
२०८१ श्रावण २१ गते काठमाडौं ।बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि अब अन्तरिम सरकार बन्ने भएको छ । देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि साथमा थिइन् । हसिना हेलिकप्टरमा भारतीय सहर अगरतला पुगेकी छन् ।
प्रधानमन्त्री हसिनाले देश छोडेपछि सेना प्रमुख जनरल वकार–उज–जमानले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै बंगलादेशमा अन्तरिम सरकार बन्ने बताएका छन् । अहिले नयाँ सरकार गठन गर्न छलफल भइरहेको मिडिया रिपोर्टमा बताइएको छ ।
सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्ध विद्यार्थीहरुले आन्दोलन थालेका थिए । आन्दोलन चर्किएपछि अदालतले कोटा प्रणालीमा ठूलो सुधार गर्ने आदेश दियो ।
तर आन्दोलन रोकिएन । पछिल्लो दिन प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आन्दोलन चर्किएको थियो । हिंसात्मक आन्दोलनका क्रममा आइतबार मात्र ९१ जनाको मृत्यु भएको थियो ।
विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौं मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्याली गरिरहेका छन् ।
गत महिनादेखि जारी रहेको सरकार विरोधी प्रदर्शनकारी र सुरक्षा बलबीचको झडपमा झण्डै ३०० जनाको मृत्यु भएको छ । आइतबार मात्र कम्तीमा ९० जनाको मृत्यु भएको छ ।




