ललितपुर। ललितपुर टेबलटेनिस क्लबको आयोजनामा हुने सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उद्घाटन भोलि सोमबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने कार्यक्रम रहेको छ ।
यस प्रतियोगितामा भारतबाट ८५ पुरुष र ४८ महिलासहित नेपालका खेलाडी गरी कुल ४ सय २ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक निकेश जोशीले जानकारी गराए ।
प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, (मेन्स भेट्रान सिंगल्स )४० वर्षमाथि, (वुमेन्स भेट्रान सिंगल्स )४० वर्षमाथि, मेन्स भेट्रान्स सिंगल्स (५५ वर्षमाथि), यु–१६ ब्वाइज र यु–१६ गल्र्स सिंगल्स गरी कुल ९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
मेन्स÷वुमेन्स टिम स्पर्धामा शीर्ष तीन स्थानका टोलीले क्रमशः ५० हजार, २५ हजार र समान १०÷१० हजार रूपैयाँ प्राप्त गर्नेछन् । मेन्स÷वुमेन्स सिंगल्स स्पर्धामा शीर्ष तीन स्थानमा रहने खेलाडीले ५० हजार, २५ हजार र समान १०÷१० हजार रूपैयाँ पाउने छन् । यु–१६ सिंगल्सतर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः २० हजार, १० हजार र समान ५÷५ हजार तथा भेट्रान्सतर्फ पहिलो, दोस्रो र तेस्रो हुने दुई खेलाडीले क्रमशः १० हजार, ५ हजार र समान ३÷३ हजार नगद पुरस्कार प्रदान गरिने छ ।प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख २३ हजार रूपैयाँ रहेको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि रहेको छ । त्यस्तै इक्विपमेन्ट पार्टनरमा हीरा ट्रेड कनसर्न, क्लोथिङ पार्टनर भ्याली स्पोट्र्स हाउस, इन्टरनेट पार्टनरमा ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन रहेका छन् ।