काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले तीन वटा निर्णय गरेको छ।
सोमबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचन र पार्टीको आगामी कार्यक्रमसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।
बैठकको निर्णय सुनाउँदै उपाध्यक्षसमेत रहेका अग्निप्रसाद सापकोटाले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रदेशले टुंग्याएको उम्मेदवारहरूलाई अनुमोदन गर्ने निर्णय भएको बताए।
आगामी निर्वाचनमा सफलता हासिल गर्न योजना र कार्यक्रमहरू बनाइएको पनि बताए। बैठकले मंसिर मसान्तसम्म सबै पालिकाको सम्मेलन गर्ने निर्णय पनि गरेको छ।
बैठकले पुस २ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय पनि गरेको छ। समसामयिक विषयमा पनि छलफल र निर्णय भएको उनले बताएका छन् ।