
भक्तपुर । भक्तपुर र काभ्रे जिल्लाको सिमाना भएर कभेरी र नर्मदा खोला बग्छन् । आशापुरेश्वर यिनै दुई खोलाको दोभानमा अबस्थित छ ।मन्दिर अत्यन्तै प्राचिन मानिन्छ । परापूर्वकालदेखि नै यहाँ योग र साधना गर्दै आएको मानिन्छ ।
काठमाडौं उपत्यकाबाट २३ किमी पूर्वी भागमा पर्ने आशापुरेश्वरमा माघेसंक्राति लगायतमा ठूलो मेला लाग्छ । यसैगरी साउनभर श्रद्धालु भक्तजनहरु देशका कुनाकुनाबाट दर्शनको निम्ति आउँछन् । चाहेको आशा पुरा हुने भनिएकोले यहाँ भक्तजनहरुको भीड लाग्छ ।

आज साउन महिनाको दोस्रो सोमबार भक्तजनहरुको ताँती नै लागेको देख्न सकिन्छ ।कार्तिक पूर्णिमा,शिवरात्री जस्ता पर्वहरुमा समेत यहाँ भक्तजनहरुको बाक्लै आवागमन हुन्छ । परापूर्वकालमा सुवर्ण नाम गरेको ऋषिले हिमालय पर्वतमा गएर १० हजार बर्षसम्म तपस्या गरेकोले महादेव प्रसन्न भई के चाहान्छस भनि सोधनी हुँदा पापबाट मुक्ति पाउँ भनि सुवर्ण ऋषिले भनेपछि महादेवले उनलाई एउटा नासपातीको लौरो दिएको र भनि इच्छा व्यक्त गरेपछि प्रसन्न हुँदै महादेवले एउटा नासपातीको लौरो दिएर “यो लौरो गाड्दै जांदा जुन ठाउँमा गएर यो लौरोमा मुना पलाउँछ त्यहाँबाट तिम्रो पाप मुक्त हुनेछ भनेकोमा विभिन्न ठाउँ घुम्दै तिर्थाटन गर्दै आउँदा यहिँ आएर उक्त लौरो कपडा सिउरेर गाडेकोमा उक्त लौरोमा मुना पलाएको देखेपछि त्यस पापबाट मुक्त भएको र त्यहाँ खनि हेर्दा शिवलिँग देखिएको जनश्रुति रही आएको छ ।

आशापुरेश्वर संरक्षण समितिका सचिव लोकनाथ सापकोटाले भने-” दर्शनार्थीहरु आफ्नो आशा र अभिलाषा पुरा हुने आशमा देशका कुनाकाप्चादेखि आउँछन् । अहिले बाटो चारैतर्फ भएकोले आउजाउमा कुनै समस्या पनि छैन् । तर मौसम आज अलिक पानी परिरहेकोले दर्शनार्थीहरुलाई अलिक समस्या भने परेको छ । तर आस्था भएकाहरु झरी वर्षा केही नभनि आउनु नै हुन्छ।”
सचिव सापकोटाले दर्शनार्थीहरुलाई कुनै कठिनाइ नहोस भनेर समितिका साथीहरु अहोरात्र परिचालित भएको पनि बताए । दर्शनार्थीहरुलाई सहज ढंगले दर्शन गर्न व्यवस्थापन चुस्त र दुरुस्त पारिएको पनि उनले जानकारी दिए ।यहाँ दर्शन गर्न यातायात र सडक सञ्जाल जोडिएको जानकारी पनि दिए ।
सूर्यविनायक हुँदै डोलेश्वर,पाटीभञ्ज्याँङ,पाइलट बाबा घ्याम्पेडाँडा हुँदै पाटीभञ्ज्याङ,साँगादेखि आउँदा काक्रबारी हुँदै पनि आउन सडक जोडिएको उनले बताए । यसैगरी पनौती,कुशादेवी हुँदै घ्याल्कुबाट पनि यहाँ आउने बाटो रहेको सापकोटाले जानकारी दिए ।आज सोमबार आशापुरेश्वर महादेवको दर्शनार्थ भक्तजनहरुको घुँइचो लागेको छ ।





