९ पुस काठमाडौं| स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सेना र प्रहरीका अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अतिरिक्त सचिव डा टंक बराकोटी नेतृत्वको कार्यदल गठन गरेको छ।
कार्यदललाई आमनागरिकलाई सेवा दिनका लागि आवश्यक कार्यविधि तयार पार्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन तयार गर्न भनिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कार्यदललाई सशस्त्र प्रहरीद्वारा सञ्चालित अस्पतालका हकमा अध्ययन गर्न निर्देशन दिएका मन्त्रालयले जनाएको छ। कार्यदलले विज्ञ तथा सरोकार भएका निकायसँग छलफल गरेर कार्यविधि तयार पार्ने छ।
कार्यदलमा गृह तथा रक्षा मन्त्रालयका प्रतिनिधिका अलावा सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधिसँगै मन्त्रालयका अधिकारी सदस्य छन्। आमनागरिकलाई सरकारी स्वामित्वका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालको सेवा उपलब्ध गराउनका लागि प्रक्रिया अघि बढाएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए।