स इन्चार्ज मिरा पौडेल सहितको आतिथ्यतामा अधिवेशन सम्पन्न भएको छ ।

पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले मुलुक निर्माणमा अभियान्ताहरुको महत्वपूर्ण योगदान रहेकाले आगामी यात्राका लागि नागरिकहरुलाई सचेतना र राज्यलाई खवरदारी गर्ने अभियानमा सक्रिय रहन अनुरोध गरे ।
प्रमुख अतिथी विदुर सुवेदीले मुलुकभर रहेका सामाजिक संस्था तथा संस्थामा आवद्ध अभियान्ताहरुले सरकारको सहयोगीका रुपमा कार्य गरिरहेको र मुलुक निर्माणमा सहयोग पु¥याईरहेको बताए ।
कार्यक्रममा एलाईन्स इन्चार्ज एवं केन्द्रीय सदस्य विष्णु रिजालले देशभर एलाईन्सले गरिरहेका गतिविधिहरुका बारेमा जानकारी गराउँदै सरकारले ल्याएको अध्यादेशका बारेमा नागरिकहरुलाई सुसुचित गराउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने बताए । कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले एलाईन्स राज्यका निकायहरुको खवरदारी तथा नागरिकहरुको अधिकारका लागि स्थापित हुनु पर्ने बताएका थिए ।

बन्द सत्रले निर्विरोध रुपमा अध्यक्ष शिवप्रसाद तिमल्सिनाको नेतृत्वमा उपाध्यक्ष रिता मानन्धर,सचिब अच्यूत अधिकारी,कोषाध्यक्ष गंगा बडाल लगायत चयन गरेको छ ।




