
भद्रपुर । भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको भद्रपुरले दोस्रो हाफमा दुई गोल गर्यो ।
खेलको ७२ औँ मिनेटमा मिलन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । आशिष चापागाईंले पेनाल्टी एरिया नजिकैबाट दिएको पासमा राईले गोल गरे । खेलको ७४ औँ मिनेटमा भद्रपुरले पेनाल्टीमा एक गोल थप्दै खेल २–० को अग्रता बनायो ।
भद्रपुरका आशिष चापागाईंलाई पुलिसका मानबहादुर परियारले पेनाल्टी एरियामा फाउल गरेपछि मिलन राईले अवसरको सदुपयोग गरे । दोस्रो हाफको अतिरिक्त समयमा पुलिसले एक गोल फर्कायो । भद्रपुरका किपर जियारत शेख चुकेपछि प्रशान्त कुँवरले गोल गरे ।
भद्रपुरले खेलमा केही अवसरहरू गुमायो । खेलको ४० औँ मिनेटमा पेनाल्टी एरियाबाट मिलन राईले प्रहार गरेको बल फर्स्ट बारमा लागेर फर्कियो । खेलको ४५ औँ पुलिसका गोलकिपर अमित टमाटा बिट भएपछि मिलन राईको प्रहार गोललाइनमा पुलिसका हेमन्त श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।
खेलको अतिरिक्त समयमा विदेशी खेलाडी फोडे फोफोनाले पेनाल्टी एरियाबाट प्रहार गरेको बल पुलिसका किपर टमाटाले रोके । खेलको ५४ औँ मिनेटमा पुलिसका अनुप लिम्बूको हेडर भद्रपुरका किपर शेखले पञ्च गरे । कृष्ण गुरूङको क्रस पासमा पेनाल्टी एरियाबाट लिम्बूले हेड गरेका थिए ।




