
ईखबरनेट संवाददाता काठमाडौं, पुस ४ | धेरैका लागि उनी पीएल दाई थिए । धेरै हदसम्म उनी आफूलाई यसरी नै सम्बोधन गर्दा खुसी मान्थे । खुबै हँसिलो अनुहार थियो, उनको । कुरा गर्दै पिच्छे हाँसिरहनु पर्ने । फेरि ख्यालठ्ट्टा पनि उत्तिकै गर्नु पर्ने । सायद ती हाँसो र ख्यालठट्टा नहुँदो हो त पीएल सिंह रहने थिएनन् । यिनै पीएल दाईको यसै साता निधन भएको छ । असार १ को सबेरै विहान उनले अन्तिम पटक स्वास फेरे । अब हामीबीच उनी छैनन्, तर तय छ, पीएल दाई सधैं सम्झनामा रहने छन् ।
उनी ८८ वर्षका थिए । उनको पुरा नाम थियो, प्रेमलाल सिंह । आफ्नो छवि र व्यक्तित्व अनुसार उनी भन्थे, ‘म काठमाडौं महानगरको कुचीकार हुं ।’ उनले यस्तो भन्नुको पनि ठ्याक्कै अर्थ छ । उनी काठमाडौं महागनरलाई स्वच्छ र हराहरा बनाउन चाहन्थे । हुन् पनि काठमाडौं महानगरको पहिलो मेयर हुने क्रममा उनले हरियाली र सरसफाइमै बढी ध्यान दिए । उनी २०४९ मा काठमाडौंको मेयरका रूपमा निर्वाचित भएका थिए ।
अनि उनैले त हो, काठमाडौंलाई महानगर घोषणा गरेको पनि । पीएल सिंहलाई नजिकबाट चिन्नेहरू के भन्छन् भने काठमाडौंलाई महानगर घोषित गर्न उनले के के मात्र गरेनन्, खुबै संघर्ष गर्नु परेको थियो । अझ यसलाई राजनीतिक संघर्ष भने पनि हुन्छ, किनभने तात्कालीन राजनीतिक परिस्थितिसँग उनको धेरै अर्थमा विरोध र बेमेल पनि थियो । तर अन्त्यमा सफलता उनकै नाममा रह्यो । यसरी उनले काठमाडौं महानगरका पहिलो मेयर बन्ने श्रेय पनि पाए ।
एकपल्ट महानगर घोषणा गरिसकेपछि उनको महत्त्वकांक्षा पनि बढेको थियो र उनी चाहन्थे, काठमाडौं अन्तर्राष्ट्रियस्तरको सहर बनोस । पीएल सिंह मेयर हुँदा उनको निकै नजिकका एक थिए, भीमसेनदास प्रधान । उनको सम्झनामा पनि काठमाडौंको अन्य ठूला सहरसँग सम्बन्ध स्थापना गर्न पनि पीएलले उत्तिकै मिहिनेत गरे । एक प्रकारले मेयरका रूपमा उनको कार्यकाल रंगीन रह्यो, उनी लगातार चर्चामा रहे, केही न केही नयाँ नौलो काम गरिरहन्थे ।
उनलाई नेपाली राजनीतिक वृत्तमा गणेशमान सिंहका धर्मपुत्र मानिन्थ्यो । एक अर्थमा कांग्रेस नेता तथा २०४६ को जनआन्दोलनका कमान्डर सिंहकै कारण पीएल सिंह मेयर भए । सम्भवतः पीएल सिंहको राजनीतिक जीवनलाई गणेशमान सिंहसँग छुट्याएर हेर्न सकिन्न । यसै कारण उनी राजनीतिक द्वेषको पनि शिकार रहे । त्यसैले त उनले दोस्रो पल्ट मेयरको उम्मेदारीका लागि नेपाली कांग्रेसको टिकट समेत पाएनन् । राजनीतिक दृष्टिकोणले यो दुर्भाग्य र पूर्वाग्रह दुवै थियो ।
भयो के भन्दा पार्टीभित्र गिरिजाप्रसाद कोइरालासँग उनको गम्भीर मतभेद थियो । त्यो त्यही समय थियो, जसको पृष्ठभूमिमा गणेशमान सिंहकी पत्नी मंगलादेवी सिंह र छोरा प्रकाशमान सिंहले आमचुनावमा हार सामना गर्नु परेको थियो । पछि २०५६ को चुनावबाट उनी तात्कालीन प्रतिनिधि सभासम्म पनि पुगे र जनसंख्या तथा वातावरण मन्त्री समेत बने । प्रधानमन्त्री थिए, शेरबहादुर देउवा । तर यो अवधि १४ महिनाकै मात्र रह्यो ।
गिरिजाप्रसाद कोइरालासँगको राजनीतिक द्वन्द्वकै कारण उनी राजनीतिबाट टाढा पनि हुँदै गए र एक दिन यस्तो पनि आयो कि उनले पार्टी सदस्यताबाट समेत राजीनामा दिए । भनिन्छ, उनी २०४७ को संविधानका समर्थक थिए, २०६२र२०६३ को आन्दोलनप्रति उनी खासै धेरै सकारात्मक रहेनन् । पीएल सिंह कृष्णप्रसाद भट्टराईका नजिक पनि भने थिए । संयोगले उनी आफै आजीवन अविवाहित पनि रहे । उनका लागि गणेशमान सिंह पिता बराबर थिए, कृष्णप्रसाद भट्टराई भने प्रिय नेता ।
गणेशमान सिंह सुन्दरी जेलमा हुँदा पीएल सिंह सबैभन्दा पहिले उनको नजिक भएका थिए । उनको जन्म कामाडौंका नरदेवीमा भएको थियो । उनको बुबा चन्द्रलाल सिंह त्यो समयका प्रसिद्ध कम्पाउन्ड थिए । त्यो त्यही समय थियो, जति बेला पूरा काठमाडौंको उपचार गर्ने काम कम्पान्डरको हातमा हुन्थ्यो । पीएल सिंह नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर राजनीतिमा प्रवेश गरेका थिए । उनले २०४६ सालको आन्दोलन सफल पार्न उत्तिकै ठूलो भूमिका खेले ।
पीएल दाईलाई हार्द्धिक श्रद्धान्जली ।







