काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने भएको छ।
क्यानले सामाजिक सञ्जालमार्फत शनिबार मोन्टी देसाईले नेपाली क्रिकेटमा पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ।
क्यानका प्रवक्ता छुम्बी लामाले मुख्य प्रशिक्षक मोन्टीसँगको सम्झौताको दुई वर्ष समाप्त भएको र क्यानले उनीसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको जानकारी दिए।
‘मुख्य प्रशिक्षकका रूपमा क्यानले उहाँसँग गरेको सम्झौताको समायवधि सकिएको छ। क्यानले उहाँलाई अहिलेसम्मको योगदानका लागि धन्यवाद दिने र सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ’ लामाले बताएका छन् ।
लामाले नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया यथाशीघ्र थाल्ने पनि जानकारी दिए।
तत्काल नेपाली राष्ट्रिय पुरूष टिमले कुनै खेलमा सहभागी हुने तय नभएकाले पनि नयाँ प्रशिक्षक नियुक्ती प्रक्रिया अगाडि बढाउन समय रहेको उनले बताए।
देसाईकै प्रशिक्षणमा नेपालले लिगका पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दै विश्वकप ग्लोबलमा छनोट भएको थियो भने मात्र एक दिवसीय मान्यता पनि जोगाएको थियो । देसाईको पालामा नेपालले क्रिकेटमा पाएको सबैभन्दा ठूलो उपलब्धि टी २० विश्वकपमा छनोट र एसिया कपमा छनोट हो ।