
काठमाडौं ।आइची नागोया जापानमा हुने २०औँ एसियाली खेलकुदको खुशीयाली मनाउन र खेलको प्रवर्धनका लागि ललितपुरमा ‘एसियन गेम्स फन रन’ हुने भएको छ । फन रन फागुन ३० गते शनिबार बिहान ७ः३० बजे सुरु हुनेछ ।
शुक्रबार नेपाल ओलम्पिक कमिटी (एनओसी)ले पत्रकार सम्मलेन आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
एसियाली खेलकुद आयोजना गर्ने जिम्मेवारी यसपाली जापानको आइची नागोया शहरले पाएको छ । प्रत्येक चार वर्षमा हुने एसियाड यसपालि आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा हुँदैछ।
फन रनको निम्ति एनओसीका सचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय आयोजक कमिटी गठन गरिएको छ ।
एनओसी भवनको प्राङगणमा एक कार्यक्रम बिच सुरु हुने फन रन बि एन बी हस्पिटल गेट, ग्वार्को चोक, प्रभात स्कुल, लुसुसि, कनिबहा चोक, ओकुबहा, थैना, चक्रबहि, हौग हुँदै पाटन दरबार स्क्वायर कात्तिक डबली मङगलबजारमा पुगेर समापन हुनेछ । करीब तीन किलोमिटरको यस फन रन रुटमा सहभागीहरुले पाटनका सम्पदा क्षेत्रको अवलोकन गर्ने अवसर पनि मिल्ने छ ।
एसियाको सर्वाधिक ठूलो खेल मेला एसियाली खेलकुदको प्रचारप्रसार गर्ने र एसियाली खेलकुदको खेल भावना, एकता र सहभागिताका मूल्यमान्यता लाई स्थापित गर्न प्रतियोगतामा सहभागी हुने प्राय राष्ट्रले फन रन गर्ने परम्परा रही आएको कुरा नेपाल ओलम्पिक कमिटीअध्यक्ष जीवनराम श्रेष्ठले बताउनु भयो।
२० औँ एसियाली खेलकुदमा कूल ४३ खेलअन्तर्गत ६८ विधाका ४६१ इभेन्ट्समा पदकका लागि प्रतिस्पर्धा हुनेछ । कूल ५३ प्रतियोगिता स्थल एसियाली खेलकुदमा सहभागिताका लागि एनओसीमार्फत् ३२ खेल दर्ता भइसकेको र आगामी एसियाडमा प्याडल र टेकबल गरी दुई खेल थप गरिएको पनि जानकारी दिनुभयो।नेपालमा तेस्रोपटक फन रन हुन लागेको हो ।



