काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)माथि प्रतिबन्ध लगाएका छन्।
इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको अमेरिका भ्रमणछि ट्रम्पले नेदरल्याण्ड्सको हेगमा रहेको आइसिसीमाथि प्रतिबन्ध लगाइएको कार्यकारी आदेशमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आइसिसीले यसअघि गजामा हजारौं प्यालेस्टिनीको हत्या गरी युद्ध अपराध गरेको अभियोगमा इसराइली प्रधानमन्त्री नेतन्याहू र उनका रक्षामन्त्री योआव गलान्ट तथा हमासका नेताविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
ट्रम्पले आइसिसी अमेरिका र यसको प्रमुख सहयोगी राष्ट्र इजराइलविरूद्ध लागेको दाबी गर्दै प्रतिबन्ध लगाएका हुन्। कार्यकारी आदेशमा उनले विनाआधार नेतन्याहू र गलान्टविरूद्ध पक्राउ पुर्जी जारी गरेर आइसिसीले शक्तिको दुरूपयोग गरेको उल्लेख गरेका छन्।
अमेरिका र इजरायल दुवै आइसिसीका सदस्य राष्ट्र होइनन् ।
ट्रम्पको कार्यकारी आदेशमा आइसिसीका अधिकारीहरूलाई अमेरिकामा सम्पत्ति किन्न र उनीहरूका परिवारका सदस्यलाई समेत अमेरिका प्रवेशमा निषेध गर्ने भनिएको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।





